0 COMMENTS

साउन ६, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज इटाली जाने भएका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड आज इटालीतर्फ प्रस्थान गर्न लागेका हुन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल आज साँझ त्यसतर्फ प्रस्थान गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेशन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रम यही साउन ८ देखि १० गतेसम्म आयोजना हुँदैछ ।

प्रधानमन्त्री दाहाल यही साउन ८ गते सो कार्यक्रमको उद्घाटन शत्रमा सहभागी हुनेछन् । यस्तै, अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा उनले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही दिन प्रधानमन्त्री दाहाल विद्यालय भोजनको बारेमा आयोजना गरिने छलफल सत्रमा सहभागी हुनेछन् । यसैगरी साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासका सन्दर्भमा आयोजना हुने छलफलसमेतमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण दलमा उनकी स्वकीय सचिव एवं छोरी गङ्गा दाहाल, कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मीको सहभागिता रहने छ । भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।