0 COMMENTS

साउन १, काठमाडौँ । आज साउन १ गते । असार सकिएर साउन अथवा साउन महिना शुरु भएको छ । साउन महिनाको पहिलो दिन अर्थात आज साउने संक्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरु जमघट भई रमाइलो गरी मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिको रुपमा मनाउने परम्परा छ ।

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपालीहरु असार महिनाभर रोपाइँमा व्यस्त हुने भएकाले हिलो मैलोबाट लाग्ने छालासम्बन्धी रोग ठीक पार्न भन्दै साउने संक्रान्तिको दिन लुतो फाल्ने चलन पनि चलिआएको छ ।

परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ ।

साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिन्छ । साउन महिनाभर काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । त्यसैले साउन महिना एवं सोमबारको दिन शिवालयमा भक्तजनको विशेष भीड लाग्छ ।

आज कर्णाली प्रदेशमा साउने संक्रान्तिको अवसरमा सार्वजनिक बिदा दिइएको छ । आजको दिनलाई कर्णालीमा देउडा पर्वको रुपमा समेत मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।