0 COMMENTS

राज्यसत्ता र श्रम राज्यसत्ता भनेको एक वर्गले अर्काे वर्गमाथि शासन चलाउने दमनयन्त्र हो । सत्ता वर्गीय हुन्छ, उसले आफ्नो वर्गको रक्षा गर्दछ । आजसम्मको इतिहासमा सत्ता प्राप्त गर्ने लक्ष्य उद्देश्य बल प्रयोगद्वारा मात्र सम्भव बनेको छ । चाहे आदिम साम्यवादी युग, दासकालीन युग, सामान्तवादी युग वा अहिले चलिरहेको पुँजीवादी युग किन नहून्, यी सबै व्यवस्था आउनुमा बल प्रयोग अर्थात् मानिसद्वारा भीषण सङ्घर्ष गरेपछि मात्र यस्ता परिवर्तन सम्भव भएको हो । आज पनि यो क्रम जारी नै छ । पुरानो व्यवस्थाको अन्तर्यमा नयाँ चीजको भ्रूण पैदा भइरहेको हुन्छ । अहिलेको दलाल पुँजीवादी सत्ता पनि मरणशील छ । यसको अवसान निश्चित छ । कुनै बेला अग्रगामी तथा प्रगतिशील प्रणाली भनेर कहलिएका व्यवस्थाहरू क्रमशः भत्किँदो अवस्थामा छ । मानव समाजले परापूर्वकालदेखि नै विभिन्न प्रकारका शासन व्यवस्था झेल्दै आइरहेका छन् । अन्त्य पनि गरिरहेका छन् । राज्यसत्ताको चरित्रले निर्धारण गर्ने कुनै पनि विषयले मानव जीवनलाई असर पारिरहेको हुन्छ । कुनै बेला राजा, पुरोहित, पादरी र पोपहरूले राज्यको शासन सञ्चालन गरेका थिए ।

लेखक : विनोद थापा

अझै पनि कतिपय मुलुकहरूमा यो प्रणाली कायमै छन् । राज्यसत्ता सञ्चालन अङ्गहरू विविध प्रकारका हुन्छन् । संविधान, कानुन, ऐन, नियमहरू बनाई राज्य सञ्चालन गरेका हुन्छन् । राज्यको मेसनरीको रूपमा सेना, प्रहरी कर्मचारी परिचालन गरिन्छ । उनीहरूले बनाएका नियम, कानुनको परिधिभित्र रहेर बस्नुपर्ने बाध्यकारी अवस्था सिर्जना गरिएका हुन्छन् । विधिको शासनको व्याख्या गर्दै जनतामाथि बर्बरता लादिन्छ । यिनै शासन व्यवस्थाले खडा गरेका अन्तरविरोध बिचबाट आन्दोलन सङ्घर्षहरू उठान हुने गर्छन् । वर्ग समाजले पैदा गरेका यावत् समस्याहरू क्रान्तिले हल गर्दछ । आजसम्म जति पनि राज्य निर्माण भए, शासन प्रणाली फेरिए, ती सबै मानिसको विचार चेतना र साहसको उपज हो । कुनै पनि समय र गतिको प्रवाहलाई रोक्न सकिन्न भन्ने कुरा ठुल्ठूला परिवर्तनारी उथल–पुथलबाट प्रमाणित हुन्छ । राज्यत्ता भनेको एक वर्गमाथि अर्काे वर्गले दमन, उत्पीडन र शोषण गर्ने साधन हो । अझ अहिलेको पुँजीवादी शासन व्यवस्थामा विभिन्न प्रकारका शोषण, दमनका हर्कतहरू भइरहेको छन् । माओले भन्नुभएझैँ सत्ता बन्दुकको नालबाट जन्म हुन्छ । एउटा बन्दुकलाई निष्काम तुल्याउन अर्काे बन्दुकको आवश्यक पर्दछ । त्यो विचारबाट निर्देशित हुन आवश्यक छ ।

श्रम भनेको मानिसको पुँजी हो । श्रमशक्तिले आफ्नो सीप कला र दक्षतालाई शारीरिक, मानसिक, बौद्धिक ढङ्गबाट प्रयोग गरिहेका हुन्छन् । संसारमा जति पनि परिवर्तनहरू भएका त्यसमा श्रमको विशेष भूमिका रहेको छ । तर, त्यही श्रमलाई दोहन गरी पुँजीवादी प्रणाली टिकिरहेको छ । आज श्रम गर्ने श्रमिकहरू चौतर्फी मारमा परेका छन् । माक्र्सले भनेका छन्– पुँजीवाद टिक्नुमा श्रमिकहरूको अतिरिक्त मूल्य शोषण पनि एक हो; जुन कुरा आम मानिसलाई थाहा हुन्न, गुप्तरूपमा त्यो काम हुने गर्दछ । हामी त्यही व्यवस्था अँगालिरहेका छौँ, जसले बहुसङ्ख्यक श्रमिकको पसिनाको व्यापार गरिरहेका छन् । सुरुको चरणमा पुँजीवाद प्रगतिशील चरित्रको थियो । क्रमशः यसले आफ्नो भेष बदल्यो, शोषणको रूप धारण गर्यो । आज विश्वभरिका करिब ३.३२ बिलियन मानिसलाई कुनै कुनै तरिकाबाट शोषणमा परिरहेका छ । हाम्रो नेपालमा पनि सतासी लाख आठ सय पन्ध्रजना श्रमशक्ति दलाल पुँजीवादको फन्दामा परेको छ । अधिक मुनाफा र निजी सम्पत्ति आर्जन गर्न विश्वभरिका थोरै मान्छेहरू लागिपरेको छ । उनीहरूलाई संरक्षण राज्यबाट नै हुने गर्दछ । भोक, रोग र व्याधिको मूल स्रोत दलाल पुँजीवाद हो । पुँजीवादले संसारभरि करिब सात सय वर्ष राज गरिरहेको छ । यति मात्र हुने प्राकृतिक स्रोत–साधनको दोहनदेखि लिएर पर्यावरणलसम्म असर पुर्याइरहेको छ । मानिसको प्रकृतिप्रदत्त अधिकारभित्र रहेका घाम, पानी, हावालाई आफ्नो अधीनमा लिई विनिमय गरिरहेको छ । यो शताब्दी श्रम शोषणको मुख्य आधार राज्यसत्ता र पुँजीवादी प्रणाली नै मुख्य बनेको छ । विभिन्न ध्वंसात्मक युद्धदेखि लिएर व्यापार युद्ध, छद्म युद्ध सञ्चालन गरिरहेको छ । यसमा प्रत्यक्ष तथा परोक्ष साम्राज्यवादी देशहरू लागिपरेका छन् । जसको कारण स–सना देशहरूलाई असर पर्न गएको छ । आजको युग वैज्ञानिक युग हो । सूचना सञ्चारको अभूतपूर्व क्रान्ति सामाजिक संरचनामा व्यापक बदलाव आएको छ । कुनै बेला यो अवस्था थियो, आफ्नो मौलिक सांस्कृतिक पर्वहरूले स्थान लिने गरेको थियो तर अहिले मानिसहरू प्रविधिको दास बन्न विवश छन् तर समाज प्रविधिमैत्री हुन सकिरहेको छैन । श्रम कटौतीको मूल आधार प्रविधि बन्न पुगेको छ । आधुनिक उपकरणहरूले लाखौँ मानिसको श्रम कटौतीमा पारेको छ । सीमित मान्छेको पहुँचमा ठुल्ठूला यन्त्रहरू केन्द्रीकृत हुन पुगेको छ । आधारभूत जनताहरू दोहोरो उत्पीडनमा परेका छन् भने श्रमिकहरू बेरोजगार बनिरहेका छन् । आपूर्ति र आवश्यकताबिचको सन्तुलन बिग्रेको छ ।

नेपालको सन्दर्भमा भन्नुपर्दा तथ्यगत विषय राख्न उपयुक्त हुन्छ । नेपालको राज्यसत्ताको बनौट शासकवर्गको चेतना, उत्पादन सम्बन्ध, उत्पादन शक्ति, उत्पादनको साधन र जनताको मनोविज्ञान यी पाँच चीजलाई बुझ्न जरुरी हुन्छ । शासकको वर्ग चेतना सामान्तवादी उत्पादन सम्बन्धको कारण सोच चिन्तन र प्रवृत्तिमा खासै फरक वा भिन्न देख्न सकिरहेका छैनौँ । आदर्शवादी चिन्तन, निजी सम्पत्तिको मोह, व्यक्तिगत लाभ र पद प्रतिष्ठाको भोको शासक वर्गमा विद्यमान छ । उत्पादक शक्ति भनेको मुख्य श्रमशक्ति करिब ४०÷५० लाख रोजगारीको लागि विदेशिएका छन् । उत्पादनको साधनमाथि नोकरशाही दलाल पुँजीवादको एकछत्र स्वामित्व रहेको छ । अधिकांश जनताको स्वामित्व खोसिएको छ । सरकार तिनै नोकरशाह, दलाल पुँजीपतिहरूको रक्षाकवच बनिरहेको अवस्था छ । नेपालका उद्योग कलकारखाना पञ्चे र काङ्ग्रेसीहरूको मिलिभगतमा कौडीको दाममा बिक्री भएको पनि धेरै भइसक्यो । राज्यले साम्राज्यवादी गुरु योजनाअन्तर्गत निजी करण नवउदारीकरण नीति भित्र्याइ शक्तिराष्ट्रको दलाली गरिरहेको छ । यहाँ राजनीतिक नवधनाढ्य मुट्ठीभरका दलाल जन्माउने काम स्वयम् राज्यबाटै हुने गरेको छ । देशभक्त प्रगतिशील र क्रान्तिकारीहरूले ओझेलमा परेका छन् । उनीहरू आ–आफ्ना दर्शन, राजनीति र सिद्धान्तका रटानमा अभ्यस्त हुन पुगेको छ । परिणामस्वरूप व्यापारी तथा सञ्चारकर्मी अमूक पात्र प्रवृत्तिले राजनिको बागडोर सम्हाल्न पुगेको छ । अझ यसलाई विस्तृत रूपमा भन्नुपर्दा साम्राज्यवादीहरूले पुरानो दलालाई विश्वास गर्न छोडिसकेका छन् । नयाँ दलालहरूलाई जन्माइरहेको छ । यो लज्जाको विषय हो । यस्ता अभ्यासहरू संसदीय व्यवस्थाभित्र संसारभरि नै प्रचलित छ ।

हामी के चाहन्छौँ त ? हामी मुक्ति चाान्छौँ या समृद्धि अथवा सुशासन । यी सबै तपसिलका विषय बनेका छन् यहाँ । सरल भाषामा भन्नु पर्दा हामीहरू सहज जीविकयापन चाहिरहेका छौँ । गाँस, वास, कपास, स्वास्थ्य, शिक्षा सहजरूपमा प्राप्त होस् भन्ने चाहन्छौँ । आकासिँदो महँगी नियन्त्रण होस् । सबैलाई समान अवसर प्राप्त होस् भन्ने चाहना राख्छौँ । तर सम्भव छ र ? सम्भव छ, जतिबेला लेनिनले भन्नुभएको थियो– मरणासन्न पुँजीवादको जब अन्त्य हुन्न वा गरिँदैन, तबसम्म हामीहरूले भयानक सङ्कटको सामना गर्नुपर्ने हुन्छ, जुन हामीले भोगिरहेका छौँ । यसमा शासक वर्गभन्दा पनि सचेत सर्वहारा, मजदुर, किसान वर्ग, क्षेत्र र लिङ्गका जनता जागरूक हुनुपर्दछ । विश्वमा सचेत श्रमिकवर्गले ऐतिहासिक कीर्तिमान कायम गरिसकेका उदारणहरू अझै हाम्रो मानसपटलमा ताजै छन् । जस्तै, सन् १८१२ को बेलायतको मेसिनविरोधी आन्दोलन, फ्रान्सको लियोन सहरको विद्रोह, मिलेसियाली जुलाह विद्रोह, बेलायतको चार्टिस्ट आन्दोलन, जर्मनीको मजदुर आन्दोलन, पेरिस कम्युन, मई आन्दोलनलाई लिन सक्छौँ । यस्ता थुप्रै उदारण छन् । यो पुँजीवादको मानवताविरोधी हर्कतको विरुद्ध सचेत सर्वहारावर्गको महाविष्फोट रूपमा बुझ्न र मनन गर्न सकिन्छ । नेपालको सन्दर्भमा राजनीतिक आन्दोलनसँग एकाकार भई श्रमशक्ति अर्थात् श्रमजीवीवर्गले परिवर्तनको सपना देखेका थिए । त्यो अझै पनि पूरा भइसकेको छैन । इतिहासले त्यो अभिभारा हामीलाई सुम्पेको छ ।

नेपालको श्रमिक आन्दोलको सात दशक लामो अवधि पार गरे पनि राज्यसत्ताको स्वरूप परिवर्तन नहुँदा हामी पछाडि परिरहेको छौँ । परिणामस्वरूप आन्दोलन सर्वहारावर्गको नेतृत्वमा हुने फाइदा अभिजात वर्गले लिने विडम्बनापूर्ण परिणति भोग्न विवश बनिरहेका छौँ । यी सबै अन्तरविरोधको एक मात्र सावाधान भनेको भूमण्डलीकृत पुँजीवाद, बहुराष्ट्रिय तथा निगम पुँजीवादको र दलाल पुँजीवादको रूपमा विश्वबजार कब्जा गर्ने एकाधिकारवादी र साम्राज्यवादी रणनीतिलाई चकनाचुर पार्ने र स्वदेशमा औद्योगिकीकरणको विकास गर्ने बन्द रहेका उद्योग कलकारखाना पुनः सञ्चालनमा ल्याउने र प्रत्येक गाउँपालिकमा कम्तिमा एउटा उद्योगले खोल्ने नीति राज्यले अवलम्बन गर्न जरुरी छ । राज्यसत्ता श्रमिकप्रति निर्मम होइन, उदार बन्न जरुरी छ । श्रमशक्तिलाई स्वेदेशमै रोजगारको ग्यारेन्टी सेवा सुविधामा वृद्धि गर्न आवश्यक छ । श्रमिकलाई उद्योगपतिमार्फतै प्रत्यक्ष रोजगारी प्रणाली लाने व्यवस्था गर्न आवश्यक छ । सबैखाले विचौलिया प्रथाको अन्त्य गर्न र श्रमको उच्च सम्मान गर्ने जनवादी वैज्ञानिक समाजवादी व्यवस्था आजको आवश्यकता हो । राज्यसत्ताको मूल चरित्र बदल्नको निम्ति वीरता र साहसको आवश्यकता छ । फेरि एउटा क्रान्ति जरुरी छ । त्यो क्रान्तिको अभिभारा पूरा गर्ने शक्ति नेपाली उत्पीडित जनता र विशेषगरी श्रमिकवर्ग हो भन्ने सबैले हेक्का राख्न जरुरी छ ।

स्रोत : नयाँ स्वाभिमान राष्ट्रिय मासिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।