0 COMMENTS

असार ३१, काठमाडौँ । भारतले आफ्नो क्षेत्रमा सडक निर्माणका क्रममा विष्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फ क्षति पुर्‍याएको छ । भारतको पिथौरागढ जिल्ला धारचुला तहशिलअन्तर्गतको नयाँबस्तीमा सडक निर्माणका क्रममा उछिट्टिएको ढुङ्गाले नेपालतर्फ महाकाली नगरपालिका-५ मसिनीबलुवाका ३ स्थानीयवासीको घर र गोठमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताएका छन् ।

बिहीबार र शुक्रबार लगातार सडक निर्माणका लागि विष्फोटक पदार्थ प्रयोग गर्दा ढुङ्गा उछिट्टिएर स्थानीय नरभान बडू, हर्कसिंह ठगुन्ना र जगतसिंह ठगुन्नाको घरमा क्षति पुगेको हो ।

‘ब्लास्टिङ गर्दा भारतबाट ढुङ्गा उछिट्टिएर नेपालतर्फ खेतबारीसम्म पुगेका छन्, भारतीय पक्षले बिनासूचना ब्लास्टिङ गर्ने गरेको छ, यसबाट थप क्षतिको खतरा छ’, स्थानीय नरभान बडूले भने । यस्तै, झापाको गौरीगञ्ज गाउँपालिका-२ स्थित दशगजामा रहेको सीमा स्तम्भ बाढीले बगाएको छ ।

निरन्तर वर्षासँगै कमलखोलामा आएको बाढीले दशजगामा रहेको १४०/१५ नंको सीमा स्तम्भ (पिलर) बगाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताएका छन् । शुक्रबार दिउँसो आएको बाढीले उक्त सीमा स्तम्भ बगाएको भन्दै स्तम्भ खोजी कार्य भइरहेको उनले बताएका छन् ।

असार २६ गतेदेखि आएको अविरल वर्षाले जिल्लाका विभिन्न स्थान डुबान पर्नुका साथै सयौँ घर विस्थापित भएका छन् । अविरल वर्षाका कारण दमक-४ ताराबारीस्थित मावा खोलामा बाढी आई खोला किनार रहेको खाली ऐलानी जग्गा कटान गरेको वडा कार्यालयले जनाएको छ ।

बाढीले करिब ५० मिटर लम्बाइ र ५ मिटर चौडाइ कटान गरेको छ । अस्थायी प्रहरी पोष्ट ताराबारीबाट खटिएको प्रहरी टोली र दमक-४ वडा कार्यालयको पहलमा कटान रोकथाम गरिएको छ । जिल्लाको बाह्रदशी-२ स्थित अदुवा खोलामा आएको पानीको बहाव बढ्दा सुकुम्वासी बस्तीका ४५ घरपरिवार विस्थापित भएका छन् ।

गौरादह नगरपालिका-५ चप्रामशी डुब्बाटोल स्थितमा चन्दु खोला र रतुवा खोलाको बाँध पानीले कटान गर्दा २६ घरपरिवार विस्थापित भएकामा हाल अवस्था सामान्य बन्दै गएपछि विस्थापित घर फर्किका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।