0 COMMENTS

वैशाख २५, काठमाडाैँ । पासवर्ड विनाको यी संसार अलिक जोखिमपूर्ण लाग्न सक्दछ तर, यदि तपाईंसँग गुगल छ भने अब त्यस्तो खतरा हुनेछैन । सर्च इन्जिन कम्पनी गुगलले गत मंगलबार नयाँ सेक्योरिटी टूलको घोषणा गरेको हो । योसँगै अब तपाईंलाई आफ्नो गुगल अकाउन्टमा लगइन गर्न पासवर्ड चाहिने छैन । तपाईंले पास की प्रयोग गरेरै अकाउन्ट लगइन गर्न सक्नुहुन्छ । उता माइक्रोसफ्ट र एप्पलले पनि पासवर्डमुक्त लगइनलाई अबलम्बन गर्ने बताइसकेका छन् ।

पास की भनेको नयाँ प्रकारको लगइन क्रेडेन्सियल हो जसले पासवर्डको आवश्यकता हटाउनेछ । यसमा कि त फिंगरप्रिन्ट वा फेसियल रिकग्नीसन जस्तो बायोबेट्रिक अथेन्टिकेसन आवश्यक पर्दछ कि त एन्ड्रोइडमा प्रयोग गरिने पिन वा स्वाइप प्याटर्न प्रयोग गर्नु पर्दछ ।

पास कीका समर्थकहरुका अनुसार पास की मा फिसिंग आक्रमण अर्थात् ह्याकिंगको जोखिम कम हुन्छ । साथै पासवर्ड व्यवस्थापन गर्नुभन्दा कम झण्झटिलो पनि हुन्छ । साथै यसले टू फ्याक्टर अथेन्टिकेसनको लम्बेतान प्रक्रियालाई पनि प्रतिस्थापन गर्दछ ।

गुगल अकाउन्टमा पास की कसरी प्रयोग गर्ने ?

आफ्नो गुगल पास की सेटअप गर्नुभन्दा अगाडि तपाईंले निम्न आधारभूत आवश्यकता पूरा गर्नुपर्ने हुन्छ :

· मोबाइल डिभाइसका लागि तपाईंको फोनमा कम्तिमा पनि आईओएस १६ वा एन्ड्रोइड ९ भन्दा नयाँ अपरेटिंग सिस्टम हुनुपर्दछ ।
· कम्प्युटरको हकमा भने तपाईंको कम्प्युटर कम्तिमा पनिMacOS Ventura  वा विन्डोज १० अपरेटिंग सिस्टममा चलेको हुनुपर्दछ । त्यस्तै वेब ब्राउजर पनि कम्तिमा Chrome 109, Safari 16 वा Edge 109 हुनुपर्दछ ।

गुगल पास की राख्ने तरिका

तपाईंको फोन, ट्याब्लेट वा कम्प्युटरमा रहेको वेब ब्राउजरमा गई g.co/passkeys  लगइन गर्नुहोस् । यदि तपाईं आफ्नो गुगल अकाउन्टमा लगइन गरेको नै हुनुहुन्छ भने आफ्नो परिचय प्रमाणीकरणका लागि पासवर्ड हाल्नुपर्ने हुन्छ । यदि तपाईंले अर्को अकाउन्टमा जानुपर्नेछ भने अरु सबै गुगल अकाउन्ट मध्येबाट हालको अकाउन्टमा ट्याप गर्नुहोस् ।

त्यसपछि पासवर्ड हालेर  Next मा थिच्नुहोस् र नयाँ पेज खुल्दछ । उक्त नयाँ पेजमा तपाईंलाई पास की सिर्जना गर्न भनिन्छ ।

पप अप देखा परेसँगै Continue मा क्लिक गर्नुहोस् । यसपछि पास की तपाईंको डिभाइसमा सुरक्षित हुन्छ ।

तपाईंले आफ्नो परिचय प्रमाणित गर्नका लागि डिभाइसले भने बमोजिमका बायोमेट्रिक प्रयोग गर्नुपर्दछ । त्यति गरेपछि तपाईंको डिभाइसका लागि पास की सिर्जना हुन्छ ।

त्यसपछि तपाईंले आफ्नो गुगल अकाउन्ट लगइन गर्नका लागि सो पास की प्रयोग गर्न सक्नुहुन्छ । तपाईंले आफ्नो गुगल अकाउन्टमा यसअघि टू फ्याक्टर अथेन्टिकेसन राख्नुभएको छ भनेपनि त्यो निस्क्रिय हुनेछ । तपाईंले जुनसुकै बेला पनि आफ्नो पास की को साटो पासवर्डबाटै पनि लगइन गर्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।