0 COMMENTS

वैशाख २४, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीमा आबद्ध दुईवटा क्रान्तिकारी किसान सङ्गठनले किसानलाई अविलम्ब मल–बिउ उपलब्ध गराउन आह्वान गर्दै समयमै मल–बिउ उपलब्ध नगराइए सङ्घर्ष गर्ने चेतावनी दिएका छन् । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष हरि श्रेष्ठ र सोही नामको अर्को सङ्गठनका अर्का अध्यक्ष सीताराम तामाङले संयुक्त विज्ञप्ति जारी गरी किसानको मुख्य बर्खे बालीलाई आवश्यक मल र हिउँदे बालीका लागि बिउको अभाव भएकाले यसलाई तत्काल उपलब्ध गराउन जोडदार माग गरेका हुन् ।

विज्ञप्तिमा रासायनिक मल खरिद गर्दा भएको घोटाला छनबिन गरी कारबाही अगाडि बढाउन, समयमा किसानलाई मल आपूर्ति गर्न रासायनिक मल कारखाना नेपालमा नै स्थापना गर्न, बाहिरबाट मल खरिद गर्दा खुला प्रतिस्पर्धामा गरिएको आवेदन (ग्लोबल टेन्डर) खारेज गरी सरकार–सरकार (जी टु जी ) माध्यमबाट मात्र मल खरिद गर्न पनि आह्वान गरिएको छ । विज्ञप्तिमा किसानलाई तत्काल मल–बिउ उपलब्ध गराउन आह्वान गर्दै अन्यथा सम्पूर्ण किसान आन्दोलमा उत्रने र मल–बिउमा कालोबजारी भएको पाइएमा सडकबाट कारबाही गर्ने चेतावनी पनि दिइएको छ । श्रेष्ठ पूर्व नेकपा (बहुमत) निकट र तामाङ पूर्व नेकपा (क्रान्तिकारी माओवादी) निकट किसान सङ्गठनका अध्यक्ष हुन् । दुई पार्टीबीच एकता भएर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बने पनि जवस र मोर्चाहरूका बीचमा एकता प्रक्रिया जारी रहेकाले दुवै सङ्गठन अस्तित्वमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।