0 COMMENTS

वैशाख २०, काठमाडौँ । उम्मेदवारहरुको डाटा हराएपछि लोक सेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ । आयोगले आज सूचना जारी गर्दै पुनः दरखास्तको आव्हान गरेको हो । आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टर (जीआईडीसी) मा गएको फागुन २३ गते समस्या आएको थियो ।

डाटा रिकभरीको प्रयास भैरहेको तर यो प्रकृया कहिलेसम्म पूरा हुने र के कति डाटा रिकभरी हुने भन्नेबारे यकिन नहुँदा आयोगले पूर्वप्रकाशित विज्ञापनमा दरखास्त दिई दस्तुर बुझाएका उम्मेदवारबाट पुनः दरखास्त माग गरेको हो ।

पूर्वप्रकाशित विज्ञापनसम्बन्धी कार्यहरु जेठ महिनादेखि सञ्चालन हुनेगरी तोकिएका परीक्षा कार्यक्रम समयमै सम्पन्न हुन नसकि आयोगको तालिका प्रभावित हुने र परीक्षा तयारी गरिरहेका उम्मेदवारलाई समेत मर्का पर्ने देखिएकाले गएको वैशाख १४ गतेको निर्णय अनुसार गएको मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनमा पुनः दरखास्त आव्हान गरिएको आयोगका प्रवक्ता तोयानारायण सुवेदीले बताउनुभयो ।

सम्बन्धित उम्मेदवारले जेठ १८ गतेभित्र पुनःदरखास्त विवरण पेश गर्नुपर्नेछ । दरखास्त दस्तुर नलाग्ने पनि आयोगले जनाएको छ । आयोगले अनलाइन प्रणालीमा पुनःदरखास्त मेनु राखेको छ । यसमा साविकमा जुन समूहको विज्ञापनमा आवेदन गरिएको त्यहि नै आवेदन गर्नुपर्नेछ ।

आयोगका अनुसार २०७९ साल मङ्सिरमा प्रकाशित राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरहको पदको विज्ञापन, पुसमा प्रकाशित राजपत्र अनङ्कित प्रथम श्रेणी अप्राविधिक नायब सुब्बा वा सो सरह पदको विज्ञापन र माघमा प्रकाशित राजपत्र अनङ्कित प्रथम श्रेणी (प्राविधिक) नायव सुब्बा वा सो सरह र स्वास्थ्य सेवातर्फ पाँचौँ तहको पदको विज्ञापनमा पेस भएका दरखास्तसम्बन्धी विवरण समस्या देखिएपछि पुनः दरखास्तका लागि आह्वान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।