0 COMMENTS

चैत १९, नवलपुर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले सत्तामा बसेका दलालहरूले देशको भृकुटी कागज कारखानासहित अन्य उद्योगहरू बेचेमा त्यही कारखानामै चिहान बनाइदिने चेतावनी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) केन्द्रीय जनसङ्घर्ष परिचालन समितिले नवलपुरको गैँडाकोटमा रहेको भृकुटी कागज कारखानालगायत उद्योग संरक्षण तथा सञ्चालनका लागि दबाब दिन शनिबार आयोजित कार्यक्रमका प्रमुख अतिथि कञ्चनले भने, ‘दलाल संसदीय व्यवस्थाले देशको निकास दिन नसकेकै कारण उद्योगका मेसिनहरू बन्द भए । देशका नेताहरू विदेशी डाँकाहरूको दलाल बनेकै कारण यस्तो अवस्था उत्पन्न भएको हो । यो व्यवस्था सञ्चालन गर्ने दलालहरूको दिमागमा दलाली मात्र भएकाले देशको यो हालत भएको हो ।’

पार्टी संयोजक कञ्चनले भने, ‘यो दलाल व्यवस्था र यसलाई सञ्चालन गर्ने दलाल नेताहरूको मस्तिष्क सफा गरेर मात्र पुग्दैन, तिनीहरूमाथि जनकारबाही गरी वैज्ञानिक समाजवाद स्थापना गरेर मात्र देश समृद्ध हुनेछ । अन्यथा देश झन्–झन् बरबाद हुनेछ ।’ संयोजक कञ्चनले भने, ‘त्यसकारण हामीले दलालहरूलाई सफा गर्ने अभियानस्वरूप राष्ट्रिय अभियान सञ्चालन गरिरहेका छौँ । यो प्रदर्शन पनि त्यही अभियानको एउटा शृङ्खला हो । यो अभियानमा सहभागी हुनसमेत सबैलाई आह्वान गर्दछौँ ।’

पार्टी संयोजक कञ्चनले यो दलाल संसदीय व्यवस्थाको अन्त्य गरेर नयाँ जनवादी व्यवस्थासहित वैज्ञानिक समाजवाद स्थापना गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताए । दलाल संसदीय व्यवस्थाले हत्या, हिंसा, बलात्कार, लुटपाट, आतङ्क मच्चाउँदै राज्यआतङ्क उत्पन्न गराएको यथार्थ प्रस्तुत गर्दै संयोजक कञ्चनले मिटरब्याजको आतङ्क चलाउने बैङ्क तथा लघुवित्तहरूलाई कारबाही अगाडि बढाउने क्रममा सिराहा जिल्लाका सिर्जनशील लघुवित्तका सञ्चालक तथा गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठले उत्पीडित जनतामाथि आतङ्क फैलाएकाले पार्टीको नेतृत्वमा कारबाही गरिएको स्पष्ट पारे ।

संयोजक कञ्चनले भने, ‘नेपाली नामका नबिल बैङ्कजस्ता थुप्रै दलाल र लुटेरा बैङ्क तथा लघुवित्त सञ्चालक आतङ्ककारी मिटरब्याजीहरूलाई कारबाही गरी गाउँगाउँ र सहरसहरबाट लघुवित्तहरूलाई लखेटेर निस्तेज पारिनेछ ।’ उनले नेपाली जनताका लागि नेपाल सरकारले सञ्चालन गरेका बैङ्कलाई जनमुखी र सेवा प्रदायक बनाएर चलाउनुपर्ने धारणा पनि राखे ।

कार्यक्रमका अध्यक्ष नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय कार्यालय सदस्य तथा केन्द्रीय जनसङ्घर्ष परिचालन समितिका प्रमुख उदयबहादुर चलाउने ‘दीपक’ ले फेरि अर्को जनयुद्ध आवश्यक भएको बताए ।

कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘जनताको रगत र पसिना एवम् छिमेकी असल मित्र देशहरूको सहयोगमा बनेका उद्योगहरू दलालहरूलाई बेचेर प्रजातन्त्र र क्रान्तिको नाम भँजाएर खाने गद्दार, धोकेबाज, लुटेराहरूलाई चोकचोकमा, गाउँगाउँमा न्यायालय गठन गरेर कारबाही गर्नुपर्छ ।’ नेता दीपकले अगाडि भने, ‘यो भृकुटी कागज कारखाना किन्ने र बन्द गर्ने गोल्छाले बक्यौता र मजदुरहरूको पैसा तिर्नुपर्छ । नतिरेमा उसका बैङ्क र अन्य कम्पनीहरूसमेत नेपालबाट सधैँका लागि जनताले खोसेर बन्द गरिदिनेछन् ।’कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य घननाथ सापकोटा, नेकपा (मशाल) का स्थायी समिति सदस्य कृष्ण पौडेललगायत अतिथिहरूले पनि नेकपा (बहुमत) ले सञ्चालन गरेको अभियानलाई समर्थन गर्दै बोलेका थिए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) केन्द्रीय सचिवालय सदस्य लालबहादुर बीसी ‘शार्दूल’ ले स्वागत मन्तव्य राखेका थिए भने केन्द्रीय कार्यालय सदस्य बाबुराम गजमेरले सञ्चालन गरेका थिए । कार्यक्रममा पार्टीको केन्द्रीय र जिल्ला स्तरका नेता–कार्यकर्ताका साथै नवलपुर र चितवन क्षेत्रका सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।