0 COMMENTS

पुस ११, काठमाडौँ । आज विश्वसर्वहारा वर्गका महान् नेता एवम् चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड माओ त्सेतुङको १३० औँ जन्मदिवस । संसारभरका मालेमावादीहरूले महान् माओका विचारहरूलाई मार्गनिर्देशक विचारका रूपमा ग्रहण गर्ने प्रतिबद्धतासहित माओ दिवस मनाइरहेका छन् । नेपालमा पनि नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा मशालले आज केन्द्रीय स्तरमा १२ बजे काठमाडौँ जमलस्थित राष्ट्रिय नाचघरमा र स्थानीय स्तरमा देशैभर संयुक्त रूपमा माओ दिवस मनाउँदैछन् । विश्वसर्वहारा वर्गका महान् नेता, मार्क्सवाद–लेनिनवादका सफल प्रयोगकर्ता र माओवादका प्रवर्तक माओप्रति लालसलाम प्रकट गर्दै हामी पनि माओका आदर्श विचारहरूको रक्षा, प्रयोग र विकासको प्रतिबद्धता व्यक्त गर्दछौँ ।

नेकपा (बहुमत) को केन्द्रीय कार्यालयले तीनै पार्टीको संयुक्त र बेग्लाबेग्लै बसेका बैठकहरूले आआफ्ना पार्टी, जवस, मोर्चा, बुद्धिजीवी, आमजनसमुदाय, सञ्चारमाध्यमलगायत सरोकारवाला क्षेत्रलाई माओ दिवसमा दायित्वबोधसहित सक्रियता र रुचिपूर्वक सहभागी हुन आह्वान गर्ने निर्णय गरी सम्बन्धित क्षेत्रलाई सर्कुलर गरिसकेको जनाएको छ । पार्टी केन्द्रीय प्रचार, प्रसार तथा प्रकाशन ब्युरोका संयोजक अशोक सुवेदीले आइतबार निमन्त्रणापत्रमार्फत सञ्चारकर्मी, क्रान्तिकारी बौद्धिक व्यक्तित्व, नेता–कार्यकर्ता र सम्पूर्ण उत्पीडित जनसमुदायलाई माओ दिवस भव्य रूपमा मनाउन र कार्यक्रम सफल पार्न सहभागिताका लागि आह्वान गरेका छन् ।

काठमाडौँलगायत देशैभरि हुने कार्यक्रममा तीनै पार्टीका शीर्ष नेतृत्वलगायत बौद्धिक क्षेत्रका व्यक्तित्वहरूले विश्वसर्वहारा वर्गका महान् नेता एवम् चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओको योगदानका साथै बदलिँदो विश्वपरिस्थिति र नयाँ जनवादसहित वैज्ञानिक समाजवादी क्रान्तिको अपरिहार्यता विषयमा गहन मन्तव्य प्रस्तुत गर्ने जनाइएको छ ।

नेपालमा दस वर्षसम्म सञ्चालित जनयुद्ध र त्यसका उपलब्धिहरू पनि मुख्य नेतृत्वको आत्मसमर्पणसँगै गुमेको र मरणासन्न साम्राज्यवादले अन्तिम अवस्थामा पनि दलाल पुँजीवादी सत्ता, पार्टी र व्यक्तिहरूलाई दुरुपयोग गरेर नयाँ तरिकाले साम्राज्यवादी उत्पीडन लादिरहेको समयमा साम्राज्यवादविरुद्धको सङ्घर्ष र वैज्ञानिक समाजवादी क्रान्ति साथसाथै अघि बढाएर वैज्ञानिक समाजवाद स्थापना गर्न महान् माओका योगदानहरूले मार्गनिर्देशन गर्ने भएकाले माओ विचार अर्थात् माओवादको अपरिहार्यता बढ्दै गएको छ ।

यसै सन्दर्भमा नेपालका माओवादी कम्युनिस्ट पार्टीहरूले काठमाडौँमा केन्द्रीय स्तरमा र देशभर भव्य गोष्ठी, अन्तरक्रियालगायत सिर्जनात्मक कार्यक्रमसहित १३० औँ माओ दिवस मनाइरहेका छन् ।

संयुक्त रूपमा १३० औँ माओ दिवस मनाउन नेकपा (बहुमत) का प्रवक्ता सुदर्शन, नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेल र नेकपा मशालका नेता चिन्तामणि पौडेलको नेतृत्व रहेको १३० औँ माओ दिवस आयोजक समिति गठन गरिएको छ ।

तीन पार्टीले केन्द्रीय रूपमा काठमाडौँमा र स्थानीय स्तरमा देशैभर माओका योगदान, माओवादको अपरिहार्यता, वैज्ञानिक समाजवाद र माओवादलगायत विविध विषयमा गोष्ठी, छलफल, अन्तरक्रियालगायत सिर्जनात्मक कार्यक्रम आयोजना गर्नेछन् ।

विश्वसर्वहारा वर्गका महान् नेता कमरेड माओ २६ डिसेम्बर १८९३ मा जन्मिएका थिए । माओको जन्मदिनमा संसारभरका मालेमावादीहरूले सिर्जनात्मक–वैचारिक कार्यक्रम गरी माओ दिवस मनाउने गर्छन् । नेकपा (बहुमत) लगायत क्रान्तिकारी कम्युनिस्ट पार्टीले नेपालमा पनि माओ दिवस मनाउँदै आएका छन् । माओवादी आन्दोलनबाटै आएका संशोधनवादी, संसद्वादी र आत्मसमर्पणवादीहरूले भने साम्राज्यवाद र दलाल पुँजीवादी सत्ताको प्रभावका कारण माओ दिवसलाई आठेभक्ति र औपचारिकतामा सीमित गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।