0 COMMENTS

सरकारले मनोरन्जनात्मक क्षेत्रको सञ्चालन समय थप गरेको छ । दोहोरी साँझहरुलाई राति १२ बजेसम्म र डान्सबारहरुलाई बिहान ४ बजेसम्म सञ्चालन गर्न दिने निर्णय सरकारको छ । राति अबेलासम्म यी क्षेत्र खोल्न दिँदा व्यवसायीहरुलाई फाइदा भयो । तर, अन्य सर्वसाधारण मर्कामा परेका छन् । रातिभरि जाँडरक्सी खाएर बबाल मच्चाउने, कुटाकुट गर्ने, आफुसंग भएको पैसा सिद्धयाउने, अरुलाई डिस्टर्ब गर्ने, होहल्ला गर्नेलगायतका कार्य अब बढ्ने देखिन्छ ।

यसले थप बेतिथि मच्चिने निश्चित छ । सुरक्षामा समेत चुनौती आउने देखिन्छ । पहिले दोहोरी साँझ राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइन्थ्यो । यता, डान्सबारहरु राति १२ बजे उता सञ्चालन गर्न प्रतिबन्ध लगाइएको थियो । सुरक्षामा खतरा हुने देख्दादेख्दा पनि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले किन समय थप गर्यो ? यसले विभिन्न अपराधजनक र गैरकानुनी क्रियाकलाप निम्त्याउने जान्दाजान्दै पनि सिडियो घनश्याम उपाध्यायले व्यवसायीको पक्षमा निर्णय गरिदिए ।

यो निर्णय गर्नका लागि व्यवसायीहरुले मोटो खर्च गरेको देखिन्छ । काठमाडौंका सिडियो उपाध्यायलाई त फाइदा भयो तर यसले अरुलाई कति असर पर्छ ? समाज, टोलमा कति विकृति फैलिन्छ ? सिडियोले सोचेका छन् ? जति पनि दोहोरी साँझ, डान्सबारहरु छन्, ती सबै घनाबस्तीको बीचमा छन् । यी क्षेत्र रातभर खोल्न दिँदा छरछिमेकलाई त डिस्टर्ब हुने भो । दिनभरि थाकेर आएकालाई डान्सबार र दोहारी साँझको आवाजले कति सताउँला ? सरकारको निर्णयले जनतालाई सुत्न र आराम गर्नबाट पनि वञ्चित गरेको छ ।

रातभर दोहोरी साँझ, रेष्टुरेण्ट र डान्सबार खोल्दाको असर घरपरिवारमा अवश्य देखिन्छ । राति छोराछोरी, बाबुआमा अबेला आँउदा घरपरिवारलाई चिन्ता हुन्छ । श्रीमती घरमा कुरेर बस्छिन्, श्रीमान जाँडमा रमाइरहेका हुन्छन् । छोराछोरी रातभर बाहिर बस्दा बुवाआमालाई कति तनाव हुन्छ ? सरकारले घरपरिवार बिगार्ने काम गरिरहेको छ । राति जाँड खाएर गाडी चढाउँदा सवारी दुर्घटनामा पर्न सक्छ । सरकारले कतितिर सुरक्षा दिने ? रातभरि यी क्षेत्र खोल्न दिँदा फाइदा होइन् बेफाइदा छ ।

राति ९ बजेपछि हरेक व्यवसायी बन्द गर्न लगाउनुपर्छ । व्यवसायी गर्ने नाममा घर बिगार्न पाइएन् । अर्कोको छोराछोरी बिगार्न पाँइदैन् । रातको समय छोरी मान्छेलाई घरबाट बाहिर निस्किनुले एकदम डरलाग्दो रुप लिनसक्छ । हाम्रो समाज उसै पनि छोराचेलीको लागि सभ्य छैन् । यस्तोमा रातभर डान्सबारमा गएर नाँच्नु र जाँडरक्सी खानु अस्वाभाविक बन्न सक्ला । एकछिनको रमाइलोले ठूलै बखेडा खडा गर्न सक्छ । सरकारले एकतर्फी रुपमा व्यवसायीको कुरा सुनेर निर्णय गरिदियो ।

तर, सरकारले त्यसको दोस्रो पाटो हेरेन् । व्यवसायीले कर तिरेका छन् भन्दैमा समाज बिगार्ने काम गर्न त पाइदैन् । सरकारको यो निर्णयको विरोधमा हाल सर्वसाधारणले आवाज उठाउन थालिसकेका छन् । डान्सबार, दोहोरी साँझलगायतका मनोरञ्जनात्मक क्षेत्रलाई उपत्यकाबाहिर सार्नुपर्ने माग उठेको छ । रातभर स्वर गर्दा समाजमा कति नकारात्मकता फैलिन्छ । दिनभरि काम गरेर थाकेको ज्यान, त्यहीमाथि आराम गर्न नपाँउदा कति रिस उठ्छ ।

जनतालाई दुःख दिएर व्यवसायीहरु कमाउने अनि राज्यले कर उठाउने, यो त मिलेन् । मनोरञ्जन दिने भनेर उपत्यकाभित्र सञ्चालन भएका यस्ता व्यवसायीलाई हटाउन वा बन्द गर्न जनताहरुले नै आवाज उठाउने देखिन्छ । कि यसलाई सार्नुपर्यो कि बन्द गर्नुपर्यो भनेर माग उठ्न थालेको छ । कि दिँउसो व्यवसायी गर्नुपर्यो । राति नाँच्ने समय हो र ? राति त आराम गर्नुपर्छ । गीत सुन्न, नाँच्न मनलाग्ने मान्छेहरु दिँउसै जान्छन् । अरु व्यवसायीचाँहि दिँउसो गर्न हुने, यो चाँहि नहुने ?

डान्सबार, दोहोरी साँझमा काम गर्ने अधिकांशको घर व्यवहार बिग्रिएको छ । आफ्नो त बिग्रियो बिग्रियो, अरुको पनि बिगार्छन् । जनताको घरमा झगडा बनाइदिने, तनाव दिने लगायतका कार्य सरकारबाटै भइरहेको छ । होटल व्यवसायीलाई फेरि यसले भव्य फाइदा हुन्छ । दिँउसो एक सय पर्ने सामान राति एक हजार रुपैयाँमा बेच्न पाइयो । तर, त्यहाँ कार्यरत कर्मचारी र ग्राहकको घर व्यवहार तहसनहस भएको छ । राज्यले यस्ता क्षेत्रलाई दिँउसै सञ्चालन गर्न दिनुपर्छ ।

मनोरञ्जन गर्न मनलागे दिँउसै गर्छन् । बिहान ५ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन गर्न दिए भइहाल्यो । राति व्यापार व्यवसाय सञ्चालन गर्नुले समाजमा विकृति ल्याएको छ । रातमा जाँड खाएर गाडी गुडाउँदा दुर्घटना भयो भने उसको ज्यान जान्न सक्छ । दिँउसो त वरिपरिका भएका मान्छेहरुले उठाएर अस्पतालसम्म लगिदिन्छन् । सरकारले जनता बचाउने होइन्, जनता मार्ने काम गरिरहेको छ । सरकारको यो निर्णयमा बेतिथि मात्र छ । त्यसैले यी व्यवसायी रातको समयमा बन्द गर्नुपर्छ ।

राज्यले जनताको विषयमा ख्याल नगरीकन व्यवसायीको पक्षमा निर्णय गर्यो । व्यवसायीको हितमा राज्यले काम गरिरहेको छ । यो निर्णयले जनतालाई कति क्षति पुगेको छ ? दुर्घटना कति हुन्छ ? लगायतका विषयमा कुनै पनि अध्ययन गरिएको छैन् । रातको समयमा खानेकुराको सामानहरु ह्वात्तै बढाउँछन् । बाहिर पाँच सय पर्ने सामान राति दुई हजार पर्न जान्छ । राति सञ्चालन हुने व्यवसायीले जनतालाई लुटिरहेका छन्, ठगिरहेका छन् । दोहोरी साँझ, डान्सबार र रेष्टुरेण्टहरुमा रातको समय कसले पहरा दिने ?

सरकारले हरेक मनोरन्जानात्मक क्षेत्रमा सुरक्षाकर्मी खटाएर साध्य छैन् । यता, यी व्यवसायीहरुले बेच्ने सामान पनि अखाद्य छन् । सरकार धमाधम व्यवसायीको पक्षमा निर्णय गर्छ तर अनुगमन गर्दैन् । यी क्षेत्रमा कार्यरत कर्मचारीहरु पनि सभ्य छैन् । तैमाथि यिनीहरुले गुण्डा पनि पालेका हुन्छन् । सामानको मूल्य मँहगो भयोलगायत यताउति कुरा गर्यो भने मारपिटमा उत्रिनुहाल्छन् । दोहोरी साँझहरुमा जति पनि महिला कर्मचारी छन्, तिनीहरुलाई पनि शोषण गरिएको छ ।

एकातिर उनीहरुलाई थोरै तलब दिइएको छ, अर्कोतिर उनीहरुलाई अनेकथरी काम लगाइन्छ । ग्राहकसंग बसेर रमाइलो गर्नुपर्ने, तिनीहरुको सामान बेचिदिनुपर्ने, रातको अबेलासम्म काम गर्नुपर्ने बाध्यता महिला कर्मचारीलाई छ । यी व्यवसायीहरुले खानेकुराको रेटसमेत आफुखुसी तोकेका छन् । मेन्यु नै आफ्नो हिसाबले बनाएका हुन्छन् । जति मनलाग्यो त्यति मूल्य राखेका छन्, ग्राहकलाई लुट्नसम्म लुटेका छन् । सरकारले जनतालाई बिगार्ने होइन्, सुधार्ने निर्णय गर्नुपर्छ ।

नागरिकबाट कर र भोट मात्र लिने कार्य मात्र आफ्नो भएकोजस्तो सरकारले देखाएको छ । जनता जन्मिसकेपछि उसलाई पढाउने, लेखाउने, राम्रो बाटो देखाउने काम सरकारको हो । तर, सरकारले जनता बिगार्ने काम गरिरहेको छ । जनता सभ्य भए मात्र देश सप्रिन्छ । होइन् भने यसको क्षति सरकारले नै व्यहोर्नुपर्छ । राज्यले जनतालाई जँडिया बनाइरहेको छ । राज्यको असभ्य निर्णयले गर्दा मुलुकलाई निकै क्षति भइरहेको छ । जनताको ज्यानभन्दा ठुलो केही छैन् ।

गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौंको सिडियोले गरेको निर्णय रोक्नुपर्छ । राति यस्ता व्यवसायी सञ्चालन गर्न रोक लगाउनुपर्छ । एकातिर पैसा सकिएको छ अर्कोतिर घर परिवारमा तनाव । यसको असर छोराछोरीको मानसिकतामा पनि देखापरेको छ । बाबु राति १ बजे जाँड खाएर आँउछन् अनि जहिले उही घर झगडा । छोराछोरीमा कति असर परेको होला ? जाँडरक्सीकै कारणले कतिपयको सम्पूर्ण श्री सम्पत्ति सखाप भएको छ । कतिपयको अकालमा ज्यान गएको छ । कतिपयको घरपरिवार तहसनहस भएको छ ।

जतिपनि अपराधजन्य घटना घटेका छन्, तीमध्ये अधिकांश जाँडरक्सीले गर्दा नै हो । जाँड रक्सीकै लतका कारण घरमा झगडा हुन्छ । श्रीमानले श्रीमती कुट्छ, श्रीमतीको ज्यान जान्छ । यस्ता घटना हुनबाट रोक्नका लागि पनि सरकार आफ्नो निर्णयबाट पछि हट्नुपर्छ । सरकार जनताका अभिभावक हुन् । जाँडरक्सी खाएर झगडा गर्दा निर्दोष जनताले ज्यान गुमाउनुपरेको छ । उसको परिवारको बिजोग हुन्छ ।

राज्यले अहिले पनि जाँडरक्सी बेच्न प्रतिबन्ध लगाएको छैन् । राज्यले जनता बचाउने हो । जाँडरक्सी बेचेर कर उठाउने र जनता मार्ने काम गर्न पाइँदैन् । यता, व्यवसायीहरुले पनि आफू धनी हुनका लागि जाँडरक्सी बेच्न पाउँदैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।