0 COMMENTS

मंसिर १४, भक्तपुर । देशमा ऐनकानून छ सरकार छ । तर, हिजो थापाथलीका सुकुम्बासीहरुले लौरो भाटा र हातहतियार लिएर काठमाडौं महानगरपालिकाका नगरप्रहरीमाथि हातपात गर्दा सरकार के हेरेर बस्यो ? गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय किन हात बाँधेर बस्यो ? सुकुम्बासीहरु हातमा नाङ्गो खुकुरी नचाइरहेका थिए । ग्याँस बोकेर हिँडेका थिए । टायर बालेर आतंक मच्चाइरहेका थिए ।

नगरप्रहरीमाथि ढुंगामुढा प्रहार भयो । कतिपय नगरप्रहरी घाइतेसमेत भए । कतिपयको टाउकोमा गम्भीर चोटसमेत लागेको छ । सुकुम्बासीको नाममा सरकारी जग्गा कब्जा गरेर काठमाडौंको सुन्दरतामा ह्रास ल्याउने काम गरिरहेका छन् । यिनीहरु सुकुम्बासी नै होइनन्, सुकुम्बासीको नाममा सरकारी जग्गा कब्जा गरेको हुन् । नदीनाला किनारमा छेउछाउ टहरा बारेर बसेकाहरुले नदीनाला फोहोर पारेका छन् ।

हिजो जजसले खुकुरी, हातहतियार र ढुंगामुढा गरेका छन्, तिनलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । देशमा कानून छ, कानून उल्लघंन गर्नेले सजाय पाउनुपर्छ । सुरक्षाकर्मीलाई नै कुटपिट गर्न आउने, आतंक फैलाउनेलाई त्यतिकै छोड्नुहुँदैन् । हतियार बोक्ने र ढुंगामुढा गर्नेलाई सरकारले राम्ररी चिनेको छ, उनीहरुलाई तत्काल कारबाही गर्नुपर्छ । गृहले आज थप सुरक्षाकर्मी खटाएर सुकुम्बासी बस्ती हटाउनुपर्छ ।

यसरी आन्दोलन गर्दैमा, हतियार लिएर सडकमा आउँदैमा सरकार डराउनहुँदैन् । सरकार पछि हट्दै जाने हो भने मुलुकमा भएका सम्पूर्ण सरकारी जग्गा क्रमशः कब्जा हुँदै जान्छ । सरकारले केही गर्न नसक्ने हो भने देशै सुकुम्बासीहरुलाई चलाउन दिए भइहाल्यो नि । महानगरका मेयर बालेन्द्र साहले थप सुरक्षाकर्मी पठाएर सुकुम्बासी बस्तीमा डोजर चलाउनुपर्छ ।

सरकार बलियो नभएसम्म देशले परिवर्तनको बाटो समात्न सक्दैन् । हिजो सुकुम्बासी बस्ती हटाउन महानगरको टोली अबेला गयो । नगरप्रहरी डोजरसहित बिहानै बस्तीमा पुग्नुपथ्र्यो । तर, जब सुकुम्बासीहरु एकजुट भए तब नगरप्रहरी पुगे । उनीहरुले आन्दोलनका लागि सबै तयारी गरिसकेका थिए । जसको चपेटामा नगरप्रहरी पुग्यो । हिजोको घटनाबाट नगरप्रहरीले पनि केही पाठ सिक्नुपर्छ ।

नगरप्रहरीको पनि कहीकतै कमजोरी देखिएको छ । सुकुम्बासी हटाउन अघि बढिसकेको महानगर पछि हट्यो भने मेयर बालेन र नगरप्रहरीले अहिलेसम्म गरेको कामको कुनै अस्तित्व रहँदैन् । सुकुम्बासीहरुले सरकारलाई चुनौती दिएका छन् । सिँधै हातहतियार बोकेर निस्किएर उनीहरुले सरकार नै नभएकोजस्तो गरे । यता, नगरप्रहरी पनि नेताजस्तै उक्त ठाँउमा पुगेका थिए ।

सुकुम्बासीहरुले त्यत्रो आतंक गर्छन् भनेर महानगर प्रहरीले सोचेका पनि थिएनन् । अरु बेलाझैं गरी नगरप्रहरी डोजर मात्र लिएर पुग्यो । तर, नगरप्रहरीको कमजोरीले सुकुम्बासी पनि हटेनन् । यता, थुप्रो नगरप्रहरी घाइते भए । पुरा तयारी नगरिकन उक्त ठाँउमा जानु नै गल्ती भएको देखिन्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको घेराबन्दीमा डोजर र महानगर प्रहरी सुकुम्बासी बस्ती हटाउन गएको भए बागमती छेउ रणभूमिमा परिणत हुँदैनथ्यो ।

कतिपय सुकुम्बासीहरुले झोला झयाम्टा बाहिर निकालिसकेका थिए । तर, कमजो महानगर प्रहरी देखेर उनीहरु हुलदंगा मच्चाउन निस्किए । सुकुम्बासी भनेर सरकारी जग्गा कब्जा गरेर बसेका उनीको हात, गलामा सुनको सिक्री देखिन्थ्यो । सवारी साधन पनि छ । उनीहरु सुकुम्बासीजस्तै देखिँदैन् । कतिपयको काठमाडौंकै घर होला । आफ्नो गाउँघरमा जग्गा होला ।

अनि सुकुम्बासी भनेर सरकारी जग्गा कब्जा गर्न मिल्छ ? सरकारले लालपुर्जा दिन्छ अनि त्यो जग्गा पनि आफ्नो नाममा पार्नका लागि तिनीहरु त्यसरी बसेका छन् । नदीनाला छेउका टहराले गर्दा शहरको सुन्दरतामा ह्रास आएको छ । नदीनाला फोहोर भएको छ । सरकारी जग्गा क्रमशः घट्दै गएको छ । हिजो घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि गएका थिए ।

तर, महानगर प्रहरीले त्यसरी चुटइ खाँदा पनि नेपाल प्रहरी र सशस्त्रले हेरेर बस्यो । महानगर प्रहरीहरु घाइते भइसक्दा पनि प्रहरी र सशस्त्रको टोली अघि बढेको थिएन् । प्रहरी र सशस्त्र हिजोको घटनामा रमिते बनेर बस्यो । महानगर प्रहरीलाई त्यत्रो चोट लाग्दा पनि प्रहरी र सशस्त्र किन अघि बढेन् ? प्रश्न खडा भएको छ । कि गृह र सिडियो कार्यालयले हात बाँधेर बस् भनेर निर्देशन दिएको थियो ?

महानगर प्रहरीलाई कुटेदै लखेटेपछि सुकुम्बासीहरुको आत्मबल झनै बढेको छ । सुकुम्बासीहरुको नाममा देशभरका सरकारी जग्गा कब्जा भएको छ । सुकुम्बासी भन्दै माफियाले सरकारी सम्पत्तिमा डेरा जमाएका छन् । सरकारी सम्पत्ति फिर्ता ल्याउनु महानगर प्रहरीको मात्र जिम्मा हो ? तर, हिजोको हर्कतले ठ्याक्कै त्यस्तै देखायो । महानगर प्रहरीको ज्यानमाथि आँच आइपर्दा पनि प्रहरीको टोली अघि बढेन् ।

निरीह भएर हेरेर बसिरह्यो । उनीहरुलाई अघि नबढ् भनेर कसले रोक्यो त ? गृहमन्त्री बालकृष्ण खाँणले रोके कि गृहसचिव विनोदप्रकाश सिंहले । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरेन्द्रप्रताप सिंहले प्रहरीलाई अगाडि बढ्न निर्देशन दिनुपथ्र्यो । प्रवक्ता टेकप्रसाद राईले हिजो त्यति निर्देशन दिएको भए सुकुम्बासीको समस्या हिजै हल भइसक्थ्यो । सुकुम्बासी देशभरको समस्या हो ।

तर, सरकारले काठमाडौं महानगरपालिकाको समस्याजस्तै गर्यो । महानगरपालिकाले अघि नबढेसम्म देशभरका मेयरहरुले आफ्नो कदम चाल्दैनन् । महानगर प्रहरीले त्यसरी कुटाइ खाइसकेपछि जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले प्रहरीलाई तुरुन्त अघि बढ्न निर्देशन दिनुपथ्र्यो । देशका ठूल्ठूला निकाय मौन बस्दा महानगर प्रहरीहरुले कुटाइ खाए ।

महानगर प्रहरीलाई सुकुम्बासीहरुले लखेटी लखेटी कुट्छन् भनेर कसैले सोचेका थिएनन् । तर, सुरक्षाकर्मीहरुले उनीहरुलाई जोगाउनुपथ्र्यो । उल्टो रमाइलो हेरेर बस्यो । नेपाल प्रहरीले पनि जनताले तिरेको करबाट तलब खाएको हो । महानगर प्रहरीले पनि जनताले तिरेकै करबाट तलब खाएका हुन् । तर, महानगर प्रहरीले कुटाइ खाँदा अन्य प्रहरी चुपचाप बसिरहे । यसको जवाफ गृहमन्त्री खाँणले दिनुपर्छ ।

त्यत्रो महानगर प्रहरी घाइते भए । तर, पनि सरकार मौन छ ? हिजो थापाथलीमा ठूलो दुर्घटना हुन सक्थ्यो । सुकुम्बासीको भीड त्यसरी नै उग्र भएर अघि बढेको भए कतिले ज्यान गुमाउथे । उनीहरु खुकुरी लिएर हिँडेका थिए । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का सांसद् प्रकाशमान सिंहले सुरक्षाकर्मीलाई अघि नबढाऊ भनेर गृहमन्त्री खाँणलाई भनेको कुरा पनि सुन्नमा आएको छ ।

चुनावअघि सो बस्तीमा प्रकाशमान पुगेका थिए । उनले कुनै पनि हालतमा सुकुम्बासी हटाउन नदिने बताएका थिए । उनीहरुकै भोट लिएर त थोरै मतान्तरले प्रकाशमानले जिते । सुकुम्बासीले हालेको एक सय २५ मतले त उनले विजयी हात पारेका हुन् । नत्र प्रकाशमान हार्नुपर्ने व्यक्ति हुन् । पर्दाभित्र बसेर प्रकाशमानले सुकुम्बासीलाई सडकमा उतारे । हिजोको घटनाको जिम्मेवारी प्रकाशमानले लिनुपर्छ ।

गृहमन्त्री खाँणले तत्काल प्रकाशमानलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । महानगरका मेयर बालेनले आजै डोजर लगेर सुकुम्बासी बस्ती हटाउनुपर्छ । मेयर र महानगर प्रहरी डराउनुहुँदैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।