0 COMMENTS

साउन २९, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट जवस/मोर्चाहरूले मिटरब्याजी शोषणविरुद्ध पीडितहरूले सञ्चालन गरेको आन्दोलनमा पूर्ण ऐक्यबद्धता र समर्थन जनाउँदै जनताविरुद्ध भइरहेका सबै किसिमका शोषण, दमन र अत्याचार अविलम्ब अन्त्य गर्न माग गरेका छन् ।

आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपाललगायत जवस/मोर्चाहरूले सीमित व्यक्तिहरूले जनताको पैसा कब्जा गरेर देशैभरि मिटरब्याज आतङ्क उत्पन्न गरेको, गाउँका सोझासीधा जनतालाई झुक्याएर झूट्टा र जाली तमसुक बनाई सर्वसाधारणको सम्पत्ति हडपी घरबारविहीन बनाएको तर सरकार यस गम्भीर समस्याप्रति संवेदनशील नदेखिएकाले पीडित जनताको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आन्दोलित बनेको जनाएका छन् ।

संयुक्त विज्ञप्तिमा केही समययता मिटरब्याजीले सोझासीधा जनतामाथि हददर्जाको अत्याचार गरेका तथ्य–प्रमाणहरू सार्वजनिक भइरहेको, एक लाख ऋण दिएर ८५ लाखसम्म असुलेको, २० हजार ऋण दिई घरखेत नै हडपेर सर्वसाधारण जनता सडकमा पुगेको, जाली र झूट्टा तमसुक बनाई नापी, मालपोत, प्रशासन र केही दलाल राजनीतिकर्मीको मिलोमतोमा जनताको सम्पत्ति हत्याउने षड्यन्त्र जारी राखिएकाले पीडितहरूको यस न्यायपूर्ण आन्दोलनमा ऐक्यबद्धतासहित पूर्ण समर्थन रहेको जनाइएको छ ।

संयुक्त विज्ञप्ति जारी गर्नेहरूमा हरिश भट्ट (अध्यक्ष, युवा जनस्वयम्सेवक, नेपाल), विनोद थापा (अध्यक्ष, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ), मिलन राई (अध्यक्ष, अखिल क्रान्तिकारी), अन्जना तामाङ (अध्यक्ष, अखिल नेपाल महिला सङ्गठन), खेम थपलिया (संयोजक, अखिल नेपाल जनसांस्कृतिक महासङ्घ), हरि श्रेष्ठ (अध्यक्ष, अखिल नेपाल किसान महासङ्घ), कमल बुढा (संयोजक, क्रान्तिकारी पत्रकार सङ्गठन नेपाल), दर्शन नेपाली (संयोजक, राष्ट्रिय दलित मुक्ति मोर्चा नेपाल) र मीनराज गिरी (संयोजक, अखिल नेपाल भूमिहीन सुकुमबासी सङ्घ) रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।