0 COMMENTS

साउन ५, काठमाडौँ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयका पाँच नेताको छलफलले निरन्तरता पाएको छ । उनीहरुबीच एकता र नयाँ पार्टी गठनको विषयमा निरन्तर छलफल हुन थालेको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको (नेकपा) को सचिवालयमा तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सदस्य थिए । नेकपाको आन्तरिक कलह उत्कर्षमा पुग्दा यी नेता एक ठाउँमा थिए । बहुमत सदस्य विपक्षमा उभिँदा अर्का अध्यक्ष केपी शर्मा ओली अल्पमतमा परेका थिए ।

नेकपा विभाजन हुँदा प्रचण्ड र नारायणकाजी पुरानै पार्टी माओवादीमा फर्के । माधव र झलनाथले केही समयपछि एमालेबाट विद्रोह गर्दै नयाँ पार्टी गठन गरे । वामदेव भने लामो समय नेकपा एकता अभियान भन्दै बसेका थिए । पछिल्लो समय सोही अभियानलाई दलमा रुपान्तरण गरेका छन् ।

नेकपा विभाजनपछि बनेका कुनै पनि दलले अपेक्षाकृत सफलता प्राप्त गर्न सकेका छैनन् । एमाले, माओवादी, एकीकृत समाजवादी र नेकपा एकता अभियान सबैको अवस्था उस्तै छ ।

कमजोर हुँदै जाँदा यी दलले धेरै गुम्दै गएको बुझेका छन् । त्यसैले पछिल्लो समय वामपन्थी एकताको विषयले स्थान पाउन थालेको हो । एमाले बाहेकका शक्ति एक हुन तयार देखिन्छन् । अरु शक्तिलाई पनि सँगै लैजानुपर्ने विषयमा समेत छलफल चलेको छ । एमालेले यस विषयमा खासै प्रतिक्रया जनाएको छैन । तर, अध्यक्ष ओलीसँग फरक मत राख्ने नेताहरु भने वाम एकतामा चासो राख्छन् ।

तत्कालीन नेकपाको बहुमत सचिवालय सदस्यबीच मात्र छलफल सीमित छैन । एकता र नयाँ पार्टी निर्माणको छलफलले आकार ग्रहण गर्दै गएको देखिन्छ । तत्कालीन नेकपाबाट बनेका दल बाहेकका शक्तिलाई पनि एकताबद्ध गर्ने विषयले स्थान पाएको छ ।

‘जसपा’ सित कम्युनिष्ट पार्टी नभनेर समाजवादी शब्दसंग सम्बन्धित नाम राख्नुपर्ने विषयमा छलफल भएको छ । त्यो बाबुरामका लागि फेस सेभिङ र अरुका लागि सहज मानिएको छ । ‘समाजवादी केन्द्र’ निर्माणको विषयमा छलफल केन्द्रित छ ।

जसपामा अन्तरसंघर्ष चुलिएसँगै बाबुरामले प्रचण्डसँग छलफल प्रारम्भ गरेका थिए । यसबीचमा प्रचण्ड— बाबुरामबीच तीन चरणमा छलफल भएको छ । तीनै चरणको छलफलको निष्कर्ष समाजवादी केन्द्र बनाउन सकिन्छ भन्ने हो ।

मंगलबार पनि तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरु (प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ)बीच छलफल भएको छ । पाँच नेताबीच ओली प्रतिगमन परास्त गरेको भए पनि विभाजनपछि थप उपलब्धी प्राप्त हुन नसकेको विषयमा छलफल भएको थियो । थप एकताबिना आन्दोलन र उपलब्धीको रक्षा हुँदैन भन्नेमा उनीहरु एकमत देखिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।