0 COMMENTS

साउन २, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालको स्वाधीनता र सार्वभौमिकता खतरामा रहेको बताएका छन् । सोमबार काठमाडौँमा एक अनलाइन पत्रिकाको उद्घाटन गर्दै विप्लवले इतिहासमै पहिलो पटक नेपालको स्वाधीनता र सार्वभौमिकता खतरामा रहेको बताएका हुन् । साथै उनले सुगौली सन्धि र दिल्ली सम्झौताभन्दा पनि खतरनाक बनेर एमसीसी र एसपीपी नेपालमा आइलागेको दाबी गरेका छन् ।

नेपालमा राजनीतिक अस्थिरता दिन प्रतिदिन गहिरिँदै गएको उल्लेख गर्दै महासचिव विप्लवले संसद्‌वादी पार्टीहरू देशको नेतृत्व गर्न असफल बन्दै गइरहेको दाबी पनि गरे । उनले अहिले मन्त्री बन्ने रोलक्रम राणाकालको झैँ भाइभारदारहरू राखेर भइरहेको बताए । अहिलेका सरकारले पालोपालो मन्त्री हुने, कुम्ल्याउने, लुट्ने, खाने, देशको सम्पत्ति उडाउने र जनतालाई दुःख दिने जस्ता गतिविधिहरू मात्रै गरेको विप्लवले आरोप लगाए ।

विप्लवले अगाडि भने, ‘नेपालको स्वाधीनता र सार्वभौमिकता निकै खतरामा छ अहिले । इतिहासको कुनै पनि क्षणभन्दा आज नेपालको राष्ट्रिय स्वाधीनता जोखिममा छ । देशको भविष्यको बारेमा युवाहरूमा चिन्ता छाएको छ । देशको रक्षा हुन्छ कि हुँदैन ? देशको सावैभौमिकता बच्छ कि बच्दैन ? देशको स्वाधीनता बच्छ कि बच्दैन ? नेपालको सर्वाधिक बहस–चिन्ता यसमा छ । नेपालको राजनीतिक प्रणाली स्थिर बन्न सकेको छैन । हरेक वर्ष सरकार परिवर्तन भइरहेको छ । मन्त्रीहरू फेरिएका छन् । अहिले मन्त्री बन्न जङ्गबहादुर राणाको पालोको भन्दा पनि भद्दा रोलक्रम सुरु भएको छ । ६/६ महिनामा मन्त्री फेर्ने, तीन/तीन महिनामा मन्त्री फेर्ने, देशको ढुकुटी उडाउने, देशलाई बेरुजुमा लगाउने, देशलाई व्यापार घाटामा डुबाउने, देशको अर्थतन्त्रलाई तहसनहस पार्ने, खाने, पैसा लुकाउने, कुम्ल्याउने तर जनताप्रति कुनै पनि उत्तरदायी काम नगर्ने देखिएको छ ।’

महासचिव विप्लवले नेपालका संसदवादी पार्टीहरूलाई विदेशी साम्राज्यवादीका एजेन्टहरू भएको आरोप लगाए । उनले अहिलेको व्यवस्था वाशिङ्टन, दिल्ली, लन्डन र बर्लिनबाट तयार गरिएका योजनाहरूलाई लागू गर्ने दलालहरूको व्यवस्था भएको र यो व्यवस्थामा मुठीभरका मानिसले मोजमस्ती गरिरहेको बताए । महासचिव चन्दले एमसीसी नेपालीको दुःखबाट फाइदा उठाउने नीति भएको पनि दाबीसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।