असार १६, काठमाडौँ । फिफा विश्वकप फुटबलमा ब्राजिलले जापानलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ । खेलको इन्जुरी समयको पाँचौँ मिनेटमा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई रोमाञ्चक जित दिलाए । जापानको पेनाल्टी क्षेत्रमा ब्रुनो गिमारेसको पासमा मार्टिनेलीले गोल गरेका हुन् । यसअघि पहिलो हाफमा जापानले अग्रता लिएको थियो ।
ब्राजिलका डानिलोको कमजोर पासलाई काइशु सानोले नियन्त्रणमा लिँदै गोल गरेपछि टोलीलाई १–० को अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको १० मिनेटपछि काजिमिरोले हेडमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।
बराबरीपछि ब्राजिलले लगातार दबाब सिर्जना गरे पनि जापानका गोलरक्षक जियोन सुजुकीले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा कायम राखेका थिए । तर खेलको अन्तिम क्षणमा मार्टिनेलीले गोलमा परिणत गर्दै ब्राजिलको जित सुनिश्चित गरेका हुन् ।
यस जितसँगै ब्राजिलले अन्तिम १६ मा स्थान बनाएको छ । अब ब्राजिलले अन्तिम १६ मा नर्वे वा आइभोरी कोस्टमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै आज बिहान भएको अर्को खेलमा उपाधिका दाबेदार मानिएको जर्मनी र नेदरल्यान्ड्स विश्वकपबाट बाहिरिएको छ ।

यसैगरी, निर्धारित समयको पहिलो हाफको ४२औँ मिनेटमा जुलियो एन्सिसोले हेडमार्फत गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५३औँ मिनेटमा काइ हाभेट्र्जले गोल गर्दै जर्मनीलाई १–१ को बराबरीमा फर्काए ।
निर्धारित समय र अतिरिक्त समयसम्म दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी शुटआउटमा पाराग्वेले ऐतिहासिक जित हात पार्यो । पाराग्वे क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने जर्मनीको विश्वकप यात्रा अन्तिम ३२ चरणमै टुङ्गिएको छ ।
त्यसैगरी, निर्धारित र थप गरिएको समयको रोमाञ्चक खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउट (टाइब्रेकर) मा नेदरल्यान्ड्सलाई ३–२ ले स्तब्ध पार्दै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

मेक्सिकोको मोन्टेरे रंगशालामा मङ्गलबार भएको राउन्ड अफ ३२ को खेलमा मोरक्कोले डच टोलीको चुनौती पन्छाएको हो । टाइब्रेकरमा मोरक्कोका लागि इस्माइल सइबारीले बल जालीमा चुमेपछि मोरक्कन खेलाडी र समर्थक खुसीयालीमा झुमेका थिए । निर्णायक पेनाल्टी प्रहार गरेलगत्तै सइबारीले जर्सी फुकालेर जितको उत्सव मनाएका थिए ।
यसअघि खेलको ७२ औँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा मोरक्कोका इसा डियोपले हेडमार्फत बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।
जितसँगै मोरक्कोले अब आगामी शनिबार हुने अन्तिम १६ को खेलमा क्यानडाको सामना गर्नेछ भने उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्स प्रतियोगिताबाट बाहिरिएको छ ।
