जेठ १९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना रहेको छ । यसैगरी, आज राति देशको हिमाली भूभागमा साधारणतया, पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
यसैगरी कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
