0 COMMENTS

असार १०, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र जनसमाजवादी मञ्च नेपालबीच शुक्रबार पार्टी एकता भएको छ । काठमाडौँमा आज आयोजित पार्टी एकता घोषणा कार्यक्रममा संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेकपा (बहुमत) र मञ्चका नेताहरूले एकापसमा हात समातेर पार्टी एकता भएको घोषणा गरेका हुन् ।

नेकपा (बहुमत) का संयोजक एवम् कार्यक्रमका अध्यक्ष कञ्चनले पार्टी एकता घोषणा कार्यक्रममा सम्बोधन गर्दै न्यूनतम् कार्यक्रम जनवादी क्रान्तिको कार्यभारसहितको वैज्ञानिक समाजवाद, कार्यदिशा वैज्ञानिक समाजवादी क्रान्ति र राजनीतिक कार्यनीति स्वाधीन संयुक्त सरकार आजको आवश्यकता रहेको कुरामा सहमत हुँदै पार्टी एकता गरिएको बताए । उनले दलाल पुँजीवादी उत्पादन सम्बन्ध र त्यसले पारेको प्रभावले आन्दोलनमा फुट उत्पन्न हुने गरेको प्रस्ट पार्दै सही प्रकारको कार्यदिशा र कार्यक्रम नहुँदा यसअघि कम्युनिस्ट मात्र होइन, गैरकम्युनिस्टहरू पनि फुट्ने गरेको उदाहरण प्रस्तुत गरे । उनले भने, ‘यो क्रान्तिकारी एकता र ध्रुवीकरणको आरम्भ मात्र हो । आगामी दिनमा छरिएर रहेका क्रान्तिकारी शक्ति र जनतालाई पनि एक बनाउँछौँ र दलाल पुँजीवादी व्यवस्था अन्त्य गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्छौं ।’

कार्यक्रममा उपस्थित नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका कार्यालय सदस्यहरू, सचिवालय सदस्यहरू, आयोजक समितिका सदस्यहरू, जनसमाजवादी मञ्चका संयोजक एवम् सदस्यहरू र कार्यकर्ताहरूलाई स्वागत गर्दै नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले नेकपाको इतिहासमा २०१९ सालदेखि टुट, फुट, विभाजन र क्रान्तिकारी ध्रुवीकणको प्रक्रिया चलिरहेको इतिहास प्रस्तुत गरे । उनले विप्लवले एकीकृत जनक्रान्तिको कार्यदिशालाई सारसङ्ग्रहवादी बनाउँदै दलाल पुँजीवादी व्यवस्थाको चुनावमा जाने र संसदीय संशोधनवादी बन्ने आफ्नो योजनालाई पनि एकीकृत जनक्रान्ति भन्दै भ्रम छरेकाले उनीहरूलाई कारबाही गरी पार्टी पुनर्गठन गरेर क्रान्तिकारी ध्रुवीकरण र एकता प्रक्रिया आरम्भ गरिएको बताए । विप्लवहरू दर्शनमा संशोधनवादी बनेर द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद मात्र क्रान्तिको बाटो होइन भन्ने स्थानमा पुगेको र प्रकारान्तरले प्रचण्डले जस्तै भौतिकवाद र आदर्शवादको फ्युजन भन्दै माक्र्सवादविरोधी बन्दै गएपछि क्रान्तिकारीहरूले उनीहरूलाई पार्टीबाट निष्कासन गरी पार्टी पुनर्गठन गर्नुपरेको पनि प्रस्ट पारे । उनले भने, ‘हिजो प्रचण्डको भैँसीपूजालगायत वैचारिक पतनका विषयमा महापतन लेख्ने विप्लवको पतनका बारेमा अर्को महापतन लेख्नु आवश्यक छ । उनको संसदीय संशोधनवादी रुझान अर्को महापतन हो ।’

कोही बुढा भए, कसैले सूचना चुहाए भन्ने आरोप लगाउँदै विप्लवले आफ्नो आलोचना गर्ने १८ जना केन्द्रीय सदस्यलाई अकारण पार्टीबाट हटाएर मनोगतवाद लादेको भन्दै प्रवक्ता सुदर्शनले सङ्गठनमा निषेधात्मक अधिभूतवाद लाद्नुको परिणाम अधिकांश पार्टी नेताहरू पार्टी छोडेर अन्यत्र लाग्न विवश भएका उदाहरणहरू प्रस्तुत गरे । एनसेल र एमसीसीमा कारबाही गर्ने आदेश दिएपछि डराएर लुकेको र वास्तवमा बाहिर बाघजस्तो देखिए पनि विप्लव भित्रभित्रै स्यालजस्तो डरपोक रहेको यथार्थ पनि उनले सार्वजनिक गरे । कार्यकर्तालाई एनसेलका टावरमा विस्फोट गर्न आदेश दिने र पछि एनसेल र एमसीसीकै कारण आफूलाई हेग लग्न थालेको छ, गोन्जालो बनाउन र काउन्टर गरेर मार्न लागेको छ भन्दै डराएर विप्लव संसद्वादमा प्रवेश गरेको पनि उनले स्पष्ट पारे । उनले आफ्नो उमेरसमूहका नेताहरूतर्फ इङ्गित गर्दै र गम्भीर हुँदै भने, ‘अब हामीले आफ्नो जीवनको धेरै माया गर्नु हुँदैन । जनताको जीवनको धेरै आशा र माया गर्नुपर्छ । हामीले आफू बलिदान भएर पनि देश र जनताको रक्षा गर्नुपर्छ । विप्लवहरूजस्तो हामी आत्मसुरक्षावादी हुनु हुँदैन ।’

राष्ट्रियता, जनतन्त्र, जनजीविकाको रक्षा, भ्रष्टाचार र एनसेलविरोधी कारबाहीका क्रममा १२ जना योद्धाहरूको शरीर टुक्राटुक्रा भएको अवस्था चित्रण गर्दै प्रवक्ता सुदर्शनले भने, ‘पार्टीका कार्यकर्ताले एनसेलविरुद्ध आफ्नो शरीर टुक्राटुक्रा पारेर बलिदान गरे तर विप्लवहरूले त्यही एनसेलबाट पैसा लिएको कुरा आएको छ । एमसीसीमा पनि त्यस्तै खेल हुँदै गरेको सूचना आएको छ ।’ उनले विशाल पार्टी मात्र नभएर महान् सङ्घर्ष पनि उठाउने र वैज्ञानिक समाजवादी क्रान्ति पूरा गरेरै छोड्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनले भने, ‘अब फुटको शृङ्खला अन्त्य गरेर एकताको शृङ्खला अघि बढेको छ ।’

जनसमाजवादी पार्टीका संयोजक गम्भीरले नेकपा (बहुमत) का संयोजक कञ्चन र आफूले हस्ताक्षर गरेको संयुक्त विज्ञप्ति वाचन गरेका थिए । यसैगरी सोही कार्यक्रममा नेकपा (क्रान्तिकारी) का गणेश थापा मिलन, आशीष चौधरी, सफल राई, साजन, सरोज ओझा अठोट, वीरबहादुर तामाङ, राममाया बर्देबा, पार्वती बर्देवा नेहालगायत ६ जना नेकपा (बहुमत) मा प्रवेश गरेका थिए । नवप्रवेशीहरूलाई नेकपा (बहुमत) का नेताहरूले हात मिलाएर स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन बाबुराम गजमेरले गरेका थिए ।

कार्यक्रममा नेकपा (बहुमत) का कार्यालय सदस्यहरू, सल्लाहकार समितिका अध्यक्ष असारे काका, सचिव चित्रबहादुर आले पवनलगायत सदस्यहरू, पार्टी सचिवालय सदस्यहरू, महाधिवेशन आयोजक समितिका सदस्यहरू, विभिन्न जनवर्गीय सङ्गठनका पदाधिकारी र सदस्यहरू, पार्टीका कार्यकर्ता र शुभचिन्तकको उल्लेख्य सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।