0 COMMENTS

असार १०, काठमाडौँ । अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अस्वीकार गर्ने नेपाल सरकारको निर्णयलाई चीनले प्रशंसनीय भएको टिप्पणी गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा नेपालको एसपीपीमा नरहने निर्णयको प्रशंसा गरेका हुन् ।

‘रणनीतिक सहकार्यको साझेदार तथा नजिकको छिमेकी मित्रका हिसाबले चीन नेपाल सरकारको निर्णयको प्रशंसा गर्छ,’ प्रवक्ता वेनबीनले भनेका छन्, ‘नेपालको स्वतन्त्रता, स्वाधिनता, भौगोलिक अखण्डता र तटस्थ तथा असंलग्न परराष्ट्र नीतिमा अडिग रहने कुराका चीन सँधै समर्थन गर्नेछ । साथै क्षेत्रीय सुरक्षा, स्थायित्व र समृद्धिको रक्षाका लागि नेपालसँग मिलेर काम गर्नसमेत तत्पर छ ।’

पत्रकार सम्मेलनमा सञ्चारकर्मीले नेपालले एसपीपी अस्वीकार गरेको विषयमा प्रश्न गरेपछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले ‘एसपीपीको विषयमा नेपाल भएको विवादका विषय जानकारीमा रहेको’ बताएका थिए । ‘विभिन्न राजनीतिक दल र गुट, सरकार, सेना तथा आम नागरिकले एसपीपी सैन्य रणनीति इन्डो प्यासिफिक स्ट्राटेजीसँग जोडिएको र यो नेपालले लामो समयदेखि अंगिकार गर्दै आएको असंलग्न परराष्ट्र नीति विपरित हुने रूपमा बझेका छन् । त्यसैले नेपाल सरकारको मन्त्रिपरिषदले एसपीपीमा अगाडि नबढ्ने निर्णय गरेको छ ।’ नेपालले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गरेयता चीन लामो समयदेखि नेपालको विषयमा मौन रहँदै आएको थियो ।

एमसीसी अनुमोदनका विषयमा यहाँ बहस सुरु भएपछि चीनले अमेरिकाले सदनबाट पारित गर्न दबाव दिइरहेको भन्दै त्यसको विरोध समेत गरेको थियो । त्यसपछि मौन रहँदै आएको चीनका रक्षामन्त्रीले हेकी हप्ताअघि मात्रै अमेरिकाले इन्डो प्यासिफिकमार्फत चीनलाई घेर्ने रणनीति बनाइरहेको र त्यसले तनाव सिर्जना भइरहेको टिप्पणी गरेका थिए । उनले उक्त अभिव्यक्ति दिएकै समयमा नेपालमा एसपीपी सम्बन्धी विषय चर्चामा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।