चैत १, काठमाडौँ । सरकारले राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय भएको हो । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यको संख्या रिक्त छ । उक्त ठाउँमा अर्याललाई नियुक्त गर्न सिफारिस गरिएको हो ।
अर्याल काठमाडौँ महानगरपालिमा बालेन्द्र साह मेयर हुँदा कानुनी सल्लाहकार पनि थिए । कानुन व्यवसायी उनी वर्तमान अन्तरिम सरकार बनाउने काममा पनि लागेका थिए । यसअघि वर्तमान अर्थमन्त्री रामेश्वर खनाललाई राष्ट्रियसभामा लाने चर्चा थियो । तर प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन खेलेको भूमिकाका आधारमा ओमप्रकाशलाई माथिल्लो सदनमा पठाउने निर्णय गरेकी हुन् ।
यो मन्त्रिपरिषद्मा प्रधानमन्त्रीका भित्रिया विश्वासपात्र उनी नै थिए । बालेन र उनीनिकटहरूले एक समय हटाउने अभियान चलाउँदा पनि प्रधानमन्त्रीले ओमप्रकाशको बचाउ गरेकी थिइन् ।
