0 COMMENTS

फागुन १७, त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पाङ्गे्रका मतदातालाई १० किलोमिटर हिँडेर मतदानस्थल पुग्नुपर्ने बाध्यता रहेको छ । पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा जिल्लाको हुप्सेकोट गाउँपालिका–५ का स्थानीयलाई समस्या हुने गरेको छ ।

फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । तर नवलपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत पर्ने हुप्सेकोट गाउँपालिका–५ पाङ्गे्रका रोबहादुर रानालाई भने भोट हाल्न कसरी पुग्ने भन्ने चिन्ताले अहिले नै सताउन थालेको छ । जिल्लाको पहाडी क्षेत्रअन्तर्गत पर्ने यस वडामा रहेका दुईवटा मतदानस्थलमध्ये रुद्रपुरमा रहेको शिक्षा वोधनी आधारभूत विद्यालय पुग्न झण्डै १० किलोमिटरको यात्रा गर्नुपर्ने पाङ्गे्रका मतदाताको बाध्यता छ । यस मतदानस्थलमा मतदान गर्ने पाङ्गे्र र पाङ्गे्रघाटका मतदातालाई मतदानस्थल पुग्नै घण्टौँ समय लाग्ने गर्दछ । पहाडी क्षेत्र त्यसमा पनि दश किलोमिटर टाढाको मतदानस्थलमा मतदान गर्न जान निकै समस्या हुने गरेको यहाँका स्थानीयको गुनासो छ ।

पाङ्गे्र र पाङ्गे्रघाटका मतदाता पोखरी हुँदै करिब १० किलोमिटरको दूरीमा रहेको मतदानस्थलमा मतदान गर्न जानुपर्ने बाध्यता छ । मतदानको दिन सवारीसाधनसमेत नचल्ने र हिँडेरै पुग्नुपर्ने हुँदा यहाँका मतदातालाई मतदानका लागि बिहानै मतदानस्थल प्रस्थान गर्नुपर्ने बाध्यता छ । “धेरै टाढा मतदान केन्द्र छ, हिँडेर जाँदा पहाडी क्षेत्रको बाटो तीनचार घण्टा लाग्छ, सवारी चल्दैन, सबैलाई मतदानस्थलसम्म पुग्न धेरै समस्या छ”, स्थानीय रानाले भने ।

पहिले गाविसको चुनाव हुँदा पाङ्गे्रघाटमा भोट हाल्न सजिलो हुने गरेकामा पछि रुद्रपुर सारेपछि आफूहरूलाई समस्या भएको रानाले बताए । मतदानस्थल टाढा हुँदा धेरै हिँड्न नसक्नेहरू मतदान गर्नै नजाने अवस्था बन्ने गरेको उनले बताए । “मतदानस्थल नजिक हुने गरी मिलाए आफूहरूलाई सजिलो हुने थियो, अलि हिँड्न गाह्रो हुने त कसरी भोट हाल्न पुग्लान खै”, उनले भने ।

शिक्षा वोधनी आधारभूत विद्यालय रुद्रपुरमा रहेको मतदान केन्द्रमा वाकखोर, पोखरी, राम्चे, धौवादी, हर्दे, पाङ्गे्र , पाङ्गे्रघाट र धौलावसेनीका मतदाताले मतदान गर्छन् । पहाडी क्षेत्र भएकाले रुद्रपुरको मतदानस्थल सबैका लागि पायक पर्ने र छोटो दूरीको हुनसकेको छैन । हर्दे, राम्चे र धौवादीका मतदाताबाहेक सबैलाई यो मतदानस्थल अपायक हुने गरेको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानाले बताए ।

रुद्रपुरमा रहेको यस मतदानस्थलमा मतदान गर्ने मतदाताको सङ्ख्या ८४८ रहेको छ । जिल्लाको पहाडी क्षेत्रका मतदानस्थल प्रायः सबैका लागि सहज पहुँच हुनसकेको छैन । भौगोलिक विकटता भएका क्षेत्रमा मतदानको सङ्ख्याका आधारमा मतदान केन्द्र तय गरिँदा धेरैका लागि दूरीका हिसाबले मतदान केन्द्र टाढा पर्ने गरेको छ । नवलपुरमा ११४ मतदानस्थल र ३११ मतदान केन्द्र छन् ।

दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको नवलपुरमा कुल दुई लाख ६८ हजार ५२६ मतदाता रहेका छन् । जसअन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा पुरुष मतदाता ६५ हजार ९८२, महिला मतदाता ७१ हजार ९८ र अन्य एक गरी एक लाख ३७ हजार ८१ मतदाता छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ तर्फ पुरुष मतदाता ६३ हजार ७२, महिला मतदाता ६८ हजार ३७० र अन्य मतदाता तीन गरी एक लाख ३१ हजार ४४५ मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।