फागुन ६, काठमाडौँ । निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ। आयोगले सामाजिक सञ्जालमा गलत सूचना सम्प्रेषण नगर्न र नगराउन एव्म सहयोगी भूमिका निर्वाह गरिदिन पनि आम सञ्चारलगायतका सम्बन्धित पक्षसँग आग्रह गरेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरी सिर्जना गरिएका दिग्भ्रमित पार्ने सामग्री सामाजिक सञ्जालमा नराख्न र निर्वाचनलाई मर्यादित बनाउन आग्रह गरेका हुन्। उनले निर्वाचनको मत सर्वेक्षण गरी आएको नतिजा नतिजा सार्वजनिक गर्ने काम नगर्न समेत सञ्चार माध्यमहरुलाई आग्रह गरेका छन्। ‘‘हालैका केही अभ्यासहरु, जसमा मतदान हुनुअघि नै मतदाताहरुको कुराकानीलाई आधार बनाएर हारजीतको अनुमान गर्ने वा मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने गरिएको छ’, उनले भनेका छन्, ‘त्यसप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ।”
