प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वास गरिन्छ । यो दिवस अहिले विश्वभर चर्चित रहेको छ । भ्यालेन्टाइन डे को शुरूआत सन् २६९ मा इटालीको रोमनबाट प्रारम्भ भएको मानिन्छ । प्रेमका लागि भ्यालेन्टाइनको बलिदानको सम्मानमा भ्यालेन्टाइन डे का रूपमा मनाउन थालिएको हो ।
भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन दिवस मनाउने गरिएको छ । तेस्रो शताब्दीमा रोममा एक क्लोडियस नामक शासक थिए । उनले भन्ने गर्दथे ‘जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ ।’ त्यसैले ‘आजदेखि कुनै पनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन ।’ उनले आफ्नो राज्यमा उद्घोष गरिदिए, तर भ्यालेन्टाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन । उनले फरमानको विरोध मात्रै गरेनन् सन्त भ्यालेन्टाइनले सयौँ अधिकारी र सैनिकको विवाहसमेत गराइदिए ।
भ्यालेन्टाइनको यस्तो क्रियाकलापबाट क्लोडियस क्रोधित भएर सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेनटाइनलाई फाँसी दिने निर्णय गरे । फाँसीको आदेश सुनेर सन्त भ्यालेन्टाइनले जेलरकी दृष्टिविहीन छोरीको नाममा एक प्रेम पत्र लेखे । र त्यसको मुनी लेखे, ‘फ्रम योर भ्यालेन्टाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईंकी आफ्नी दृष्टिबिहीन छोरीलाई दिनू।’ यहि दिनलाई भ्यालेनटाइनको समर्पणमा मानिसले प्रणय दिवस मनाउन सुरु गरे ।