0 COMMENTS

असार २, काठमाडौँ । नेपालमा पहिलो पटक मंकीपक्सको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएको शङ्कास्पद बिरामी भेटिएका छन् । काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको हो ।

दुबईबाट हालै नेपाल आएका २८ वर्षीय पुरुषमा परीक्षण गराउँदा मंकीपक्सको जस्तैलक्षण देखिएको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । त्रिभुवन विमानस्थलस्थित हेल्थ डेस्कले उनको परीक्षण गराउँदा मंकीपक्सको शङ्कास्पद लक्षण देखिएपछि काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लगिएको डा. पुनले बताए । ती युवकको टेकु अस्पतलमा उपचार भइरहेको छ । संक्रमण पुष्टि गर्नको लागि उनको स्वाबको नमुना राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला लगिएको छ ।

चिकित्सकका अनुसार संक्रमण भएको ५ देखि २१ दिनसम्ममा मंकीपक्सको लक्षण देखिने गर्छ । ज्वरो आउनु, टाउको र जिउ दुख्नु, जाडो लाग्नु, लिम्फ ग्रन्थीहरु सुन्निनु यसका प्रारम्भिक लक्षणहरु हुन् । यी लक्षण देखिएको १ देखि ३ दिनसम्ममा अनुहार तथा शरीरका अन्य भागमा बिबिराहरु देखिन थाल्छन् र ती चिलाउँछन् । पछि पानी फोका हुँदै, फुट्दै, सुक्दै जान्छन्, तर दाग बसिरहन सक्छ । ‘मंकीपक्स’ सामान्यतय २ देखि ४ हप्तामा आफैँ निको हुने गर्दछ । तर झन्डै दश संक्रमित मध्य एकको भने जटिलताको कारणले मृत्यु हुने देखिएको संक्रामक रोग विशेषज्ञहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।