0 COMMENTS

असार १, काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको यो बोली सुनौँ – ‘एउटा चौतारो, एउटा सार्वजनिक भवनमा नेता बोलाएर राख्छन् र छरछिमेकीलाई आमन्त्रण गर्न जान्छन्, आउनु न एकछिन फल्नो चौतारोमा, फल्नो सामुदायिक भवनमा हाम्रो नेता आउँदै हुनुहुन्छ भन्दाखेरि मान्छेले आजकाल मेरो नाम भनौं कि अरु नेताको नाम भनौं, नभनौं कुन नेता आएछ भनेर नेताको नाम सम्झीदैंन, कुन चाँहि चोर आएछ त्यहाँ भनेर भन्दछ । ’

नेपाली काँग्रेसको चौधौं महाधिवेशनमा राप्रपा अध्यक्ष लिङ्देनको वास्तविक बोलीलाई ओलीले यसरी उडाएका थिए – ‘नागरिकबाट कोही नेता उत्पन्न हुन सक्दैनन्, हरेक नेता चोर हुन्छन्, यस्ता कुरा बोकेर हिड्ने, हुन त भर्खर भर्खर अध्यक्षमा छानिएका रापताप होला साथीहरुलाई । त्यस रापतापमा अलिकति भर्खर भर्खरको बाच्छो हिंड्न जान्दैन अल्लि बढि कुद्छ क्या ।’ ओलीको यो बोली अहिले उनलाई नै भारी परेको छ । ओलीका उम्मेदवारलाई दमकमा हिंड्न नजान्ने बाच्छोका उम्मेदवार राम थापाले पराजित गरिदिएका छन् । आफूले जस्तो देशमा कसैले काम गर्न नसकेको र गर्न पनि नसक्ने दावी गर्दै आएका ओलीलाई उनकै गृहनगर दमकमा धक्का लागेको छ । देशभर ७० प्रतिशत भन्दा बढि पालिका जित्ने दावी गरेका ओलीले आफ्नै गृहनगर जिताउन भने सकेनन् । ओलीले आफूले मतदान गरेको वडामा पनि जिताउन सफल भएनन् । ओलीले भोट हालेको ठाउँ सूर्य विनायक वडा नंः २ मा काँग्रेसको प्यानल नै विजय भएको छ ।

प्रधानमन्त्री समेत भएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमालेलाई ‘क्लिन स्वीप’ गर्ने भन्दै पाँच दलीय सत्ता गठवन्धनलाई तल्लो तहसम्म कायम राख्न नेता, कार्यकर्तालाई निर्देशन दिएका थिए । काँग्रस र गठबन्धनलाई विजय गराउन भन्दै देशभर मत माग्दै हिंडेका देउवाले आफ्नै वडा अध्यक्षलाई जिताउन सकेनन् । काँग्रेस सभापति देउवाको वडामा नेपाली काँग्रेसलाई हराउँदै बिपी काँग्रेस विजयी भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्वाचन क्षेत्रमा पर्ने माडी नगरपालिकाको मेयरमा नेकपा एमालेकी ताराकुमारी काजी महर्जन निर्वाचित भएकी छन् । अर्थमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माको मुसीकोट ५ मा माओवादीले वडा सदस्यमा मात्र जितेको छ । नगरपालिकाको मेयरमा पनि नेपाली काँग्रेसका महेन्द्र केसीले नेकपा माओवादीका बसन्तकुमार शर्मालाई पराजित गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई पनि गृह जिल्लामा धक्का लागेको छ । ईलाम नगरपालिका १ मा जनताले झलनाथ खनाललाई विश्वास गरेनन् । यहाँ नेकपा एकीकृत समाजवादीका सदस्यका उम्मेदबारहरु पराजित भएका छन् । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिकामा माओवादी केन्द्रले जितेको छ । एमाले उपाध्यक्ष सुवाश नेम्बाङ्को गृहनगर ईलाम नगरपालिकामा पनि काँग्रेस विजयी भएको छ । अघिल्लो निर्वाचनमा एमालेले बहुसंख्यक वडा सहित मेयर र उपमेयर जितेको भए पनि यसपालिको निर्वाचनमा भने एमालेले नराम्रो हार ब्यहोरेको छ ।

माओवादी केन्द्रका नेता नारायणकाजी क्षेष्ठको गृह जिल्ला गोरखाको सिरान चोक गाउँपालिकामा ठूलो मतान्तरका साथ काँग्रेस उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीको गृहजिल्ला गुल्मी रुरु गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

७० करोडको भ्रष्टाचार अभियोगमा मन्त्री पदबाट राजिनामा दिएका गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेको मण्डल देउपुर नगरपालिकामा नेकपा एकीकृत समाजवादीले जितेको छ । संघीय निर्वाचनमा ७० हजार मत ल्याएर विजयी हुन्छु भन्ने बास्कोटाले आफ्नै गृहपालिकामा जिताउन सकेका छैनन् । स्याङ्जा क्षेत्र नं. २ कि प्रतिनीधि सभा सदस्य तथा पूर्वमन्त्री समेत रहेकी नेकपा एमालेकी सचिव पद्मा अर्यालका पति पद्मापति पौडेल वडा सदस्यमा नै पराजित भएका छन् । स्याङ्गजाको वालिङ नगरपालिका – १ मा पौडेल एमालेको खुल्ला सदस्यको उम्मेदवार थिए । उनलाई काँग्रेसका संभव अर्यालले पराजित गरेका छन् । वालिङको १ नं. वडामा काँग्रेसको प्यानल नै विजयी भएको छ । पद्मा अर्यालको माईतीघर वालिङ–१४ मा पनि काँग्रेसको प्यानल नै विजयी बनेको छ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र नं. रहेको बुढानिलकण्ठ नगरपालिकामा बहुमत सहित नेकपा एमालेले जितेको छ ।

धनगढी र धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारहरु क्रमशः गोपाल हमाल र हर्क साम्पाङ विजयी भएका छन् । विगतदेखि नै एमाले र काँग्रेसको पकड क्षेत्र मानिदै आएको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि देखिएका छन् । आफ्नो पार्टी नै सबैभन्दा राम्रो र आफ्नो पार्टीले मात्र सबैभन्दा राम्रो काम गर्ने भन्दै दशकौंदेखि जनतालाई झुक्काउँदै आएका नेताहरुलाई यसपालीको निर्वाचनमा वडाबासीले वडाबाटै सबक सिकाएका छन् । अझै पनि दल, नेताहरुले जनतालाई ढाँट्ने र छल्ने मात्र काम गरे जनताले आगामी दिनमा नेताहरुको विकल्प खोज्ने प्रष्ट देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।