असार १, काठमाडौँ । आफ्नो विचार र मागहरू बोकेर एउटा एक्लो मान्छे विगत १० वर्षदेखि धरानका गल्लीगल्लीमा, टोलटोलमा एक्लै कालो झोला र पानीको बोतल बोकेर भौतारिरह्यो । उसले आफ्नो आवाजहरू धरानका आकाश र माटोले सुन्ने गरी दोहोर्याइरह्यो । धरान नगरका समस्याहरूलाई उठाईरह्याै, कुटाई खाईरह्यो, जेल गईरह्यो तर ऊ थाकेन । निर्वाचनका बेला अरु दलका लावालस्कर हुन्थे । सोमरस र रक्सीमा रमाईरहेका हुन्थे । तर यि व्यक्ति एउटा टेम्पोमा एउटा माइक र साउण्ड बक्स बोकेर धरानका गाउँबस्तीमा त्यहाँका जल्दा बल्दा समस्याबारे जनतालाई जगाउँदै हिंडिरहेका हुन्थे । उनले आफ्नो पर्चा आफैँ लेखे आफैँ बाँडे । आफ्नो अभियानको गित आफैँ लेख, आफैँ गाए । उनका कुरा सुन्न कोही भेला नभएता पनि उनले त्यसलाई खासै वास्ता गरेनन् । अरुले उनको जती खिल्ली उडाए पनि उनलाई केही फरक परेन । अन्तिममा धराने जनताले एक्लो योद्धालाई यस्तो सरप्राइज दिए जो आज हिलोमा फुलेको कमल जस्तै फक्रन पुगे ।
धरानमा खानेपानीको ठूलो हाहाकार छ । यत्तीबेला धरानमा खानेपानीको माग दैनिक ४ करोड लिटर छ भने पूर्ति जम्मा १ करोड २० लाख लिटर रहेको छ । धरानको खानेपानीको यो अभावलाई समाधान गर्न धरान उपमहानगरपालिकाले एशीयाली बैंक एडीबीको १ अर्ब ७७ करोड ऋण अनुदानमा सन् २०१५ मा खानेपानी आयोजनाको काम गरेको थियो । यो आयोजना र धरान उपमहानगरपालिकाबीच भएको सम्झौतामा प्रतिदिन १ करोड ५२ लाख २३ हजार लिटर उत्पादन गर्ने भनेर उल्लेख भएको थियो । तर यो आयोजना सम्पन्न भएर हस्तान्तरण भईसक्दा पनि धरानको खानेपानीको समस्या पहिलाको जस्तै छ । अहिले यो आयोजना पूर्णरुपमा असफल भएको आशंका छ । सम्झौतामा उल्लेख भएको भन्दा आधा पनि पानी उत्पादन हुन नसकेको स्थानीयको आरोप छ । एडीबीको शर्त अनुसार धरानको खानेपानी व्यवस्थापनको जिम्मा सरकारद्धारा संचालित खानेपानी संस्थानबाट खोसेर खानेपानी बोर्डमा पनि सारियो । जसले खानेपानीको महसुल दोब्बर बनायो र खानेपानीको आपूर्तिमा भने कुनै सुधार आएन । नोबेल पुरस्कार बिजेता बंगाली कवि रबिन्द्रनाथ टौगोरको एउटा चर्चित कविता छ :–‘Ekla chalo re’ जसको पहिलो हरफमै भनिएको छ :– ‘यदि तिम्रो आवाज सुनिएन भने एक्लै हिंड ।’ धरानका हरेक समस्याहरूमा प्रश्न गर्ने तर जवाफ नपाउने एउटा यात्री यसै गरी कबितामा भने झैँ एक्लै हिंडे उनी हुन् हर्क साम्पाङ । धरानमा खानेपानी राजनीतिको मूल मद्दा हो । यो मुद्दालाई यहाँका राजनीतिक दलहरूले आफ्नो दुनो सोझाउन प्रयोग गर्ने गर्दछन् । तर सत्तामा पुग्ने बित्तिकै यो मुद्दा उनीहरूको प्राथमिकताको विषय रहँदैन बरु धरानका प्राय सबै ठूला राजनीतिक दल हरू, जनप्रतिनिधि र एडिबिको खानेपानी परियोजनाका कर्मचारीहरूको लागि यो परियोजना दुहुनो गाई बनेको छ । जसको विरुद्ध एक व्यक्तिले आवाज उठाए तर त्यो आवज सुनुवाई भएन । यसैले हर्क साम्पाङ त्यहाँ भएको वेथिति र परियोजनाको असफलताको बारेमा सुरुदेखि नै भण्डाफोर गर्दै आएका थिए, उनको आन्दोलन निरन्तर जारी रह्यो । जब एडिबिको खानेपानी परियोजना असफल भयो । उनिहरू जसरी पनि यो परियोजनालाई हस्तान्तरण गर्न लागि परे । त्यस बेला धरानको खानेपानीको एउटा मुहान रहेको ‘सर्दु’ खोलाबाट आफ्नो प्लान्टतर्फ अनाधिकृत रुपमा लगेको पाईपलाई साम्पाङले खुस्काई दिए । त्यस पछि साम्पाङलाई प्रहरीले गिरफ्तार गरी पटक पटक म्याद थप्दै थुनामा राख्यो । धरानको खानेपानीको समस्यालाई लिएर उनि काठमाडौंमा सम्बन्धित मन्त्रीलाई समेत भेट्न गए । मन्त्रीले भेट दिन समेत जरुरी ठानेनन् तर आफ्नो उद्धेश्यमा अडिग साम्पाङले असफल भए पनि आन्दोलन जारी राखे । त्यस्तै हर्कले सर्दु खोलाबाट बालुवा, गिटिको अत्याधिक दोहन रोक्न निगरानी गर्न खोजे । नियम अनुसार चार फिट मात्र खोलाको सतह खन्न अधिकार प्राप्त भएकोमा १५ देखि २० फिट सम्म खनेको पाएपछि त्यसलाई रोक्न खोज्दा गिटि, बालुवा व्यवसायीहरूले उनी र उनका समुहमाथि आव्रmमण गर्यो उनको टाउको समेत फुटाइयो । घटनास्थलमा पुगेको प्रहरीले समेत ति तस्करहरूको पक्षमा लाग्दै उल्टै हर्कको समुहलाई गिरफ्तार गर्यो ।
हर्क साम्पाङ एमसिसि विरुद्धको आन्दोलनमा पनि सुरुदेखि नै सरिक थिए । उनलो आफ्ना सीमित सहयोगीहरूको साथमा एमसिसि विरुद्धको आन्दोलन जारी राखे । नियमित जस्तै जनताको चेतना जगाउन उनले राष्ट्रिय झण्डा बोकेर एमसिसि विरुद्ध धरानको मुख्य केन्द्र भानु चोकमा कोणसभा गरिरहे । अरु राजनीतिक पार्टिहरूले आफ्नो स्वार्थ अनुसार एमसिसिप्रतिको अडान फेरे तर हर्क आफ्नो अडानमा अलिकति पनि विचलित बनेनन् ।
धरानमा रहेको वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको विकृति र विसंगति विरुद्धको हर्कको अभियान निरन्तर जारी रह्यो । उनले सो प्रतिष्ठानको उपकुलपति विरुद्ध मात्र धर्ना जुलुस गरेनन् बरु सो प्रतिष्ठानको समग्र सुधारको लागि आन्दोलन गरे । उनको आन्दोलन अरु पार्टीको भन्दा के अर्थमा पनि फरक थियो भने अरु पार्टीले सो संस्थानमा आफ्नो पार्टीका समर्थक उपकुलपति नियुक्त गराउने वा त्यसलाई हटाउने लक्ष्यका साथ काम गर्दथे भने हर्कले धराने जनताले सहज रुपमा सुविधा पाउनुपर्ने माग राखे ।
आफ्नो विचार र मागहरू बोकेर एउटा एक्लो मान्छे विगत १० वर्ष देखि धरानका गल्लीगल्लीमा, टोलटोलमा एक्लै कालो झोला र पानीको बोतल बोकेर भौतारिरह्यो । उसले आफ्नो आवाजहरू धरानका आकाश र माटोले सुन्ने गरी दोहोर्याईरह्यो, धरान नगरका समस्याहरूलाई उठाईरह्यो, कुटाई खाईरह्यो, जेल गईरह्यो तर ऊ थाकेन । निर्वाचनका बेला अरु दलका लावालस्कर हुन्थे । सोमरस र रक्सीमा रमाईरहेका हुन्थे । तर यि व्यक्ति एउटा टेम्पोमा एउटा माइक र साउण्ड बक्स बोकेर धरानका गाउँबस्तीमा त्यहाँका जल्दा बल्दा समस्याबारे जनतालाई जगाउँदै हिंडिरहेका हुन्थे । उनले आफ्नो पर्चा आफैँ लेखे, आफैं बाँडे । आफ्नो अभियानको गीत आफैँ लेखे आफैँ गाए । उनका कुरा सुन्न कोही भेला नभएता पनि उनले त्यसलाई खासै वास्ता गरेनन् । अरुले उनको जति खिल्ली उडाए पनि उनलाई केही फरक परेन ।
हर्क २०७६ सालको उपनिर्वाचनमा धरानको मेयर चुनावमा उठेका थिए जसमा उनले जम्मा ४२२ मत पाए तर यसले हर्कलाई हतोत्साही बनाएन । उनी आफ्नो अभियानमा लागी रहे । त्यसको तीन वर्षपछि २०७९ मा फेरि अर्को स्थानिय निर्वाचन आयो त्यसमा पनि हर्क उही चिरपरिचित शैलिमा आफ्नो अभियान गर्न थाले । राजनीतिक दलका उम्मेदवारहरूले तडकभडकसहित सभा र र्याली गरे । उनीहरूले रक्सीको खोलो बगाए, मासु र भात महिनाैँसम्म बाँडे र गाडी र मोटरसाईकलमा पेट्रोल भरे तर हर्कको र्याली र सभा भएन । उनी मेयरमा उम्मेदवारी दिएको खबर पुर्याउन एक्लै धरानका चोक, गल्ली र घरका ढोकाढोकामा पुगे । आफ्नै हातले आफ्नो पर्चा बाँडे । नगरको सेवक बन्ने वाचा गरे । नेपालको राष्ट्रिय झण्डा ओडेर धरानका घरघरमा डुल्दै पर्चा, पम्पेलेट वितरण गरिरहेको भेटिन्थे । उनीसँग न ठूलाठूला आमसभा गर्ने स्रोत साधन थिए न त क्षमता नै ।
धेरैले उनको यो कार्यशैलीको मजाक उडाइरहेका थिए । उनै हर्क साम्पाङले नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक वाम गठबन्धन र नेकपा एमालेलाई सहज रुपमा पराजित गर्दै धरान उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित भएका छन् । यो कुनै मामूली उपलब्धी होइन । धरानको निर्वाचन मूलतः खानेपानीको मुद्धालाई लिएर लडिएको थियो । यसमा धरानका आम नागरिकको जित भएका छ तर यो जित पूर्ण छैन । हर्क साम्पाङले जुन सपना बोकेका छन् त्यो सहज छ्रैन । हुन त हर्क साम्पाङले जुन सफलता हासिल गरेका छन् असंभव जस्तै थियो । भोलीका दिनमा, आज असंभव जस्तै लाग्ने उनका सपना र योजनाहरू यसरी नै साकार बनुन् हार्दिक शुभकामना धरानका एक्ला यात्री हर्क साम्पाङलाई ।