मङ्सिर ६, काठमाडौँ । सुशिला कार्की नेतृत्वको वर्तमान साम्राज्यवादी तथा विस्तारवादीहरुको कठ्पुलती सरकारलाई अपदस्त गरी साम्राज्यवाद र विस्तारवादविरोधी सच्चा देशभक्त, प्रगतिशील तथा क्रान्तिकारी शक्तिहरुको नेतृत्वमा संयुक्त स्वाधीन सरकारको गठन गर्न सार्वजनिक आव्हान र अपिल गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाले मंसिर ७ गते देशव्यापी रुपमा भण्डाफोर जनसभाको आयोजना गरिएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले मंसिर ७ गते महेन्द्रनगर, धनगढी सुर्खेत, घोराही, बुटवल, बागलुङबजार, पोखरा, भरतपुर, विदुर, काठमाडौं, धुलिखेल, विरगञ्ज, धनुषा, गाईघाट, धरान र विराटनगरमा जनसभाहरुको आयोजना गरेको हो । जनसभालाई पार्टी महासचिवसहित स्थायी समिति सदस्यहरु र पोलिटब्यूरो सदस्यहरुले वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको हेडक्वार्टर स्रोतका अनुसार मंसिर महिनाभरि भ्रष्टाचारी र दलालहरुको भण्डाफोर गर्ने कार्यक्रम बनाइएको छ । वर्तमान कठ्पुतली सरकारलाई हटाएर संयुक्त स्वाधीन सरकारको गठन गर्द आव्हान तथा अपिल गर्दै सो पार्टीको केन्द्रीय कार्यालयले जारी गरेको अपिलमा भनिएको छ, “साम्राज्यवाद र विस्तारवाद विरोधी सबै राजनीतिक दल, संगठन, समूह तथा व्यक्ति–व्यक्तित्वहरुको राष्ट्रिय राजनीतिक सम्मेलन, वर्तमान कठपुतली सरकारको विघटन र उक्त सम्मेलनद्वारा गठित स्वाधीन संयुक्त सरकार आजको तत्कालीन राजनीतिक निकास हो । यसप्रकारको सरकारले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, जनजीविका तथा जनवादका समस्या हल गरी अग्रगमनको बाटो खोल्ने छ । यसका लागि जुन हदसम्म नीतिहरु मिल्न सक्छन्, त्यो हदसम्म विभिन्न पार्टी, संगठन, समूह तथा व्यक्तिहरुका बीचमा संयुक्त मोर्चा बनाएर तलसम्म जनतालाई आन्दोलित बनाउनु आजको आवश्यकता हो । त्यसैले हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले संयुक्त आन्दोलन अगाडि बढाउन चाहन्छ । यसै सिलसिलामा पार्टीले साम्राज्यवाद, विस्तारवाद, प्रतिगमन, यथास्थितिवाद र भ्रष्टाचारका विरोधमा यही कार्तिक २३ गतेको पत्रकार सम्मेलनदेखि मंसिरसम्म चरणबद्ध कार्यक्रम गर्न गइरहेको छ । यस अभियानमा सहभागी हुन र यसलाई विविध प्रकारले सहयोग गर्न हामी सम्पूर्ण देशभक्त वामपन्थी तथा जनवादी शक्तिहरु तथा मजदुर, किसान, व्यापारी, युवा, विद्यार्थी लगायत सबै तह र तप्काका जनतालाई हार्दिक अपील गर्दछौं ।”
सो अपिलमा भनिएको छ, “ष्टाचारका विरुद्धको संघर्ष हाम्रो पार्टीको एजेण्डा हो । आषाढ ५ गतेदेखि हाम्रो पार्टीले “भ्रष्टाचार विरुद्धको अभियान” शुुरु गरेको थियो । जेनजीले भ्रष्टाचारको अन्त्य गर्ने र सामाजिक संजाल माथिको प्रतिबन्ध फुकुवा गर्ने माग राखी चलाएको आन्दोलनप्रति हाम्रो समर्थन रहेको थियो । तर जेनजीको नाममा साम्राज्यवादका दलालहरुले गरेको विध्वंशप्रति हाम्रो पार्टी विरोध गर्दछ । जेनजीको नाममा साम्राज्यवादका एजेण्टहरु सरकारमा पुगेका छन् । यसरी पहिलेको तुलनामा आज राष्ट्रिय स्वाधीनता माथिको खतरा कैयौं गुना बढेको छ । उनीहरु निर्वाचन सम्पन्न गर्ने नाममा सबैतिर आप्mनो पकड बलियो बनाउँदैछन् । राजदुतहरुलाई फिर्ता गर्ने, कैयौं कर्मचारीहरुको सरुवा गर्ने, नयाँ कानून बनाउने, सन्धि संझौता गर्ने तथा स्वेच्छाचारी ढंगले शासन चलाउने कामले त्यही संकेत गर्दछ । यो सबै इण्डो अमेरिकनहरुकोे देशलाई रणमैदान बनाउने दाउ हो ।
निर्वाचनको जाल फ्याँकेर जनतालाई अल्मल्याउन र आफ्नो पकडलाई क्रमिक रुपमा बलियो बनाउन कठपुतली शासकहरुले आफ्नो संजाललाई सुदृढ बनाउँदै छन् । सुशिला कार्की नेतृत्वको कठपुतली सरकारले जेनजीले उठाएका भ्रष्टाचारीहरुमाथि छानबीन तथा कार्वाही, भाद्र २३ र २४ गतेका अपराधीहरु माथि कार्वाही र अवैध सम्पत्तिमाथिको छानवीन जस्ता माग पुरा नगरी स्वयं जेनजीहरुबीच फुट पार्ने र जेनजीका नाममा आइएनजीओका अपराधी हिस्सालाई सरकारमा स्थापित गर्ने काम गर्दैआएको छ । यसरी आज देशको मूल समस्या साम्राज्यवादको निर्देशनमा प्रतिगमन र यथास्थितिवाद बन्न पुगेको छ । राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षाको हाम्रो अभियानमा यी देशीविदेशी तत्वहरु बाधा बनेर उभिएका छन् । देशको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता आज अत्यन्त कमजोर हुन गएको छ । साम्राज्यवाद र तिनका दलालहरुबाट मुक्त नहुँदासम्म देशले यसप्रकारको राष्ट्रिय संकट, अस्थिरता र अराजकताबाट मुक्ति पाउन सक्दैन । यी यावत समस्याको समाधान निर्वाचनले गर्दैन । यस तथ्यलाई यसभन्दा पहिलेका निर्वाचनहरुले पुष्टि गरिसकेका छन् । यी समस्याबाट सधैका लागि मुक्त हुन राष्ट्रिय जनप्रतिरोध आन्दोलन चलाउन आवश्यक पर्ने हुन्छ ।
