0 COMMENTS

कात्तिक १९, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीसहितका ९ वटा पार्टीहरूबीच आज (बुधबार) एकता घोषणा हुँदैछ छ । माओवादी केन्द्रका नेता अग्नि सापकोटाले एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबीच काठमाडौँको भृकुटीमण्डपमा आज दिउँसाे १ बजे एकता घोषणा हुने बताए । 

माओवादी केन्द्र, एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्कीको नेकपा समाजवादी, सुभाषराज काफ्लेको जनसमाजवादी, चिरण पुनको नेकपा, कर्णजीत बुढाथोकीको माओवादी समाजवादी, प्रेमबहादुर सिंहको नेकपा साम्यवादी र गोपाल किरातीको माओवादी कम्युनिस्ट पार्टी नेपालबीच एकता हुन लागेको हो ।

एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने बताइएको छ । पार्टीको चुनाव चिह्न पाँच कुने तारा राख्ने दलहरूबीच सहमति भएको छ । यसअघि हिजो (बिहीबार) नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको थियो । यद्यपि यो एकताको विरोध गर्दै माओवादी केन्द्रका नेता जनार्दन शर्मा समूहले छुट्टै अभियान घोषणा गरिसकेका छन् । उता एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत पनि एकता प्रक्रियामा सामेल नहुने भएका छन् । 

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने एमालेका पूर्वउपाध्यक्ष डा भीम रावलसहित दुवै पार्टीमा असन्तुष्ट रहेका नेतालाई पनि एकता प्रक्रियामा ल्याउने प्रयास भइरहेको दाबी गर्दै आएका छन् । 

कार्यक्रममा एकीकृत पार्टीको संयोजक र सहसंयोजक पनि घोषणा हुने बताइएको छ । जसमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।