कात्तिक २, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक शनिबार सम्पन्न भएको छ । बैठकले महासचिवबाट मोहन वैद्य ‘किरण’ ले दिएको राजिनामा स्वीकृत गर्दै रिक्त पदमा पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवलाई चयन गरेको छ ।
बैठकको सुरुमै महासचिव मोहन वैद्य ‘किरण’ ले आफ्नो स्वास्थ्य अवस्थाका कारणले दिएको राजिनामा वाचन गरेर सुनाइएको थियो । उनले केन्द्रीय समितिलाई सम्बोधन गर्नुपर्ने माग भएपछि भर्चुअल रुपमा सम्बोधन गरेका थिए । महासचिव पदबाट आफूले दिएको राजिनामा स्वीकृत गरिदिन उनले केन्द्रीय समितिलाई अनुरोध गरेका थिए । त्यसपछि केन्द्रीय समितिले उनको राजिनामा स्वीकृत गर्दै रिक्त महासचिवको पदमा कार्यवाहक महासचिव सीपी गजुरेललाई चयन गरेको हो ।
कार्यवाहक महासचिव गौरवको अध्यक्षता तथा स्थायी समिति सदस्य सुदर्शनको सञ्चालनमा असोज २९–कात्तिक १ मा सम्पन्न केन्द्रीय समितिको बैठकले महासचिव गौरवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन व्यापक रुपमा छलफल पश्चात आएका सुझाबहरु समेटेर प्रतिवेदनलाई समृद्ध तुल्याउने गरी सर्वसम्मत रुपमा पारित गरिएको थियो ।
बैठकले जेन-जी विद्रोहपछि बदलिदो परिस्थितिको ठोस विश्लेषण गर्दै देशभक्त, गणतन्त्रवादी, क्रान्तिकारी जनवादी तथा वामपन्थी शक्तिहरुका बीच संयुक्त मोर्चा निर्माण गरी स्वाधीन संयुक्त सरकारको पक्षमा व्यापक सङ्घर्ष उठाउन पहल गर्ने निर्णय गरेको छ । यसका साथै बैठकले लिएका महत्वपूर्ण निर्णयहरु चाँडै वक्तव्यमार्फत् सार्वजनिक गरिने महासचिव गौरवले जानकारी दिए ।
