कात्तिक १, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ उपत्यकाका विभिन्न पाँच क्षेत्रमा आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा शुक्रबार जारी आदेशमा शीतल निवास (राष्ट्रपति कार्यालय) महाराजगन्ज क्षेत्र, हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्र, नारायणहिटी दरबार संग्रहालय, सिंहदरबार क्षेत्र र प्रधानमन्त्री निवास बालुवाटारलाई निषेधित क्षेत्र उल्लेख गरिएको छ ।
आदेशमा पाँच जनाभन्दा बढी भेला नहुनसमेत भनिएको छ । विरोधका कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उच्छृङ्खल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम हुलदङ्गा वा अशान्ति हुनसक्ने आदेशमा उल्लेख छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ‘क’ बमोजिम राष्ट्रपति कार्यालय शीतल निवासलगायतका क्षेत्रहरुमा आजदेखि लागु हुने गरी दुई महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।


