0 COMMENTS

भदाै २७, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वन्यायाधीश सुशीला कार्कीलाई आज प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। कार्कीको शपथ ग्रहण पनि आज बिहानै गराउने तयारी रहेको शीतल निवास स्रोतले बताएको छ।

कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति पौडेलले बिहीबार दिनभर र मध्यरातसम्मै छलफल र परामर्श जारी राखेका थिए। उनले बिहीबार राजनीतिक दलका प्रमुख नेताहरू र संविधानविदहरूसँग अलग अलग छलफल गरे।

राष्ट्रपति पौडेलले संविधानविद पूर्णमान शाक्य, भिमार्जुन आचार्य, विपिन अधिकारी, चन्द्रकान्त ज्ञवाली, ललित बस्नेतलाई शितल निवासमा डाकेका थिए। संविधानविदहरूले संसद र संविधान भित्रैबाट नियुक्तिको बाटो खोज्नुपर्ने सुझाए। तर राष्ट्रपतिले अहिले राजनीतिक परिस्थितिका कारण त्यो सम्भव नभएको बताएका थिए।

जेन–जी समूहद्वारा प्रस्तावित प्रधानमन्त्री कार्कीले पनि बिहीबारै राष्ट्रपति पौडेल र प्रधानसेनापति सिग्देलसँग भेट र छलफल गरिन्। मध्यरातसम्म पनि तीन जनाबीच शितल निवासमा छलफल गरेका थिए।

कार्कीले राष्ट्रपति बाहेक कुनै पनि राजनीतिक दलका नेताहरूसँग म भेट्दिनँ भनेर उनीहरूसँग भेट्न वा छलफल गर्न नमानेको स्रोतले बताएको छ।

प्रदर्शनकारी तोडफोड, आगजनी र नेता कुटिपटमा उत्रिएपछि भदौ २४ गते बाध्य भएर प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि मुलुक अन्तरिम सरकार गठन प्रक्रियामा अघि बढेको हो।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाको संख्या बिहीबार बेलुकासम्म ३६ पुगिसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपचारका क्रममा बिहीबार थप २ घाइतेको मृत्यु भएपछि मृतकको संख्या ३६ पुगेको हो। आन्दोलनका क्रममा घाइते भएकामध्ये बिहीबारसम्म १ हजार ३३० जना डिस्चार्ज भइसकेका छन् भने हाल ३२२ जना विभिन्न अस्पतालमा उपचाररत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।