भदाै ५, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले चीन भारतबिचको लिपुलेक सहमतिलाई नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता तथा भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेपको संज्ञा दिँदै यस प्रकारको भारत र चीनको हेपाहा प्रवृत्तिको तीव्र विरोध एवम् भत्र्सना गरेको छ । र, यसका विरुद्ध जोडदार आवाज उठाउन र समस्या समाधानका लागि नेपाल सरकारलाई दबाब दिन सम्पूर्ण देशभक्त नेपालीहरुप्रति हार्दिक आव्हान गरेको छ ।
पार्टीका कार्यवाहक महासचिव गौरवले बुधबार जारी गरेको वक्तव्यमा भनिएको छ, “नेपालको अभिन्न भूभाग कालापानी र लिपुलेक हुँदै भारतबाट चीनको तिब्बतसम्म पुग्ने व्यापारमार्ग विस्तार गर्न हालै चीन र भारत सरकारले गरेको सहमतिप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाललाई पुरै वेवास्ता गरी नेपाली भूभागबाट व्यापारमार्ग खोल्ने भारत र चीनको यो निर्णय नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता तथा भौगोलिक अखण्डताप्रतिको ठाडो हस्तक्षेप हो । हाम्रो पार्टी भारत र चीन सरकारको यस प्रकारको हेपाहा प्रवृत्तिको तीव्र विरोध एवम् भत्र्सना गर्दछ । साथै, यसका विरुद्ध जोडदार आवाज उठाउन र समस्या समाधानका लागि नेपाल सरकारलाई दवाव दिन हाम्रो पार्टी सम्पूर्ण देशभक्त नेपालीप्रति हार्दिक आह्वान गर्दछ ।”