चैत २१, महोत्तरी । महोत्तरीसहित मधेसका जिल्लाहरूमा अहिले वासन्ती अर्थात चैती छठ पर्वको रौनक रहेको छ । बोलीचालीमा चैती छठ भनिने यो पर्वको तेस्रो र मुख्य दिन (षष्ठी तिथि) व्रतालुले निलाहार व्रत सुरु गरेका छन् । पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सखरको खीर प्रसादस्वरूप खाएपछि निलाहार व्रत प्रारम्भ भएको छ ।
आज साँझ नै व्रतालुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डालीहरू हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिन्छ ।
श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठ पर्वको अवसरमा मिथिलाका गाउँबस्ती भक्तिमय बनेका छन् । जलाशयमा बनाइएका घाटहरू अत्यन्त मनमोहक देखिएका छन् । व्रतालुले भोलि शुक्रबार सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यसपालिको वासन्ती छठ पर्व विधिवत् समापन हुनेछ । यसअघि गत मङ्गलबार चौथी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका व्रतालुले पञ्चमी तिथिका दिन बुधबार राति नुन नहालेर एकछाक मात्र खाएर ‘खरना’ विधि सम्पन्न गरिसकेका छन् ।
मधेसको प्राचीन मिथिला क्षेत्रमा वर्षको दुईपटक छठ मनाइन्छ । कात्तिक शुक्लपक्ष चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई शारदीय भनिन्छ । यसैगरी, चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई वासन्ती वा चैती छठ भनिन्छ । दुवै छठमा सूर्यदेव र षष्ठीदेवी (बोलीचालीमा छठीदेवी) को उपासना गरिन्छ । दुवै छठका व्रतविधान समान छन् । यो व्रतको प्रभावले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।
केही दशकअघि मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ पछिल्लो समय नेपालभर विस्तार भएको छ । सबैको साझा र मिथिला संस्कृतिको प्रतीक बनेको यो पर्वलाई लोकआस्थाको महापर्व पनि भनिन्छ ।