0 COMMENTS

फागुन १५, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई स्पष्टीकरण बुझाएका छन् । विगतमा दुई पटक सोधिएको स्पष्टीकरण चित्त नबुझेको भन्दै बुधबार तेस्रो पटक २४ घण्टाभित्र जवाफ माग्दै घिसिङलाई स्पष्टीकरण सोधिएको थियो ।

मन्त्री खड्काले विगतका स्पष्टीकरण वस्तुगत र चित्तबुझ्दो नभएको हुँदा कार्यकारी निर्देशकको पदबाट किन नहटाउने भन्दै घिसिङले त्यस पदमा रहँदा गरेका कामको विवरण २४ घण्टाभित्र पेस गर्न भनेका थिए । मन्त्रीको त्यही निर्देशनअनुसार कुलमानले जवाफ पेस गरेका हुन् ।

घिसिङले आफूलाई मन्त्रालयले स्पष्टिकरण माग्ने विषय नै अनाधिकारयुक्त र पूर्वाग्रह प्रेरित भएको भनेर जवाफ दिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय भन्दै उनलाई सोधिएको २४ घण्टे स्पष्टीकरणको जवाफ दिँदै घिसिङले स्पष्टीकरणको माग नै प्रक्रियागत रूपमा त्रुटीपूर्ण, अनाधिकारयुक्त एवम् पूर्वाग्रह प्रेरित रहेको जवाफ दिएका हुन् ।

कार्यकारी निर्देशक घिसिङलाई मन्त्रालयले उनीसँग विगतमा २ पटक माग गरिएका स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएको भन्दै पदबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेको थियो । त्यही पत्रको जवाफ दिँदै निर्देशक घिसिङले आफू नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ अनुसार नियुक्ति भएको भन्दै मन्त्तालयलाई हटाउने अधिकार नभएको बताएका छन् ।

निर्देशक घिसिङले आफूलाई सोधिएको स्पष्टीकरणको जवाफ के कारणले चित्तबुझ्दो भएन भन्ने विषयमा कुनै पुष्ट्याइँसमेत नगरिएको र आफूमाथि लगाइएको आरोप मनोगत भएको जवाफ मन्त्रालयलाई दिएका छन् ।

मन्त्रालयले के भनेको थियो ?

ऊर्जा मन्त्रालयले विगतका दुई स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नभएकोले तेस्रो स्पष्टीकरण सोधिएको जनाएको थियो । कुलमानलाई कुनै हालतमा हटाउने अडानमा रहेका ऊर्जामन्त्री खड्काले तेस्रो स्पष्टीकरण सोधेका थिए ।

‘तपाईंलाई माननीय मन्त्रीस्तरबाट निर्णय भई यस मन्त्रालयको प.सं. ०८१/०८२ च.नं. ४५२ मिति २०८१।०९।२२ को पत्रबाट स्पष्टीकरण माग गरिएको सम्बन्धमा तपाईंले प.सं. ०८१।०८२ च.नं. ७६१ मिति २०८१।०९।२८ मा पेस गर्नुभएको स्पष्टीकरण वस्तुगत र चित्तबुझ्दो नभएको हुँदा मन्त्रालय र तपाईंबीच मिति २०७८।१०।०५ मा भएको कार्यसम्पादन सम्झौताको व्यवस्था बमोजिम तथा नेपाल विद्युत् प्राधिकरण, कार्यकारी निर्देशकको सेवाको सर्त तथा सुविधासम्बन्धी विनियमावली २०६१ (संशोधनसहित) को विनियम २२ को खण्ड क बमोजिम नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट किन नहटाउने ?’, मन्त्रालयले भनेको थियो, ‘तपाईंले कार्यकारी निर्देशकको हैसियतले गरेका देहायका विषयमासमेत २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्नुहुन नेपाल सरकार (मन्त्रीस्तर) को मिति २०८१।११।१३ को निर्णयअनुसार जानकारी गराइन्छ ।’

कुलमान घिसिङलाई प्रबन्ध निर्देशकको पदबाट हटाउन यही सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लैजाने तयारी गरेका मन्त्री खड्का राज्यमन्त्री पूर्णबहादुर तामाङको आपत्तिका कारण पछि हटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।