फागुन ११, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) स्थगन गरेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद ज्ञापन गरेका छन् ।
महासचिव विप्लवले आइतबार विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशबाट स्थगन हुन पुगेको MCC कम्प्याक्टले नेपाली जनताको संघर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको भन्दै हार्दिक धन्यवाद ज्ञापन गरेका हुन् । साथै उनले एमसीसी कम्प्याक्टलाई सधैंको लागि खारेज गरी नेपाल र अमेरिका बीचको कुटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन र नेपालको विकासमा निःस्वार्थ योगदन गर्न नयाँ विकास परियोजनामार्फत सहयोग अगाडि बढाउन आग्रह समेत गरेका छन् ।
विज्ञप्तिमार्फत महासचिवले एमसीसी कम्प्याक्टको तयारी र त्यसको कार्यन्वयनको समयदेखि नेपाली जनताले एमसीसी कम्प्याक्ट देशको राष्ट्रिय स्वाधिनता र आफ्नो राजनीनिक स्वतन्त्रताको विरुद्धमा हुने ठहर गर्दै आएको महासचिव विप्लव बताउँछन् । एमसीसीबारे चर्चा सुरु भएकै दिनबाट अनवरत संघर्ष संचालन गर्दै आएको पनि स्मरण गरेका छन् ।
महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘गत जनवरीमा संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रुपमा पदभार समालेपछि डोनाल्ड ट्रम्पले विदेशमा गरिने सबै आर्थिक खर्च र सहायताको प्रभावकारिता एवम् निरन्तरताको विषयमा केन्द्रित भएर २० जनवरी २०२५ (७ माघ २०८१) मा वैदेशिक विकास सहायतालाई तीन महिना (९० दिन) का लागि स्थगन गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरे । हस्ताक्षर आदेश सम्बन्धित निकायबाट जारी भएपछि विश्वभर एक किसिमको हलचल र तरङ्ग पैदा भएको छ र नेपालमा पनि त्यसले जबर्जस्त प्रभाव परेको छ । डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले नेपालमा MCC कम्प्याक्ट पनि ९० दिनको लागि स्थगन भएको छ ।’
विप्लवले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘MCC कम्प्याक्टको तयारी र त्यसको कार्यन्वयनको समयदेखि नै आम नेपाली जनताले MCC कम्प्याक्ट देशको राष्ट्रिय स्वाधिनता र आफ्नो राजनीनिक स्वतन्त्रताको विरुद्धमा हुने ठहर गर्दै सुरुकै दिनबाट अनवरत संघर्ष संचालन गर्दै आइरहेका छन् । डोनाल्ड ट्रम्पको कार्यकारी आदेशबाट स्थगन हुन पुगेको MCC कम्प्याक्टले नेपाली जनताको संघर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको छ । यसका लागि हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।’
महासचिवले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘MCC कम्प्याक्ट हिन्द-प्रशान्त रणनीतिको अंग हो । MCC कम्प्याक्ट मार्फत देश र जनताले अकल्पनीय क्षति व्यहोर्नुपर्ने आम नेपाली जनताको जबर्जस्त मत रहँदै आएको छ । यसर्थ MCC कम्प्याक्टलाई सधैंको लागि खारेज गरी नेपाल र अमेरिका बीचको कुटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन र नेपालको विकासमा निःस्वार्थ योगदन गर्न नयाँ विकास परियोजनामार्फत सहयोग अगाडि बढाउन आग्रह गर्दछौं ।’