माघ २३, काठमाडौँ । साहारा चितवन सहकारी ठगी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ठगीको कसुरमा मात्रै मुद्दा चलाएको भन्दै जिल्ला न्यायाधिवक्तालाई सरुवा गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेललाई सरुवा गरिएको महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता (सहन्यायाधिवक्ता) सूर्यराज दाहालले बताए ।
साहारा बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न लामिछाने विरुद्ध ‘संगठित अपराध’ हटाएर ठगी सम्बन्धी कसुरमा मात्रै मागदावी लिएको आरोपमा उनी तानिएका हुन् । प्रवक्ता दाहालले आवश्यकता अनुसार सरुवा गरिएको बताए । उनले भने, ‘सरुवा गर्ने अधिकार महान्यायाधिवक्ताको कार्यालयको हो ।’ अभियोजनमा त्रुटी गरेको आरोपमा लुइँटेल विरुद्ध छानबिन सुरु गरिएको छ । नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालको नेतृत्वमा छानबिन समिति गठन गरिएको प्रवक्ता दाहालले बताए । उनले भने, ‘छानबिनको तथ्य अनुसार थप प्रक्रिया अघि बढ्छ ।’
चितवनमा उच्च सरकारी वकिलको कार्यालय बुटवलमा कार्यरत रवि न्यौपानेलाई पठाइएको छ । सामान्यतया दुई वर्षमा सरुवा गर्ने गरिएको भए पनि लुइँटेल डेढ वर्षमा तानिएका हुन् । उनी अघिल्लो वर्ष कार्तिक २० मा चितवनमा हाजिर भएका थिए ।