पुस २३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएकोछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसले गर्दा देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। आज विहान पश्चिम तराईका केही स्थानमा कुहिरो लागेको छ।
विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भागका केही स्थान तथा मधेस, लुम्बिनी तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थान तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने जनाएको छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
आगामी २४ घण्टामा गण्डकी, बागमती र कोशीका पहाडी भू-भागका केही स्थान तथा मधेस, लुम्बिनी तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थान तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।