पुस २२, काठमाडौँ । काठमाडौँको धुम्बाराहीस्थित दरबार ब्यांक्वेटमा चलिरहेको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा दोस्रो दिन आजबाट अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमाथि छलफल सुरु भएको छ । आइतबार अध्यक्ष प्रचण्डले पेश गरेको आगामी कार्यक्रम, कार्यविभाजनलगायतका विषयमा सहभागी नेताहरुले आआफ्ना धारणा राख्ने क्रम शुरू भएको हो ।
बोल्न चाहने सबै सहभागी नेताहरुलाई समय दिइनेछ । प्रतिवेदनमाथि आफ्ना धारणा र सुझाव तीन मिनेटमा राखिसक्नुपर्ने छ । संक्षिप्तमा र नदोहोरिने गरी धारणा राख्ने तयारी गर्न महासचिव देव गुरुङले जानकारी गराएका थिए ।
हिजो प्रदेश, गैरभौगोलिक र प्रवासबाट रिर्पोटिङ सकिएपछि प्रचण्डले बैठकमा राजनीतिक प्रतिवेदन पढेर सुनाएका थिए । प्रचण्डले आफ्नो प्रतिवेदनको सार समाजवादी यात्रा तय गर्नुपर्नेमा जोड दिइएको बताएका थिए । प्रचण्डले माओवादीले रुपान्तरण भएर जनतामा नजाने हो भने देश र जनताको अभिश्य खतरामा पर्ने समेत बताएका थिए ।
विगतका सबै आग्रह पूर्वाग्रह भुलेर सबै नेता कार्यकर्ता एकजुट भएर समाजवादको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । नेता कार्यकर्ताको बिग्रेको आचरण सुधार्नुपर्नेमा पनि प्रचण्डले जोड दिएका थिए ।
आफू नेतृत्वको सरकारले जनताको पक्षमा गरेका राम्रा कामका कारण केही गरे माओवादीले गर्छ भन्ने जनतामा विश्वास मलाएको समेत प्रचण्डले बताएका थिए । सुशासन र भ्रष्टाचारको विरुद्ध आफूले कडा कदम चालेकै कारण जनतामा आशा पलाएको दाबीसमेत गरे ।