0 COMMENTS

भदाै १८, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । ‘महंगी, बेथिति, विसंगति, भ्रष्टाचार र दूराचारको विरुद्ध विरोध तथा भण्डाफोर सभा’ नाम दिइएको विरोध प्रदर्शनमा नेताहरुले बंगलादेश र श्रीलंकामा जस्तै बालुवाटार र सिंहदरबार छाडेर भाग्नुपर्ने दिन आउने चेतावनी दिएका छन् ।

जुलुससहितको विरोध प्रदर्शनले नगरपरिक्रमा गरेर विरोध तथा भण्डाफोर सभामा परिणत भएको थियो । विरोध तथा भण्डाफोर सभालाई पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओली सुदर्शन, क्रान्तिकारी महिला संगठनकी नेतृ शारदा महत र अखिल (क्रान्तिकारी)का संयोजक महेश श्रेष्ठले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बाधेन गर्दै पार्टी प्रवक्ता सुदर्शनले विदेशी दलाल शासकहरुले अब चाँडै बंगलादेश र श्रीलंकामा जस्तै देश छाडेर भाग्नुपर्ने स्थिति आउने दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले क्रान्तिका स–साना झिल्काहरु उठिरहेका छन् । अब ती सबै झिल्काहरुलाई संगठित गरेर अगाडि बढाउनु पर्छ ।’
समसामयिक राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको बारेमा चर्चा गर्दै संसदीय दलाल सरकारका विरुद्ध चौतर्फी रुपमा जनआक्रोश चुलिदै गएको दावी गर्नुभयो । र, आम शोषित उत्पीडित वर्ग र समुदायलाई दलाल सत्ताका विरुद्ध सडकमा उत्रन आव्हान समेत गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्ने अन्य नेताहरुले पनि बंगलादेश र श्रीलंकाको जस्तै जनविद्रोहलाई नेपालमा कुनै पनि तागतले रोक्न नसक्नेमा जोड दिनुभएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक अटलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका सहसंयोजक सन्तबहादुर नेपालीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन कार्यालय सदस्य पवनमान श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा अखिल नेपाल कसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सिताराम तामाङ, पार्टीका कार्यालय सदस्य चिन्तमणि पौडेल, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक इश्वर तिमल्सिना लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।