0 COMMENTS

साउन ६,, काठमाडौँ । बंगलादेशमा जारी तनावका कारण शनिवारसम्म करिब ८०० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । शनिबार राति परराष्ट्र मन्त्रालयले हवाइ तथा भूमार्ग भएर ती विद्यार्थीहरूले बंगलादेश छोडेको जानकारी गराएको हो ।

तीमध्ये अधिकांश विद्यार्थीलाई राजधानी ढाकासम्म ल्याएर नेपाल पठाउन वा सम्बन्धित सीमामा पठाउन ढाकास्थित नेपाली दूतावासले समन्वय गरेको पनि परराष्ट्र मन्त्रालयले शनिवार साँझ बताएको छ ।

‘नेपाली दूतावास बंगलादेशस्थित विश्वविद्यालयहरु, सम्बन्धित निकायहरु तथा कानून कार्यान्वयन गर्ने एजेन्सीहरुसँग समन्वय गरिरहेको छ, नेपाल सरकार बंगलादेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूति दिलाउन प्रतिबद्ध छ,’ मन्त्रालयले भनेको छ ।

यसैबीच परराष्ट्र मन्त्रालयले समस्यामा रहेका नेपाली विद्यार्थी वा उनीहरुका अभिभावकले अनलाइन आवेदन दिन सक्ने प्रणाली शुरु गरेको छ । समस्यामा परेका नेपाली विद्यार्थी तथा अभिभावक एवम् आफन्तहरूले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि मन्त्रालयले स्थापना गरेको लिङ्कमा गएर अनलाइन निवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ ।

बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण समस्या उत्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।