0 COMMENTS

असार ३०, काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । अमेरिकी समयअनुसार शनिबार राति पेन्सिलभेनियाको बटलरमा भएको चुनावी सभामा पूर्व राष्ट्रपतिमाथि भएको गोली प्रहारमा उनी सामान्य घाइते भएको बीबीसीले जनाएको छ ।

गोली लागेपछि ट्रम्प भुइँमा बसेका थिए । गोली लागेपछि लडेका ट्रम्पलाई गुप्तचरहरूले उठाएका थिए। ट्रम्पको कानमा गोली लागेको बताइएको छ । घटनास्थलको तस्वीरहरुमा ट्रम्पको काननेरबाट गालासम्म रगत बगेको देखिन्छ ।

ट्रम्पलाई अमेरिकाको सेक्रेट सर्भिसले तत्कालै गाडीमा हालेर सुरक्षित स्थानतर्फ लगेको थियो। उनी मञ्चमा बोल्दै गर्दा ठूलो आवाज सुनिएको र लगातार गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन् । एक बन्दुकधारी र एक दर्शकको मृत्यु भएको अधिकारीहरूले जनाएको बीबीसीले उल्लेख गरेको छ । र्‍यालीमा सहभागी दुई जना गम्भीर घाइते भएको  जनाएको छ।

ट्रम्पले सामाजिक सञ्जालमा आफूलाई दाहिने कानको माथिल्लो भागमा गोली लागेको उल्लेख गरेका छन् ।

बीबीसीका अनुसार ट्रम्पमाथि गोली चलाउने व्यक्तिलाई सुरक्षाकर्मीले गोली हानेर मारेका छन् । सो घटनामा अर्का एक सर्वसाधारण व्यक्तिको पनि मृत्यु भएको छ । अमेरिकाको सिक्रेट सर्भिसका प्रवक्ता एन्थोनी गुग्लेल्मीले घटनाबारे जानकारी दिँदै ट्रम्प पूर्णरुपमा सुरक्षित रहेको र उनीमाथि आक्रमण गर्ने संदिग्ध बन्दुकधारी सुरक्षा कारबाहीमा मारिएको जनाएको छ । अमेरिकी अधिकारीहरुले यो आक्रमणको अनुसन्धान गरिरहेको जनाएका छन् ।

राष्ट्रपति जो बाइडेनले ट्रम्पमाथि भएको आक्रमणको निन्दा गरेका छन् । ट्रम्पमाथि गोली चलेको समय बाइडेन डेलाभेयरमा थिए । चर्चबाट बाहिरिने क्रममा मिडियाकर्मीलाई प्रतिक्रिया दिँदै बाइडेनले ट्रम्पमाथि भएको आक्रमणको निन्दा गरेका हुन् । साथै उनले ट्रम्प सुरक्षित भएकोमा सेक्रेट सर्भिसको कामप्रति आभार समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।