१. विषयारम्भ
२०७२ वैशाख १२ गते गएको विनाशकारी भुकम्पले थुप्रै संरचनाहरु क्षतिग्रस्त बने । ललितपुर महानगरपालिका वडा नं २२ बुंगमतिस्थित रातो मच्छिन्द्रनाथको मन्दिर पनि यसबाट अछुतो रहेन । नेपाल सरकारले देशभरिमा भुकम्पले भत्किएका संरचना पुनर्निर्माणको शुरुवात गर्ने क्रममा तत्कालिन प्रधानमन्त्री के.पी. शर्मा ओलीले २०७२ माघ २ गते यसै मन्दिरको शिलान्यास गर्नुभयो । मन्दिर पुनर्निर्माणको लागि मित्र राष्ट्र श्रीलंकाबाट सहयोग प्राप्त भएको थियो । श्रीलंका सरकारको सहयोगमा उपभोक्ता शुरु गर्न टेण्डर स्वीकृत भइ काम शुरुवात भयो । परन्तु व्यवहारिक एवं प्राविधिक कारणले पुनर्निर्माण कार्यले गति लिन सकेन ।
श्रीलंका सरकारको सहयोगमा पुनर्निर्माण शुरु भई अधुरो रहेको रातो मच्छिन्द्रनाथ मन्दिरको बाँकि काम नेपाल सरकारको लगानीमा उपभोक्ता समिति मार्फत गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्णय गर्यो । टेण्डर प्रक्रियाबाट पुनर्निर्माण कार्य संचालन गर्दा भएका कमी कमजोरी मनन् गर्दै काम अगाडि बढाउने योजना तय भयो । यसै अनुसार ललितपुर महानगरपालिकाको आयोजनामा भएको सरोकारवालाहरुको बृहत भेलाले मन्दिर पुनर्निर्माणका लागि उपभोक्ता समिति गठन गर्यो । यसरी गठित श्री रातो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माण उपभोक्ता समिति र पुरातत्व विभाग विच २०७७ असार १५ गते विधिवत सम्झौता भई पुनर्निर्माणको बाँकि काम अगाडि बढ्यो ।
सांस्कृतिक धरोहरको रुपमा रहेको पुरातात्विक महत्वको रातो मच्छिन्द्रनाथ मन्दिर पुरातत्व विभाग, गुठी संस्थान एवं धार्मिक, सांस्कृतिक समुदायहरुसंग प्रत्यक्ष सरोकार रहने भएकोले यस मन्दिर पुनर्निर्माणमा सबैको चासो हुनु स्वभाविक हो । त्यसैलै उपभोक्ता समितिले सम्बद्ध सम्पुर्ण सरोकारवालाहरुको सहकार्यमा संचालन गरेको छ ।
२.उपभोक्ता समितिले काम शुरु गर्दाको अवस्था
उपभोक्ता समितिले काम अगाडि बढाउँदा पहिले काम गरेर छाडिएका सामाग्रीहरु छरपस्ट रहेको र बनेको संरचनामा झार उम्रिसकेको अवस्था थियो । साथै जगको काम सम्पन्न गरी पेटीदेखि १४ फिट उचाईसम्म गारो लगाई मन्दिरको चारै दिशामा ढोका जडान भैसकेको थियो । सम्झौता अनुसार उक्त लेवलभन्दा माथिको काम मात्र गर्नु पर्ने थियो । काम अगाडि बढाउँदा निर्माण भैसकेको काममा पनि विभिन्न समस्या भएकोले पुरै भत्काइ बनाउनु पर्ने स्थानीयको आवाज रहेको थियो । निर्माण कम्पनीले सम्पन्न भएको कामको भुक्तानी समेत लिइसकेको थियो । उपभोक्ता समितिसँग बनी सकेको संरचना भत्काएर फेरि बनाउने दोहोरो खर्च गर्ने श्रोत थिएन । तथापि उपभोक्ता, समिति विज्ञहरुको सल्लाह लिएर के गर्ने ? भन्ने निर्णय गर्ने निचोडमा पुग्यो । समितिले विज्ञहरु, जनप्रतिनिधिहरु एवं सम्वन्धित पक्षहरुको समेतको उपस्थितिमा गरेको भेलामा बनिसकेको संरचनामा तपसीलका समस्याहरु रहेको हुँदा उक्त संरचना भत्काएर पुनर्निर्माण गर्ने निर्णय गर्यो ।
– जडान गरिएका चारैवटा ढोकाहरुमा काम बाँकि रहेको
– ढोकाहरु सन्तुलितरुपमा जडान नभएको
– भित्रीकक्षको क्षेत्र साविक भन्दा सानो भइ पुजारी बस्ने ठाउँ समेत अभाव रहेको
– मन्दिर पुर्ण वर्गाकार नभएको
– ढोकाहरुमा भेन्टिलेशनको व्यवस्था नभएको
३. पहिलो चरणमा भएको काम सुधार्दै निर्माण कार्य प्रारम्भ
३.१ साइट क्लियर तथा काम गर्ने टहरा निर्माण
उपभोक्ता समिति गठन भए लगत्तै पुरातत्व विभाग, स्थानीय वडा कार्यालय, प्रहरी समेतको उपस्थितिमा अघिल्लो पटक भएको कामको स्थलगत निरिक्षण गरी मन्दिर परिसरमा छरपस्ट रहेका सामाग्री सुची बनाउँदैै साइट क्लियर गर्ने कामबाट कार्य थालनी गरियो । त्यसपछि पुनर्निर्माणका लागि काम गर्ने टहरा आवश्यक भएको हुँदा मन्दिर नजिकै रहेको द्यो छें रहेको ठाउँमा टहरा निर्माण गरियो ।
३.२ निर्माण कम्पनीले पहिले बनाइसकेको पहिलो तल्लाको गारो भत्काइ कार्य प्रारम्भ
पहिलो चरणमा मित्रराष्ट्र श्रीलंकाको सहयोगमा निर्माण कम्पनीले गरेकोे सम्पन्न गरिसकेको काममा माथि उल्लेख गरिए अनुसार निर्माण कम्पनीले १४ फिट उचाईसम्म गारो लगाई मन्दिरको चारै दिशामा ढोका जडान गरी सकेको भएतापनि चारैवटा ढोकामा काम बाँकि रहेको र मन्दिरभित्रको क्षेत्र साविकभन्दा फरक रहेका ढोकाहरुमा हावा जाने ठाउँ नराखेको तथा मन्दिर पुर्ण वर्गाकार हुनु पर्नेमा सो पनि नभएको जस्ता समस्या रहेको हुँदा पुरातत्व विभाग एवं विज्ञहरुको सल्लाह र सहमतीमा पहिले बनाइ सकेको पहिलो तल्लाको गारो भत्काईयो । गारो भत्काइसकेपछि विज्ञहरुको सल्लाह र स्थानीयहरुको सहमतीमा पहिले भएका कमी कमजोरी हटाउँदै काम अगाडि बढाइयो ।
४. मन्दीर निर्माणको प्राविधिक पक्षहरु
४.१ नक्सा र प्राविधिकको सवाल
उपभोक्ताले काम शुरु गर्दा पुरातत्व विभागको कार्यादेश अनुसार प्रदान गरिएको नक्सा अनुसार काम अगाडि बढाउँदा समयसमयमा अस्पष्टता सिर्जना भई काममा अन्यौल भएको छ । माथि उल्लेख गरिए अनुसार मन्दिरभित्रको स्पेश बढाउनु पर्दा पहिले कायम गरेका खम्बाहरु स्थानान्तरण गर्नु पर्ने अवस्था भयो । जसले गर्दा नक्सा र फिल्डमा फरक अवस्था रहेकोले स्वभाविक रुपमा पहिले स्वीकृत नक्सामा परिवर्तन हुने अवस्था भयो । यसबाट केही समय अन्यौलको अवस्था आयो । पुरातत्व विभागबाट परिवर्तित नक्सामा स्वीकृती लिएपछि काम अगाडि बढाउन सहज भयो ।
श्री रातो मच्छिन्द्रनाथको मन्दिर आफैंमा विशिष्ठ शैलीमा बनेको हुँदा पुननिर्माणको काम अगाडि बढाउँदा प्राविधिकको नियमित मार्गनिर्देशनको आवश्यकता जरुरत देखियो । उपभोक्ता समितिले पुरातत्व विभागलाई यसको लागि अनुरोध गर्यो । विभागबाट नियमित प्राविधिक उपलब्ध गराउने आश्वासन पाए पनि व्यवहारिक रुपमा फिल्डमा नियमित प्राविधिक उपस्थित हुन नसकेकोल काम थप जटिल बन्यो । कामको दौरानमा हरेक चरणमा प्राविधिक समस्याले पिरोलि रह्यो । उपभोक्ता समितिको तर्फबाट स्थानीय आर्किटेक्ट इन्जीनियर भर्ना गरियोे । स्वीकृत नक्सामा स्पष्टता नभएकोले उपभोक्ता समितिले विज्ञहरुको सहयोगमा डिटेल नक्सा बनाउने काम बढायो । साविक मन्दिरको साइज झल्कने दस्तावेज, अनुसन्धानात्मक कृति तथा विज्ञहरुसँग परामर्श गरी डिटेल नक्सा तयार गरियो ।
जसले गर्दा काम अगाडि बढाउन केही सहज भयो ।
४.२ निर्माण सामग्रीको उपलव्धता
जुनसुकै योजना सफल हुनका लागि निर्माण सामग्रीको सहज आपूर्ति हुनु आवश्यक हुन्छ । पुरातात्विक महत्वको रातो मच्छिन्द्रनाथको मन्दिर पुननिर्माणमा आवश्यक हुने सामग्रीको उपलब्ध गराउने सवाल अझ महत्वपूर्ण हुने नै भयो । अझ विनासकारी भुकम्पले क्षतिग्रस्त बनेको रातो मच्छिन्द्रनाथको मन्दिरका पहिले के के सामाग्री प्रयोग भएका थिए ? भन्ने विस्तृत अभिलेखिकरण गरी संरक्षण गर्नु पर्नेमा भग्नावशेष पन्छाउँदा पर्याप्त ध्यान पुग्न सकेन । फलस्वरुप मन्दिरमा प्रयोग भएका सम्पूर्ण भग्नावशेष संरक्षण भएन । तथापि उपभोक्ता समितिले मन्दिर पुनर्निर्माणको सिलसिलामा आवश्यकसामग्रीहरु जुटाइ पुनर्निर्माण कार्य अगाडि बढाइएको छ ।
४.२.१ काठ
मन्दिरमा प्रयोग भएका सामग्रीमध्ये काठ पनि एक हो । यस मन्दिरमा जगदेखि गजुरसम्म काठको खम्बा र योसँग चौकोट जडान गर्ने संरचना बनाउने रहेको छ भने कलात्मक सामाग्रीहरु ढोका, तोरण, कार्नेश इत्यादिमा काठको प्रयोग हुन्छ । कलात्मक सामग्रीहरु संरक्षित अवस्थामा रहेको थिए । केही मर्मत सम्भार गरि प्रयोग गर्नु पर्ने अवस्थामा थिए । खम्बा, निडल, दलिन, मेथको लागि आवश्यक भएका बजारमा सहज उपलब्ध हुन नसकेकोले यसको आपुर्तीका लागि उपभोक्ता समितिलाई कसरत गर्नु पर्ने अवस्था रह्यो । काठ आपूर्तिको सन्दर्भमा कहिले बजारमा काठको अभाव, मुल्य बृद्धि तथा कहिले रकम निकासा हुन ढिलाईका कारण समस्या उत्पन्न भयोे ।
४.२.२ दाची अपा र मा अपा
मन्दिर पुनर्निर्माणको इष्टिमेटमा लोकल ईट्टा प्रयोग गर्ने उल्लेख भए पनि भग्नावशेषमा मन्दिरको दाची अपा प्रयोग भएको हुँदा लोकल इट्टाको प्रयोग नगरी बाहिरी भागमा दाचीअपा र भित्रमा अपा प्रयोग गर्नु पर्ने आवाज आएपछि विषय अन्यौल भयो । त्यसैले उपभोक्ता समितिले जनप्रतिनिधि, विज्ञ तथा सम्बन्धित कार्यालय समेतको उपस्थितिमा संयुक्त बैठक आयोजना गरी छलफल गर्दा दाची अपा र मा अपा नै प्रयोग गर्ने निर्णय भयो र दाची अपा तथा माअपा प्रयोग गर्नु पर्ने भयो । मन्दिर क्षेत्रको भग्नावशेष पन्छाउने बेला मन्दिरमा प्रयोग भएका विभिन्न साइज र बुट्टाका ईट्टालाई संरक्षण नभएको हुँदा सबै नयाँ इट्टा निर्माण गर्नु पर्ने भयो । मन्दिरको लागि दाचीअपा र बुट्टा इट्टा के कति साइज र संख्या आवश्यक सोही अनुसार इष्टिमेट गरि आवश्यक संख्यामा उल्लेखित सामग्री आपूूर्ति गरियो ।
४.२.३ कलात्मक इँटा तयारी
रातो मच्छिन्द्रनाथ मन्दिर प्रमुख विशेषता टेरा कोटाको झ्याल, तोरण र नागका जोडी, धलिं ख्वा, केरा फ्व लगायत विभिन्न साइजका बुट्टादार सामग्रीको प्रयोग पनि हो । पुननिर्माणको क्रममा यी सामग्री उपलब्ध गराउने काम अत्यन्त चुनौतीपूूर्ण रह्यो । भुकम्पपछि भग्नावशेष पन्छाउँदा केही झ्याल, तोरण र नागमात्र संरक्षित हुन सकेको थियो । नपुग सामग्री तयार गर्नु पर्ने भयो । काँचो माटोमा विभिन्न किसिमका ज्यावल प्रयोग गरी हातले कुँदेर यस्ता सामग्री तयार गरिन्छ । सीपयुक्त कलाकर्मीहरुले मात्र यो काम गर्न सक्छ । एउटा झ्याल बनाई तयार गरी सुकाउन बर्षाैँ लागेको थियो । बनाइसकेका सामग्री प्राकृतिक विधिबाट सुकाइ भट्टामा पोलेर पकाउनु पर्ने अवस्था थियो । उपभोक्ता समितिले कुशल कालिगढलाई यस कार्यमा संलग्न गराइ आवश्यक संख्यामा तयार गरिएको थियो । जसमध्ये धलिं ख्वा र यसको विचमा रहेका अष्टमंगल लगायत बुट्टेदार इँटा तयार गर्न कलाक्षेत्रमा संलग्न बरिष्ठ कलाकर्मी र सो क्षेत्रमा समर्पित संघसंस्थाहरुको सहयोग रहेको थियो ।
४.२.४ गजुर मर्मतसम्भार लगायत धातुकलाको काम
रातो मच्छिन्द्रनाथको मन्दिरको सौन्दर्य यसको गजुर पनि हो । भुकम्पबाट मन्दिर भत्किएपछि मन्दिरको गजुर तथा अन्य महत्वपूूर्ण सामग्री गुठी संस्थान, ललितपुर शाखा कार्यालयको तर्फबाट भण्डारण गरिएको हो । उपभोक्ता समितिले गुठी संस्थानसँग सहकार्य गरी गजुर निकाली गजुर मर्मत गरिएको छ । मूूल गजुर रहेको विशाल घण्टाकार वुर्जा एवं तोरण पनि मर्मत गरिएको छ ।
४.२.४ प्रस्तर कला एवं सामग्रीको उपलब्धता
मन्दिरकाचारै तर्पmबाट बाहिरी भागमा २० वटा ठुल्ठुला ढुंगाको खम्बा रहेका छ । चारैतर्फ कुनामा १६”ह् १६” र विचमा १४”ह् १४” मोटाइको ८’ अग्लो ढु्रंगाको खम्बा जडान गर्नु पर्दा स्वभाविक रुपले काम जटिल रहेको छ । मन्दिरको चारै दिशामा द्धारपालको रुपमा रहेका सिंहका जोडिहरु रहेको छन् । मुल द्धारमा ठूूलो साइजको र अरु दिशामा सामान्य साइजका सिंहको जोडि हुन्छन् । २०७२ सालको भुकम्पले ३ वटा साना सिंह पुरै क्षती भएको छ बाँकी सिंहहरु सामान्य मर्मत गरी प्रयोग गर्न सकिने अवस्थामा छन् ।
५. विभिन्न चरणका कामहरु
– पहिलेको कमी कमजोरी सच्याउँदै काम शुरु
पुन निर्माण कार्य शुरु गर्ने क्रममा पहिलो चरणमा मित्रराष्ट्र श्रीलंकाको सहयोगमा निर्माण कम्पनीले गरेकोे सम्पन्न गरिसकेको काममा केही कमी कमजोरी देखिएकोले सो कार्य सुधार गरी काम अघि बढाउनु पर्ने भयोे । पुरातत्व विभाग एवं विज्ञहरुको सल्लाह र सहमतीमा पहिले बनाइ सकेको पहिलो तल्लाको गारो भत्काई भएका कमीकमजोरीहरुलाई सच्याइयो ।
- ढुंगाको खम्बाहरु तयारी तथा जडान
गारो भत्काइ सके पछि चारै कुनामा रहेका ढुंगाका खम्बाहरु २” देखि ४”सम्म सारेर मन्दिरलाई पुर्ण वर्गाकार बनाउने काम भयो । मन्दिरको चारैतर्फबाट बाहिरी भागमा २० वटा ठुल्ठुला ढुंगाको खम्बा रहेका छन् । चारैतर्फ कुनामा १६” x १६” र विचमा १४” x १४” मोटाइको ८’ अग्लो ढु्रंगाको खम्बा जडान जडान गनु पर्दा स्वभाविक रुपले काम जटिल रहेको छ ।
– ढोकामा अपुरो रहेका कामहरु सम्पन्न गरि जडान तथा पहिलो तल्लामा पुन गारो लगाउने कार्य
ढोकामा कतिपय मर्मत सम्भार हुन बाँकी भएको अपुरो रहेका कामहरु सम्पन्न गरी जडान गरियो । साथै मन्दिरको भित्रीकक्ष पनि सुधार गरी पुन गारो लगाउने काम भयो । गारो लगाउँदा बाहिरदेखि भागमा ढुंंगा र भित्री भागमा परम्परागत मा अपा लगाइएको छ ।
– मेथ र निडालको तयारी र जडान
बाहिरी ढुंगाको खम्बासंग काष्ठकलाको मेथ र १४”x १४” साइजको निडाल चारैतिर जोडिएको छ । चारै कुनामा रहेको मेथ र निडालमा धलिंख्वा र गरुडको आकृति कुदिंएका छन् । ढोका र खम्बाहरुमा आवश्यक मात्रामा चुकुल, तान, साःप्रयोग प्रयोग गरिएका छन् । १४”x १४” साइजको निडाल जडान गरी त्यसमा मेथ र निडाल जडान गर्न पनि चुनौतीपूूर्ण रहेको थियो ।
– कार्नेशको काम
मन्दिरको चारैतिर रहेको १४”x १४” को निडलमा इँटाको कलात्मक कार्नेश बनाउने संरचना रहेको छ । मन्दिर क्षेत्रको भग्नावशेष पन्छाउने बेला मन्दिरमा प्रयोग भएका विभिन्न साइज र बुट्टाका इँटालाई संरक्षण भएको भए सोही इँटा प्रयोग गर्न सकिन्थ्यो । सो नभएको हुँदा मन्दिरका तस्वीर तथा अन्य विभिन्न श्रोतबाट पहिलेको स्वरुप यकिन गरी आवश्यक ११ सोल इँटाहरु वाटु, फ्यः, त्वा फ्यः, खाल फ्यः, दाची, सिंह ख्वा आदि नयाँ बनाई कार्नेशमा जडान गरियो ।
– सिजपाखामा राख्ने विशेष खालको इँटा
मन्दिरमा कार्नेश जडानपछि सिजपाखा(भिरालो छाना) बनाउने तह शुरु हुन्छ । यसले पेटीमा झरिको पानी रोक्न मद्दत गर्दछ । यसको लागि भिरालो (स्लोप) कति आवश्यक छ ? भन्ने विषयमा एकिन गरी सोही अनुसार बनाउन अर्डर गर्नु पर्ने भएको हुँदा केही समय ढिलो भयो । साथै सिजपाखाको चारकुनाको इँटा सोही प्रकृतिको आवश्यक भएको तर केही फरक इँटा बनेकोले गर्दा सिजपाखाको इँटा तयारीको काम दोहोरिएको थियो ।
– मण्डलाको साइज
सिजपाखाभन्दा माथिल्लो तहमा मण्डलाको आकारमा वेश रहने गरी चारवटा रथ तयार गर्नु पर्ने गारो लगाउने मन्दिरको संरचना रहेको छ । मन्दिरको साविक स्वरुपको अध्ययनबाट चारैवटा रथको साइज र स्लोप फरक रहेको पाइयो । जसले गर्दा चार वटा रथमा गारो लगाउदा प्रयोग हुने त्वापा, कुँपा, बेपा गरि छुट्टाछुट्टै साइजका इँटा आवश्यक भयो । जसअनुसार २५० भन्दा बढी साइजका विशेष प्रकारको इँटा तयार गरी मन्दिरमा प्रयोग भयो । यी इँटा तयारीको लागि मात्र छ महिना भन्दाबढी समय लागेको थियो ।
– माथिल्लो कार्नेश काम
रथ आकृतिमा गारो भन्दामाथि माथिल्लो कार्नेशमा २२ किसिमका विभिन्न साइजका बुट्टाका इँटा प्रयोग भएका छन् । कार्नेश सकिएपछि बुर्जाको काम शुरु हुन्छ । कति गोलाकार जाने यसको मापदण्ड के त्यसको निर्धारक सिद्धान्त के ?आधार के लिने ? भन्ने सवालमा पुरानो मन्दिरको तस्विरकोे आधार लिइएको छ । तर कुन तस्वीरको आधार लिने ? उक्त तस्वीर कहाँ प्राप्त गर्ने ? भन्ने केही समस्या रहेको थियो । उपभोक्ता समितिको प्रत्यक्ष संलग्नतामा आवश्यकता अनुसार इँटा तयार गरिएका छन् ।
– गजुरको काम
मूूल मन्दिरको गारो लगाउने कामपछि गजुरको काम हुन्छ । गजुर अड्याउन काठको भंगी राखिन्छ । त्यसपछि गजुर काठ फिट गर्ने गरिनेछ । त्यस माथि गजुर जडान गरिने छ । यो काम अझ चुनौतीपूूर्ण रहेको छ ।
६. अब बाँकि कामहरु
उपभोक्ता समितिले मन्दिर पुननिर्माणको काम गर्ने सिलसिलामा हालसम्म मूल मन्दिरमा गजुर फिट गर्ने बाहेक सम्पूर्ण काम सकिएको छ । चारैतिर आठ वटा स–साना मन्दिरहरु बनाउने र भुइँतल्लामा ढुंगा छाप्ने र सिंहहरु राख्ने जस्ता फिनिसिंगका काम बाँकि रहेका छन् । साथै पुजारी घर निर्माणको काम सम्पन्न हुन बाँकि रहेका छन् ।
७. अबको समस्या के त ?
उपभोक्ता समिति र पुरातत्व विभाग विच २०७७/३/१५ मा भएको सम्झौता अनुसार २०७८/३/१५सम्म कार्य सम्पन्न हुनु पर्नेमा कोभिड महामारी लगायत विविध कारणले कार्य सम्पन्न गर्न नसकिएकोले २०७८ चैत्र मसान्तको म्याद थप भएकोमा सो समयमा पनि कार्य सम्पन्न नभएकोले नेपाल सरकारलाई आर्थिक भार नपर्ने गरी २०८० जेष्ठ मसान्तसम्म म्याद गरिएकोे थियो । उक्त अवधि माथि उल्लेखित काम भईसकेकोले यथासिघ्र काम सम्पन्न गर्ने गरी उपभोक्ता समितिले काममा निरन्तरता दिन म्याद थपको लागि उपभोक्ता समितिले नेपाल सरकार पुरातत्व विभागमा अनुरोध गरेको थियो । विभागबाट सार्वजनिक खरिद ऐन तथा नियमावलीको कारण म्याद थप हुन नसक्ने जनाएको छ । सो हुन नसकेकोले हाल मन्दिर पुननिर्माणको काम रोकिएको छ ।
पुननिर्माण कार्य अगाडि बढाउन दुइवटा विकल्पहरुका विषयमा छलफल भएको छ :- उपभोक्ता समितिले हालसम्म गरेका कामको यथार्थपरक मूल्यांकन गरी भुक्तानी दिने र सार्वजनिक खरिद ऐन अनुसार बाँकी काम अगाडि बढाउने वा सार्वजनिक खरिद ऐन अनुसार साविक उपभोक्ता समितिले काम सम्पन्न गर्ने गरी म्याद थप गर्न नमिल्ने भएकोले सम्पदा पुननिर्माण काम भएकोले तत्कालीन राष्ट्रिय पुननिर्माण प्राधिकरणको मापदण्ड बमोजिम साविक उपभोक्ता समितिले नै कार्य सम्पन्न गर्ने गरी म्याद थप गर्न विशेष व्यवस्थाको पहल गर्ने । यी दुबै विकल्पको काम अहिलेसम्म पनि नभएको हुँदा समस्या ज्युँकात्युँ रहेको छ ।
पुननिर्माण कार्यसम्पन्न गरी श्री मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गर्ने चाहना भक्तजन तथा सम्बद्ध सबैको पक्षको रहेको छ । तथापि यस कार्य अझै सफल हुन सकेको छैन । जुन दःखद पक्ष हो ।
८. निष्कर्ष
रातो मच्छिन्द्रनाथ मन्दिर पुननिर्माण कार्य पुरातात्विक सम्पदा संरक्षण कार्य पनि हो । यस कार्य अगाडि बढाउन मन्दिरको परम्परागत स्वरुपलाई नै कायम गर्ने जनचाहना अनुसार उपभोक्ता समितिले प्रयास गरेको हो । परम्परागत काम गर्ने दक्ष कामदार सीमित मात्रामा रहेकाले यसको खर्च स्वभाविक रुपमा बढी रहेको छ । साथै पुननिर्माण कार्यको लागि आवश्यक सामग्री समयमा सहज उपलब्ध नहँुदा बेलाबेलामा समस्या परेको थियो । त्यस्तै मन्दिरमा सयाँै थरिका साना ठुला विभिन्न डिजाइन र साइजका इँटा प्रयोग भएका छन् । यसको तयारीका लागि तुलनात्मक रुपमा बढी नै समय लिएकोे छ । तसर्थ यी सामाग्रीको अभावले चाहेर पनि कामको गति अगाडि बढाउन सजिलो सकिएन र निर्धारित समयमा काम सम्पन्न हुन सकेन । सामग्री तयार भइ सक्दा कानुनी अड्चनले काम अड्चन हुन पुगेको छ । तथापि पुननिर्माण कार्य जति सक्दो छिटो सम्पन्न गरी श्री मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराउने अहिलेको आवश्यकता हो । यस कार्य अझै पूरा गर्न सकिएकोे छैन । यस तर्फ सम्वन्धित सबैको ध्यान जाओस् । अस्तु ।