0 COMMENTS

असार २४, काठमाडौँ । मनसुन भित्रिएयता बाढी, पहिरो, चट्याङ लगायत विपद्‌बाट ६२ जनाको ज्यान गइसकेको छ। गत जेठ २८ गते पूर्वी भेगबाट मनसुन भित्रिएको थियो। लगत्तै पूर्वी पहाडमा बाढी र पहिरोले धनजनको क्षति गरेको थियो। पछिल्लो पटक दुई दिनयता देशभर मनसुनी विपद्ले जनधनको क्षति भएको छ।

अहिलेसम्म ६२ जनाको मृत्यु भएको छ भने चार जना हराइरहेको राष्ट्रिय आपत्‌कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। त्यस्तै, मनसुनजन्य विपद्‌मा परी ९० जना घाइते छन्। केन्द्रका अनुसार बाढीबाट नौ जनाको ज्यान गएको छ। मोरङमा एक, दाङमा तीन, कैलालीमा एक, काभ्रेमा दुई, उदयपुरमा एक र पाल्पामा एक जनाको मृत्यु भएको छ।

बाढीमा बगेर दुई जना हराइरहेका छन्। बाढीबाट पाँच घरमा पूर्ण रूपमा क्षति पुगेको छ भने ११ घरमा आंशिक क्षति पुगेको केन्द्रले जनाएको छ। त्यस्तै, पहिरोमा परी ३४ जनाको मृत्यु भएको छ। दुई जना हराइरहेका छन् भने ३८ जना घाइते छन्। पहिरोले ४३ घरमा पूर्ण रूपमा र २४ घरमा आंशिक क्षति भएको छ। यसैगरी, चट्याङबाट १९ जनाको ज्यान गएको छ। चट्याङ लागेर देशका विभिन्न भागमा ३५ जना घाइते छन्।

बाढी र पहिरोबाट आइतबारसम्म आठ करोड ६ लाख रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बताए। यस वर्षको मनसुन अवधिमा चार लाख १२ हजार घरधुरी मनसुनजन्य विपद्‌मा पर्ने आकलन गरिएको भट्टराईले जानकारी दिए।

गत दुई दिनदेखि लगातार वर्षा हुँदा पहाडमा बाढीपहिरो र तराईमा डुबानले जनजीवन प्रभावित छ। बाढी र पहिरोका कारण देशभरका ४४ वटा राजमार्गमा क्षति पुगेको छ। पहिरो पन्छाएर १७ वटा राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको नेपाल प्रहरीले जनाएको छ। त्यस्तै, २७ वटा राजमार्ग अवरुद्ध छन्। केही राजमार्ग सञ्चालनमा ल्याउन साता दिन नै लाग्ने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।