0 COMMENTS

जेठ ३१, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राष्ट्रिय परिचयपत्र एवम् पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकले दुःख पाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको बैठकको शून्य समयमा सांसद विद्या भट्टराईले पूर्वतयारी नगरीकन सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र नम्बर अनिवार्य गरिँदा नागरिकले हैरानी पाएकाले यसलाई तत्काल समाधान गर्न आग्रह गरे । उनले वडास्तरमा निश्चित अवधि तोकेर घुम्ती शिविर सञ्चालन गर्न पनि आग्रह गरे । त्यसैगरी, सांसद मीना लामाले ‘विपन्न नागरिक उपचार कार्यक्रम’मा सबै रोगको उपचार गर्दा रु एक लाख बराबरको राहत रकम उपलब्ध गराउने व्यवस्था गरिए पनि पछिल्ला दिनमा उक्त उपचार सुविधाको सीमा घटाइएकोप्रति गुनासो गरे । उनले अर्थ मन्त्रालयसँग समन्वय गरेर आवश्यक रकमको व्यवस्था गर्नुपर्ने बताए । यस्तै, सांसद विनिताकुमारी सिंहले नेपाली युवाको सुगम रोजगारीको गन्तव्यका रूपमा परिचित खाडी क्षेत्र र मलेसियामा बीमालगायत स्वास्थ्य सुविधा नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद विश्वप्रकाश शर्माले जलवायु परिवर्तनका कारण नेपाल नराम्ररी प्रभावित भएको, बाढी पहिरो, आगजनीलगायत विपद्का घटनामा वृद्धि भएकाले स्थानीय तहलाई प्रभावकारी, सक्षम बनाउनुपर्ने बताए । यसैगरी, सांसद बिना जैसवालले बौद्धिक सम्पत्तिका सम्बन्धमा मुलुकले समयानुकूल कानुनको प्रबन्ध गर्नुपर्ने बताए । सांसद शान्ति विकले सहकारी ठगीमा संलग्न भनिएका जीबी राईका सम्बन्धमा प्रहरीमा दर्ता भएको जाहेरी नै हराएको भन्ने विषयप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराए । यस्तै, सांसद शिव नेपालीले आगामी आर्थिक वर्षको बजेट विनियोजन समानुपातिक नभएको, कास्कीमा उपलब्ध गराइएको बजेट असाध्यै न्यून भएकामा गुनासो गरे ।

सांसद शिशिर खनालले चक्रपथ विस्तारको दोस्रो चरणको काम छिटो होस् भनेर आफूले पटकपटक सदनमार्फत सरकारको ध्यानाकर्षण गराए पनि मन्त्रालयले आवश्यक जवाफ नदिएको भन्दै संसद्मा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गराउन माग गरे । त्यसैगरी, सांसद शोभा ज्ञवालीले तराई मधेसका जिल्लामा अस्वाभाविक गर्मी भए पनि नेपाल विद्युत् प्राधिकरणले बिनासूचना बत्ती काटेकामा आपत्ति प्रकट गरे । यस्तै, सांसद सन्तोष चालिसेले काठमाडौँ क्षेत्र नं ३ मा खानेपानीको हाहाकार रहेको, मेलम्चीको पानी प्रयोग गर्न नपाएका कारण जनजीवन प्रभावित भएकाले पानीको उचित प्रबन्ध गर्न आग्रह गरे ।

सांसद सन्तोष परियारले नेपालको समृद्धिमा कृषि क्षेत्रको ठूलो महत्व रहेको उल्लेख गर्दै आयात प्रतिस्थापन गर्नका लागि रासायनिक मलको सहज प्रबन्ध गर्न माग गरे । यसैगरी, सांसद सरस्वती बजिमयले पहाडी जिल्लाहरूमा सङ्घीय सरकारको सहज प्रबन्ध नगरिँदा निर्माणमा रहेका कतिपय आयोजना नराम्ररी प्रभावित भएको, क्रममागत योजना कटाइएकामा गुनासो गरे । यस्तै, सांसद सरस्वती सुब्बाले नेपाललाई कृषि दशकका रूपमा अगाडि बढाउने कार्यक्रम सकारात्मक भए पनि स्थानीयस्तरमा दक्ष जनशक्ति र बजेटको अभाव भएकाले लक्ष्य हासिल हुन नसक्ने गुनासो गरे ।

सांसद सराज मोहम्मद फारुकीले गर्मीका कारण तराई मधेसका विभिन्न जिल्लाका विद्यार्थी समस्यामा परेका भन्दै यसप्रति सरकारले ध्यान दिन नसकेको गुनासो गरे । यस्तै, सांसद सरिता प्रसाईँले झापादेखि सुनसरी, मोरङसम्म रेलमार्ग निर्माणका लागि जग्गा रोक्का गरिँदा स्थानीयवासीले दुःख पाएको बताए । उनले दूध किसानलाई तत्काल बक्यौता रकम उपलब्ध गराउनुपर्नेमा जोड दिए। यस्तै, सांसद सुनिता बरालले सरकारी अस्पतालमा नागरिकले घण्टौँसम्म लाइन बस्ने अवस्था रहेको भन्दै काउण्टर थपेर स्वास्थ्य सेवा सहज बनाउन आग्रह गरे । पटकपटक लाइन बस्ने अवस्थाको अन्त्य गर्न सहज प्रबन्ध गर्नुपर्ने उनको भनाइ छ ।

सांसद सुशीला सिर्पाली ठकुरीले स्वास्थ्य, शिक्षा मौलिक हक भनेर संविधानमा लिपिबद्ध गरिए पनि जनताले राहत पाउन नसकेको, स्वास्थ्य बीमामा सहज रूपमा औषधि पाउन नसकेको बताए । त्यसैगरी, सांसद सोभिता गौतमले खुम्बु क्षेत्रमा बर्सेनि भित्रने हजारौँ मानिसका कारण डम्पिङ साइटमा परिणत भएको, आरोहणका क्रममा निधन भएकाहरूको शवका कारण त्यहाँको पानी दुषित भएकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । यस्तै, सांसद सञ्जय गौतमले राष्ट्रिय निकुञ्ज नजिकका जनताले कानुनका नाममा अनावश्यक दुःख पाएकाले समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद हरि ढकालले शिक्षा दिवसमा कुनै पनि विद्याभूषण वितरण नगरेर प्राज्ञिक क्षेत्रलाई कम आकिएकामा आपत्ति प्रकट गरे । यसैगरी, सांसद हितराज पाण्डेले पुष्पलाल मध्यपहाडी खण्ड अलपत्र रहेकाले तत्काल निर्माणको प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानार्कषण गराए । सांसद ज्ञानेन्द्र शाहीले जुम्लाको हिमामा अज्ञात रोगका कारण भेडा मरेको भन्दै उक्त रोग पत्ता लगाई उपचारको प्रबन्ध गर्न माग गरे ।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले काकडभिट्टा–सुनसरी सडकखण्ड विस्तृत परियोजना अनुरुप निर्माण अगाडि बढाउन आग्रह गरे । सांसदहरू सुरेन्द्रराज आचार्य, हेमराज राई, ह्दयराम थानी, ज्ञानु बस्नेत, सुशीला श्रेष्ठ, सूर्यकुमारी श्रेष्ठ, सूर्यप्रसाद ढकाल, सरिता भुसाल, शान्ति चौधरी, सीता मिजारले आ–आफ्नो जिल्ला र क्षेत्रका विभिन्न समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।