0 COMMENTS

जेठ २४, काठमाडौँ । नेपालमा बन्द रहेको सामाजिक सञ्जाल टिकटकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पुनः पत्र लेख्दै यथाशीघ्र प्रतिबन्ध फुकुवा गरिदिन आग्रह गरेको छ। टिकटक दक्षिण एसियाका सार्वजनिक नीति र सरकार सम्बन्ध प्रमुख फिर्दोस मोत्ताकिनले एक पत्र लेख्दै प्रधानमन्त्री प्रचण्डमार्फत् पुनः नेपाल सरकारको ध्यानाकर्षण गराएको हो।

टिकटक साउथ एसियाले सञ्चार तथा सूचना प्रविधी मन्त्री र गृह मन्त्रीलाई समेत बोधार्थ पठाएको छ। टिकटकले यसअघि गत जनवरी २२ मा प्रधानमन्त्री प्रचण्डलाई पत्र लेखेर टिकटक बन्द नगर्न आग्रह गरेको थियो। टिकटक साउथ एसियाका प्रतिनिधिले फेब्रुअरी पहिलो साता प्रधानमन्त्री प्रचण्डलाई भेटेका पनि थिए। ‘हाम्रो धेरै पत्राचार, अझ बढी केन्द्रीकृत र बजार प्रतिबद्धता प्रस्ताव गर्ने प्रयासहरूको बाबजुत पनि नेपाल सरकारले टिकटकलाई बन्द गर्नु र अहिलेसम्म कुनै पनि प्रतिक्रिया नदिनुले हामी अत्यन्त दुखी भएका छौं,’ पत्रमा भनिएको छ।

बन्द गरिएको आठ महिनाको अवधिमा आफूहरुले सरकारलाई ७ पटक पत्र लेख्दै अनुरोध गरेको पत्रमा उल्लेख छ। नेपाल सरकारसँग मिलेर काम गर्ने इच्छा हुदाँसमेत आफूहरूले गरेको प्रस्तावमा कुनै प्रतिक्रिया नजनाएकाले आफूहरू चिन्तित भएको भन्दै पत्रमा टिकटक बन्दबाट नेपालको राजस्वमा पनि ठूलो नोक्सानी पुर्‍याएको बताएको छ।

टिकटक बन्द भएको पाँच महिनामा एनसेलको एक अर्ब ४४ करोड रुपैयाँ गुमेको एनसेलका लिगल तथा रेगुलेटरी अफिसर विशाल उपाध्यायले पत्रकार सम्मेलन नै गरेर जानकारी दिएका थिए। त्यस्तै नेपाल टेलिकमका वरिष्ठ इन्जिनियर मधुसुदन दाहालले टेलिकमको डेढ अर्ब रुपैयाँ टिकटक बन्द भएको कारण नोक्सान भएको डाटा प्रस्तुत गरेका थिए।

अभिव्यक्ति स्वतन्त्रता र उदारवादी नीतिहरूको समर्थन गर्ने लामो इतिहास भएको नेपाल लोकतान्त्रिक र प्रगतिशील देशका रूपमा चिनिएकाले चाँडो प्रतिबन्ध फुकुवा गर्न मोत्ताकिनले आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।