वैशाख १६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र सुदूर-पश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूर-पश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित छिटफुट वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार लुम्बिनी प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ । यस्तै, महाशाखाले विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा बृद्धि भइरहेको जनाएको छ । लुम्बिनी प्रदेशका तराई भागका केही स्थानहरुमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।
महाशाखाले तराईका भूभागमा अझै अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न तथा सतर्कता अपनाउन अनुरोध गरेको छ । तराई क्षेत्रमा तातो हावा तथा तातो लहरको सम्भावना रहेकोले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । यस्तै, पहाडी भूभागका उपत्यका तथा खोँचहरुमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेको छ ।
महाशाखाले तातो हावा तथा तातो लहरबाट बच्न घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा नजाने, सकेसम्म सुतीको कपडा लगाउने, बाहिर निस्कनै पर्दा टाउको छोप्ने, पानी तथा जुस, सर्वतजस्ता झोल पदार्थ बढी मात्रामा पिउन सल्लाह दिएको छ ।