0 COMMENTS

बासुदेव नाथ

(१) परिचय :

दूध उत्पादन लागत बढ्ने कारक तत्वहरुलाई न्युनिकरण गरी उत्पादन लागत घट्न वा कम हुन जान्छ । सामान्यतया उत्पादन खर्च पूंजीगत र चालु गरी दुई किसिमको हुन्छ । डेरी फार्ममा पूँजीगत खर्च भन्नाले पशु खरिद, गोठ निर्माण, मेसिनरी औजार तथा उपकरणहरु, ऋण आदिलाई जनाउदछ भने दाना, पराल, घास, औषधी उपचार, कृतिम गर्भाधान , श्रमिकको पारिश्रमिक जस्ता दैनिक कार्य सञ्चालन खर्चलाई चालु खर्च भनिन्छ । यी मध्ये ६०% देखी ६५% खर्च पशु आहारामा  हुन्छ । उपर्युक्त उत्पादन सामाग्रीहरुको उचित उपयोग गर्न सकेमा मात्र दूध उत्पादन लागत कम गर्न वा घटाउन सकिन्छ । दूध उत्पादन लागत घटाउनु नै डेरी फार्मको लागि प्रमुख चुनौतिको रुपमा देखा परेको छ । 

(२) दूध उत्पादन लागत घटाउने तरिका:

 दूध उत्पादन लागत घटाउनको लागि निम्न लिखित उपायहरु अबलम्वन गर्नु पर्दछ । जस्तै:

  • दूधालु माउ गाईभैंसीको छनौट :

गाई भैंसी छनौटको लागि निम्न कुराहरुमा ध्यान दिनु पर्दछ । जस्तै:

  • दानापानी रुचाएर खाने, देख्दा फुर्तिलो, रौं सफा र चम्किलो, उमेर अनुसार शारीरिक वृद्धि भएका स्वस्थ्य माउ मात्र प्रजननको लागि छनौट गर्ने ।
  • प्रजनन् सम्बन्धी तथा अन्य रोग नभएको ।
  • दूधको लागि पालिने पशुमा दूध उत्पादन क्षमता राम्रो भएको ।
  • जातिय गुण अनुसारको लक्षण भएको ।
  • बथानमा लामो समयसम्म दूध दिने माउबाट जन्मेको ।
  • बथानमा छिटो हलक्क बढेको र हृष्टपुष्ट भएको ।
  • बथानमा हाडनाता नपर्ने ।
  • शारीरिक बनावटमा कुनै खराबी नभएको वा खोट नभएको जस्तै : खुट्टा बाङ्गो टिङ्गो आदि ।
  • कल्चौडोको राम्रो विकास भएको ।
  • सबै थुनहरु बराबर आकार भएको ।
  • शान्त स्वभावको हुनु पर्ने ।
  • स्वस्थ्य र बलियो भएको ।
  • भालेसंग नडराउने ।

 बढी उत्पादनशील पशु पाल्ने :

दूध उत्पादनको लागि स्थानीय जातका गाईभैंसी पाल्दा तिनीहरुको उत्पादन र उत्पादकत्व एकदम न्युन छ जस्तै स्थानीय जातका भैंसीको उत्पादन औसत ९०० लिटर प्रति वेत छ भने गाईको उत्पादन औसतमा ४५० लिटर प्रति वेत रहेको छ । उन्नत जातको मुर्रा क्रसभैंसीको दूध उत्पादन १५०० लिटर प्रतिवेत र उन्नत जातको जर्सी क्रसगाईको ३५०० लिटर र होलिष्टीनको दूध उत्पादन ४००० लिटर प्रतिवेत रहेको पाईन्छ । स्थानीय जातका गाईभैंसी भन्दा उन्नत जातका गाईभैंसीको उत्पादन र उत्पादकत्व वढी हुने भएकेले डेरी फार्ममा उन्नत नश्लको प्रतिस्थापन गर्दै जानु पर्दछ । कम उत्पादन दिने धेरै स्थानीय गाईभैंसी पाल्नु भन्दा बढी उत्पादन दिने थोरै संख्यामा उन्नत जातका गाईभैंसी पाल्नु उपयुक्त हुन्छ ।

. घाँसमा आधारित पशुपालन पद्धति अपनाउने :

.. बढी पोषिलो र पाचनशील हरियो घास उत्पादन र उपयोग गर्ने :

हरीयो घांसमा सबै किसिमका पोषक तत्वहरु, भिटामिन, मिनरल रहेको हुन्छन । यसबाट पशुले आवश्यक पर्ने तत्वहरु ग्रहण गर्दछ । नल, पराल, ढोड, कुनौरो, भुसा आदिमा पोषक तत्व एकदम नगन्य मात्रामा हुन्छ भने हरियो घाँसमा पोषक तत्व प्रचुर मात्रामा रहेको हुन्छ । वर्ष भरी हामीले हाम्रा गाईभैंसीहरु लाई हरियो घाँस उपलब्ध गराउनको लागि प्रतिगाई वा भैंसीको लागि २–३ रोपनी जमिन आवश्यक पर्दछ । यसरी घांसमा आधारित गाईभैंसी पालन गर्न सकिन्छ । जति बढी मात्रामा हरियो घांसको उपयोग गर्दछौ त्यति नै दाना कम गर्नु पर्ने हुन्छ । आहारामा दानाको मात्रा बढाउनु भनेको लागत बढाउनु हो भने दानाको मात्रा कम गर्नु भनेको  लागत कम  गर्नु हो । दाना भन्दा हरियो घांसले  गाईभैंसी हृष्टपुष्ट र निरोगी हुन्छन । यसबाट नै उत्पादन र उत्पादकत्वमा वृद्धि हुन्छ ।

  • हिउदे घाँस : जै, बर्षिम, भेच
  • वर्षे घांस :अकोशे – मकै, जुनेलो, टियोसेन्टी, वाज्रार कोशे – वोडी, भटमास, मस्याङ,
  • बहुवर्षे : नेपियर, अमृसो, स्टाइलो, मोलासेस, बदामे, लुर्सन, सेतो क्लोभर, ज्वाइन्ट मेच
  • डालेघाँस :बडहर, टांकी, कुटमिरो, भिमल, गोगन, बैस,  खन्यू, तिमिलो , कोइरालो, किम्बु आदि

घांसलाई कोशे र अकोशे गरी दुई भागमा विभाजन गरिएको छ । कोशे घांसमा प्रोटिन को मात्रा बढी हुने र अकोशे घांसमा, कार्बोहाइड्रेट (शक्ति) बढी हुने गर्दछ । कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, खनिज घाँसबाट नै मिल्दछ भने उग्राउने पशुलाई चिल्लो एकदम कम मात्रा आवश्यक पर्ने भएकोले  हरियो घांस  विना लागत काम गर्ने अर्को विकल्प छैन भन्न सकिन्छ । पशु लाई हरियो घांस खुवाउदा कोशे १ भाग र अकोशे २ भाग मिलाएर दिनु पर्दछ ।

.. स्थानीय स्तरमा पाईने आहारको उपयोग बढाउने:

गाईभैंसीलाई स्थानीय स्तरमा पाइने आहारा खुवाउंदा ढुवानी खर्च, वीउ, मल, प्रविधि आदिको लागि लाग्ने खर्च कम लाग्दछ । खर्च कम गर्नु नै लागत कम गराउनु हो । मकै, चोकर, ढुटो, भेली, पिनाहरु, दालको चुनी सबै मिसाएर खुवाउनु पर्दछ ।

.. पशुको उत्पादन अवस्था र क्षमताको आधारमा आहारा खुवाउने :

गाईभैंसीका व्याउने, दुहुना, थारो आदि अवस्था हुन्छन यी अवस्था हेरी आहारा खुवाउने गर्नु पर्दछ । दुहुने र व्याउने पशुलाई समान आहारा दिदा के तिनीहरुबाट प्राप्त हुने उत्पादन समान छ त त्यो कुरा ख्याल राख्नु पर्ने हुन्छ । दुधालु गाईभैंसीको तुलनामा थारा गाईभैंसीलाई कम आहारा दिदा पनि पुग्दछ र उत्पादनमा असर पर्दैन तर दुधालु गाईभैंसीलाई थारा गाईभैंसीलाई आहारा दिदा उत्पादनमा निकै ठुलो असर पर्न जान्छ । त्यसकारण पशुको उत्पादन र अवस्थाको आधारमा आहारा खुवाउनु उपयुक्त हुन्छ ।

..  दानाको प्रयोग कम गर्ने :

हामीले हाम्रा गाई भैंसीलाई पेटभरी हरियो पोषिलो घांस खुवाउंदा दानाको आवश्यकता पर्दैन तर जति जति हरियो घांस कम खुवाउछौं त्यति त्यति दानाको प्रयोग बढाउनु पर्ने हुन्छ । दानाको प्रयोग कम गर्ने उपाय हरियो घांस उपलब्ध गराउने हो भने १० लिटरसम्म दूध दिने गाईभैंसीलाई दानाको आवश्यकता पर्दैन ।

.. गुणस्तरयुक्त आहाराको उपयोग बढाउनु पर्ने :

 हरियो पोषिलो घांसको साथै सुख्खा समयमा हे, साईलेज, युरियाद्वारा पराल उपचार, टोटल मिक्सड रासन (TMR),युरिया मोलासेस मिनरल ब्लक (UMMB),हइडोपोनिक्स, एजोला र दैनिक १० लिटर भन्दा बढीदूध दिने पशुलाई गुणस्तरयुक्त दाना आवश्यकता अनुसार थप्दै जानु पर्दछ । गुणस्तरयुक्त आहाराको उपयोगले  पाचकत्वमा बृद्धि हुनगई  उत्पादनमा बृद्धि हुन्छ ।

३)समयमै प्रजनन गराउने व्यवस्था मिलाउने :

सामान्यतया उन्नत गाई १८–२२ महिनामा, वर्णशंकर गाई २२–२६ महिनामा, स्थानीय गाई २८–३४ महिना र भैंसी ३०–३६ महिनामा पहिलो पटक वाली जाने गर्दछ । यदि असल व्यवस्थापन भएको खण्डमा कोरेली गाई १४–१५ महिनामै वाली जान सक्छ । यो उमेर भन्दा वाली ढिलो गयो भने ढिलो ब्याउछ र ढिलो ब्याउनु भनेको लागत अनुसार उत्पादन नहुनु हो । यसकारण उत्पादन लागत घटाउनको लागि गाईभैंसीहरुलाई समयमै बाली जाने व्यवस्था मिलाउनु पर्दछ । यसको माध्यमबाट दुई वेतको अन्तर कम गर्न सकिन्छ ।पशुहरुमा जति जति वेत अन्तर कम भयो त्यति त्यति उत्पादन बढी हुन्छ ।गाईभैंसीलाई साँढे वा रांगो खोजेको १२–१८ घण्टा भित्र साढे रांगो लगाउने वा कृतिम गर्भाधान गर्नु पर्दछ यदि यस समय भित्र गर्भाधान हुन सकेन भने फेरी २१ दिन पछि मात्र साढे रांगो  खोज्दछ ।गाई भैंसी व्याएको २ देखि ३ महिना भित्र बाली जाने गरी व्यवस्थापन गर्न सकेमा हरेक वर्ष व्याउन सक्दछ ।

 . पशु स्वास्थ्यमा ध्यान दिने :

.. संक्रामक रोगहरु विरुद्ध नियमित खोप लगाउने :

सि.नं.

खोपको नाम

रोगको नाम

उमेर

खोपको मात्रा र खोप दिने  ठाँउ

खोपको थप मात्रा बुस्टर

नियमित खोप दिने समय

खोप दिने सिजन

एफ एम डी

खोरेत

६देखि ८ हप्ता

२ एम एल छालामुनी

१महिना पछि

६ महिनाको अन्तरमा

भाद्र र फागुन मसान्त

एच एस ग्रोथ भ्याक्सिन

भ्यागुते

सबै उमेर

५ एम एल छालामुनी

३महिना पछि

वार्षीक

बर्षात शुरु हुनु अघि

एच एस आयल एडजुभेन्ट भ्याक्सिन

भ्यागुते

सबै उमेर

३ एम एल छालामुनी

६महिना पछि

वार्षीक

बर्षात शुरु हुनु अघि

एच एस र बि क्यू भ्याक्सिन

भ्यागुते र चरचरे

सबै उमेर

१ एम एल छालामुनी

६महिना पछि

वार्षीक

बर्षात शुरु हुनु अघि

 खोप तालिकामा उल्लेख भए अनुसार बिभिन्न संक्रामक रोग विरुद्ध नियमित खोप लगाउनु पर्छ ।

.. हरेक ४ ४ महिनामा आन्तरिक परजिवी विरुद्ध औषधी खुवाउने :

गाईभैसीमा लाग्ने आन्तरिक परजिवीहरु माटे ⁄ नाम्ले, गोलो जुका, फित्ते जुका नै प्रमुख हुन । यिनको प्रकोप बढी भयो भने शरिर  कमजोर हुने, उत्पादन घट्नुको साथै मृत्यू समेत हुन सक्छ । त्यसकारण यी परजीवी नियन्त्रणको लागि हरेक ४ ⁄ ४ महिनामा गोवर जांच गरी परजीवी नियन्त्रण गर्नु आवश्यक हुन्छ ।

.. वाह्य परजीवी नियन्त्रण गर्नु पर्ने :

गाई भैसीहरुको बाह्य शरिरमा देखापर्ने जुम्रा, उपियाँ, लुतो आदि देखिएमा सावधानी पूर्वक नियन्त्रण गर्नुपर्दछ । यी परजीवी नियन्त्रण विषादीबाट गरिने भएकोले पशुलाई चाट्न दिनु हुदैन, मलद्धार र सुतको वरिपरी लगाउनु हुदैन । विषादी प्रयोग गरेको १–२ घण्टा पछि नुहाई दिनु पर्दछ ।

.. थुनेलो रोगको रोकथामको लागि टिट डिपिङ्ग प्रविधि अपनाउनु पर्ने :

गाईभैसीमा लाग्ने रोगहरु मध्ये सबै भन्दा महङ्गो रोग थुनेलो हो । थुनेलो रोग बढी दूधालु गाई भैसीमा हुने भएकोले यसको असर सिधै दूधमा पर्दछ र दूध उत्पादनलाई नोक्सान पु्याउदछ यसकारण यो रोग लाग्नै नदिनका लागि पोभिडिन आयोडिन नौ भाग र ग्लीसरिन एक भाग मिसाएर तयार पारेको झोलमा दूध दूही सकेपछि  थुन आधा मिनेट नियमित डुबाउने हो भने थुनेलो रोगथाम हुन्छ ।

५) अनुत्पादक पशु हटाउने :

सामान्यतया एउटा गाईले हरेक वर्ष एउटा बाच्छा वा बाच्छी दिनुपर्दछ (One cow, one calf , one year) यो कुरा ध्यान दिनुपर्दछ । गाई भैसीलाई  १३ ⁄ १४ महिनामा व्याउने बनाउने वा गाई र भैसीको वेतान्तर १३ ⁄ १४ महिना भन्दा बढी हुन दिनु हुदैन । गाई भैसीको पहिलो वेतमा उत्पादन कम हुने, दोश्रो र तेश्रो वेतमा उत्पादन बढ्ने, चौथो वेतमा उत्पादन सबैभन्दा बढी हुने र पांचौ वेत पछि दूध उत्पादन घट्दै जाने भएकोले क्रमशः उत्पादन कम दिने पशु हटाउदै जानु पर्दछ ।

६) प्राङगारिक पशुपालन पद्धतिमा जोड दिने :

गाई भैसीमा एन्टिवायोटिक, विषादी ,ग्रोथ प्रमोटरको प्रयोग सकभर कम गर्ने ,औषधि प्रयोग गर्नै पर्दा आर्युवेदीक औषधिलाई प्राथमिकता दिनु  पर्दछ । एन्टिवायोटिक, विषादी ,ग्रोथ प्रमोटरको प्रयोगले दूध उत्पादन घटदछ । एन्टिवायोटिक औषधि प्रयोग पश्चात एन्टिवायोटिक रेसिड्युको अवधि समाप्त भएपछि मात्र पशु तथा पशु जन्य पदार्थको उपभोगकालागि बजारिकरण गर्नु पर्दछ ।

७) प्रसस्त सफा पिउने पानीको व्यवस्था मिलाउनु पर्ने :

गाईभैंसीलाई कति पानी चाहिन्छ भन्ने कुरा कस्तो घांसपात खुवाईएको छ , वातावरणको तापक्रम कस्तो छ, आहारामा नुनको मात्रा कति छ भन्ने कुराले निर्धारण गर्दछ । त्यसै गरी गाईभैंसीको दूधमा ८३ देखि ८७ प्रतिशत पानी हुने हुदा बढी दूध दिने गाईभैंसीलाई बढी पानीको आवश्यकता पर्दछ, त्यसैले दुहुना गाईभैंसीले पर्याप्त पानी पिउन नपाएको अवस्थामा दूध उत्पादन घट्न जान्छ । गाईभैंसीले जति बढी सुख्खा पदार्थ खान्छ त्यति बढी पानी उपलब्ध गराउनु पर्दछ । एक किलो सुख्खा पदार्थको लागि चार लिटर पानी उपलब्ध गराउनु पर्दछ । गोठ सधै सफा सुग्घर राख्नु पर्दछ त्यसको लागि पानी बढी नै आवश्यक हुन्छ ।  त्यसैले फार्ममा प्रसस्त सफा पिउने पानी उपलब्ध गराउने प्रबन्ध मिलाउनु पर्दछ ।

८) घर परिवारका सदस्य वा उद्यमीले मुख्य व्यवस्थापकको जिम्मेवारी बहन गर्नुपर्ने :

यो व्यवसाय अन्य सबै व्यवसाय भन्दा पृथक व्यवसाय भएको हुनाले घरपरिवारका सदस्य वा उद्यमीले मुख्य व्यवस्थापकको जिम्मेवारी बहन गर्नुपर्ने कारण निम्नअनुसार छन् :

  • स्वरोजगार प्रवर्द्धन हुने ।
  • अपनत्व हुने भएकोले प्रभावकारी व्यवस्थापन प्रणाली स्थापित हुने ।
  • फार्मका कामहरु मितव्ययीता (Economy), प्रभावकारीता (Effectiveness), कार्यदक्षता (Efficiency) र समता (Equity) का आधारमा सम्पादन गर्न जोड हुने ।
  • फार्ममा More automation, More resource, More responsibility and More accountability अबलम्वन हुने ।
  • व्यवसाय नाफामूलक हुन जाने।

९) निष्कर्ष :

कुनै पनि व्यवसायको मुख्य उद्देश्य नाफा मुखी (Profit Oriented) हुन्छ । गाईभैंसी पालनबाट नाफा कमाउनको लागि दूध उत्पादन लागत घटाउने उपायहरु अबलम्वन गर्नुको विकल्प छैन । यस कारण व्यवसायीक फार्म सञ्चालन, उन्नत नश्लका पशुपालन, घांसमा आधारीत पशुपालन, असल पशुपालन अभ्यास (Good Husbandry Practice ) प्रयोगमा ल्याउनु पर्ने र अनुत्पादक पशु हटाउने कार्य गर्नु आवश्यक छ । गाईभैंसी पालनमा सबैभन्दा बढी खर्च आहारामा करिब ६० देखि ६५ प्रतिशत सम्म लाग्दछ । आहारामा जति जति पोषिलो हरियो घांस कम गर्दै गईन्छ  त्यति त्यति दानाको मात्रा बढाउदै लैजानु पर्दछ । जति जति दानाको मात्रा बढाउदै गईन्छ त्यति त्यति लागत बढ्दै जान्छ र लागत बढ्नु  नाफा कम हुनु हो । नाफा भएन भने त्यो व्यवसाय गर्नुको औचित्य रहन्न भन्ने कुरा गाई भैंसी पालकहरुलाई  ज्ञात  हुनु आवश्यक छ । हरेक गाईभैंसीपालक कृषकहरुले दूध उत्पादन लागत घटाउने तरिका अवलम्बन गर्नु अपरिहार्य छ ।

सन्दर्भ सामाग्री :

  • नाथ, बासुदेव (२०७८ ) दूध उत्पादन लागत घटाउने उपायहरु, आधुनिक पशुपालन प्रविधि संगालो, पोष्ट नेपाल मिडिया प्रा.लि. पुतलीसडक, काठमाडौं
  • प्रेमी, डा.केशव प्रसाद (आ.व.२०६८ ⁄ ६९)दूधको उत्पादन लागत घटाउने उपायहरु प्रकाशन पशुपंक्षी बजार प्रवर्द्धन निर्देशनालय, हरिहरभवन
  • अधिकारी, छविलाल (२०६९)दूध उत्पादन लागत (अयकत या उचयमगअतष्यल) घटाउने उपाय – पशुपालन पत्रिका प्रकाशन पशुउत्पादन निर्देशनालयहरिहरभवन, ललितपुर
  • पौडेल, डा.लोकनाथ ⁄ पाण्डे, डा.किरण (२०६९)गाई भैसी व्यवसाय सम्वन्धित प्राविधिक लेख रचनाहरुको संक्षिप्त संगालो, केन्दीय गाई भैसी प्रवद्र्धन कार्यालय हरिहरभवन
  • गाईभैंसीको खुराक ,पशु सेवा तालिम तथा प्रसार निर्देशनालय, हरिहरभवन
  • नाथ, बासुदेव, दूध उत्पादन लागत घटाउने उपायहरु, डेरी समाचार चैमासिक वर्ष२३, अंक २, चौमासिक २०७२ मंसिर – फाल्गुन, पूर्णाङ्क ९३, केन्द्रीय गाईभैंसी प्रवर्द्धन कार्यालय हरिहरभवन, ललितपुर

(लेखक बासुदेव नाथ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लगनखेल ललितपुरमा अधिकृतस्तर आठौं पशु विकास अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।)

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।