0 COMMENTS

फागुन २२, काठमाडाैँ । सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) सहित विभिन्न ९ दलले संक्रमणकालीन न्यायका बाँकी काम अबिलम्ब पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (आइतबार) साँझ बसेको ९ दलको बैठकले यस्तो प्रतिबद्धता जनाएको हो । शान्ति सम्झौता र संविधानको भावना अनुसार नै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नु पर्नेमा ९ दलको जोड छ ।

विज्ञप्तीमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका उपाध्यक्ष अब्दुल खांनले हस्ताक्षर गरेका छन् ।

संविधानको रक्षा गर्दै देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिसम्म पुग्ने विषयमा स्पष्ट र एकताबद्ध भएको भन्दै नौ दलले संयुक्त रूपमा विज्ञप्ति जारी गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको सार्थक कार्यान्वयनका क्रममा मूलुक तेस्रो राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा छ। संविधानको रक्षा गर्दै देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिसम्म पुग्ने विषयमा हामी स्पष्ट र एकताबद्ध छौं।

केही दिनयता जनताको त्याग र बलिदानबाट प्राप्त संविधान र लोकतान्त्रिक गणतन्त्रको मर्म एवम् भावना विपरीत भइरहेका केही क्रियाकलापतर्फ हाम्रो ध्यान गम्भीर रूपले आकृष्ट भएको छ। संविधानले नचिनेका नदेखेका तथाकथित पदका नाममा गरिने संविधान विपरीतका गतिविधि र तिनलाई सहयोग गर्ने क्रियाकलापहरु लोकतन्त्र विरोधी अवान्छित हुन भन्ने विषयमा हामी एकमत छौं। संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकजुट भई अगाडि बढ्ने दृढता व्यक्त गर्छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।