0 COMMENTS

साउन १५, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सुर्खेतको आयोजना र पार्टीका संयोजक कञ्चनको प्रमुख आतिथ्यमा शनिबार सुर्खेतको गुटुमा जनभेटघाट कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा पार्टी संयोजक कञ्चनले देशमा जबसम्म दलाल संसदीय पुँजीवादी व्यवस्था रहन्छ तबसम्म जनताले अधिकार नपाउने बताए । जनभेटघाटका अवसरमा उने भने, ‘यो व्यवस्था रहेसम्म न्याय, समानता, राष्ट्रिय स्वाधीनता, सुख–सन्तोष, शान्ति, समृद्धि हुनेछैन । देश पराधीन हुँदै जानेछ । सङ्कट बढ्दै जानेछ । त्यसैले यो व्यवस्थालाई खारेज गरेर हरेक नागरिकका लागि गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, सूचना, सुरक्षालगायत अधिकार सुनिश्चित गर्ने, न्याय, समानता, सुख–शान्ति, समृद्धिसहितको व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गर्नु आवश्यक छ ।’

संयोजक कञ्चनले वैज्ञानिक समाजवाद स्थापनाका लागि देशमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी, स्थिर र स्वाधीन संयुक्त सरकारको स्थापना, हरेक नागरिकका लागि भूमि अधिकारको सुनिश्चिततालगायत अधिकार सुनिश्चित हुनु आवश्यक रहेको बताए । ती अधिकार प्राप्तिका लागि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को नेतृत्वमा गरिने हरेक आन्दोलनमा जनता गोलबन्द हुँदै आन्दोलित हुन आवश्यक रहेको पनि उनले प्रस्ट पारे । सहिदप्रति श्रद्धाञ्जली, घाइते, अपाङ्ग, बेपत्ता योद्धाप्रति सम्मानबाट सुरु गरिएको उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सचिवालय सदस्य हिमाल, महाधिवेशन आयोजक समितिका सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज यमराज, महाधिवेशन आयोजक समितिका सदस्य शीतललगायतले आआफ्नो धारणा राखेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) चौकुने गाउँपालिकाका सेक्रेटरी हरिलालको स्वागत मन्तव्य, विनोद लामाको सञ्चालन र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सुर्खेत जिल्ला संयोजक तिलक पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यापक जनसहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।