0 COMMENTS

साउन १४, काठमाडौँ । ६ राजनीतिक दल/मोर्चाले संसद्‌बाट पारित राष्ट्रघाती नागरिकता विधेयक, एमसीसी, एसपीपी, असंलग्न परराष्ट्रनीतिविरुद्ध नेपाली सेनाको भूमिका, भ्रष्टाचार, महँगी तथा मलको अभावका विरुद्ध देशव्यापी कार्यक्रम गर्ने निर्णय गरेको छ । ६ दलको शुक्रबार काठमाडौँमा बसेको बैठकले नागरिकता विधेयकका विरुद्ध राष्ट्रपतिलाई ज्ञापनपत्र दिने, अमेरिकी उपविदेशमन्त्री डोनाल्ड लुको विरोध जनाउने निर्णय पनि गरेको छ । 

६ दलले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा साउन २० गते काठमाडौँ, साउन २६ गते इटहरी, जनकपुर, हेटौँडा, चितवन, पोखरा, बुटवल, धनगढी, सिमरा, सुर्खेत, नेपालगन्ज र पुनः काठमाडौँमा अन्तरक्रिया गर्ने निर्णय गरिएको उल्लेख छ । ६ दलले आवश्यकताअनुसार स्थानीय स्तरमा पनि संयुक्त कार्यक्रम गर्नसक्ने निर्णय गरेका छन् । बैठकले राष्ट्रिय समस्यालाई लिएर संयुक्त आन्दोलनमा क्रियाशील ६ राजनीतिक दलको सदासयता र प्रयत्न हुँदाहुँदै पनि सङ्कीर्ण मानसिकताले ग्रसित प्रवृत्तिका कारण यसले साकार रूप लिन नसकेको भन्दै संयुक्त आन्दोलनलाई व्यापक एवम् प्रभावकारी बनाउन प्रयत्न जारी राख्ने निर्णय पनि गरेको छ ।

विज्ञप्तिमा नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सीपी गजुरेल, नेकपा (बहुमत) का संयोजक कञ्चन, नेकपा मसाल राष्ट्रिय महाधिवेशन आयोजक समितिका संयोजक सन्तबहादुर नेपाली, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदी, माओवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव रामनारायण पाल र संयुक्त क्रान्तिकारी मोर्चा नेपालका प्रतिनिधि नारायण शर्माले हस्ताक्षर गरेका छन् ।

बैठकमा नेकपा क्रान्तिकारी माओवादीका तर्फबाट रामसिंह श्रीस र चन्द्रहरि सुवेदी, नेकपा (बहुमत) का तर्फबाट गुणराज लोहनी र कृष्ण धमला, नेकपा मसाल विशेष महाधिवेशन आयोजक समितिका तर्फबाट सन्तबहादुर नेपाली र चिन्तामणि पौडेल, नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट लोकनारायण सुवेदी, माओवादी कम्युनिस्ट पार्टी नेपालका तर्फबाट पासाङ मोक्तान र नारायणप्रसाद धिमाल तथा संयुक्त क्रान्तिकारी मोर्चाका तर्फबाट माधव दाहाल उपस्थित रहेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।