0 COMMENTS

जेठ २८, चितवन । सेवाग्राहीले असन्तुष्टि जनाएपछि भरतपुरस्थित बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल प्रशासनले सुधारात्मक कदम चाल्ने प्रतिबद्धता जनाएको छ । 

मङ्गलबार सेवाग्राहीले अस्पताल प्रशासनसँग छलफल गर्दै बिरामीमैत्री सेवा प्रवाहमा ढिलाइ, कर्मचारीको व्यवहार तथा स्वास्थ्य बिमा र विपन्न नागरिक लक्षित सेवामा सहजता नभएको गुनासो गरेका थिए । कर्मचारी र सेवाग्राहीबीचको सम्बन्धलाई थप सौहार्दपूर्ण र मर्यादित बनाइने, फार्मेसी सेवालाई सुदृढ गरिने तथा बेड व्यवस्थापन र क्षमता विस्तारमा ध्यान दिने सम्बन्धमा अस्पताल प्रशासन र सेवाग्राहीबीच सहमति भएको छ । 

अस्पतालका निमित्त कार्यकारी निर्देशक उमेश नेपालले सेवाग्राहीबाट उठाइएका विषयलाई सकारात्मक रूपमा ग्रहण गर्दै सुधारात्मक कार्यान्वयन गरिने बचन व्यक्त गरेका थिए । सेवाग्राहीले बिमाका बिरामीको थप चाप बढेको उल्लेख गर्दै स्वास्थ्य बिमा तथा विपन्न नागरिक लक्षित सेवामा देखिएका समस्याको समाधानका लागि आवाज उठाएका थिए ।

हाल दैनिक रूपमा करिब एक हजार २०० जना बिरामीले बहिरङ्ग (ओपिडी) सेवा लिने गरेका छन् । तीमध्ये अधिकांश फलोअपका बिरामी रहने तथा दैनिक २५ देखि ३० जना नयाँ क्यान्सरका बिरामी पहिचान हुने गरेको निर्देशक नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।